एजेन्सी । ऋषभ पन्तले आईपीएल २०२४ मा दिल्ली क्यापिटल्सको कप्तानी गर्ने पक्का भएको छ । दिल्ली क्यापिटल्सका अध्यक्ष पार्थ जिन्दलले मंगलबार यो घोषणा गरेका हुन् ।
१४ महिनापछि क्रिकेटमा फर्किएका ऋषभ पन्त आइपिएल २०२४ मा ब्याटिङ मात्र नभई कप्तानी पनि गर्ने भएका छन् । तर, पन्तको विकेटकिपिङमा भने अझै शंका छ ।
उनी आईपीएलको १७ औं सिजनका लागि डेभिड वार्नरको स्थानमा आएका हुन् जसले गत आईपीएल सिजनमा दिल्लीको कप्तानी गरेका थिए ।
३१ डिसेम्बर २०२२ मा ऋषभ पन्तको दिल्लीबाट रुड़की जाने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भिर चोट लागेका पन्तको शल्यक्रिया पनि भयो । जसका कारण उनले आईपीएल २०२३ मा खेल्न पाएनन् । उनको अनुपस्थितिमा डेभिड वार्नरलाई दिल्ली क्यापिटल्सको कप्तान बनाइएको थियो ।
वार्नरको नेतृत्वमा दिल्लीको टोलीको अवस्था गत सिजन निकै खराब थियो । यस्तो अवस्थामा अब ऋषभ पन्त ब्याटिङका लागि मात्र नभई आईपीएल २०२४ मा कप्तानको लागि पनि तयार छन् ।
ऋषभ पन्तले आईपीएलमा कुल ९८ खेल खेल्दै २८३८ रन बनाएका छन्, जसमा उनले एक शतक र १५ अर्धशतक बनाएका छन् । आईपीएलमा पन्तको सर्वाधिक रन नटआउट १२८ रन थियो ।