• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

उत्तरी भारतमा चीसोसँगै वायु प्रदुषण बढ्यो



नयाँदिल्ली । भारतको उत्तरी भुभागमा बाक्लो कुहिरो तथा वायु प्रदुषणको प्रभाव बढ्न थालेपछि शनिबार राजधानी नयाँदिल्लीको आकाश र जमिनको दृश्य कमजोर बनेको छ । यहाँको तापक्रममा एक्कासी कमी देखिएको छ ।

भारतीय मौसम विभागका अनुसार न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस र पालममा १२.२ डिग्री सेल्सियस मापन गरिएको छ ।

नयाँदिल्लीमा चिसो बढ्दा, न्यानोको लागि आगो बाल्ने र ताप्ने गरेका दृष्यहरू देखिएका छन् ।

चीसोका कारण बिभिन्न ठाउँमा स्थानीयहरू कम्बललगायतका लुगा ओढेर हिँडिरहेको देखिएको छ ।

साइकल चालक तथा पैदल यात्रामा निस्किएका स्थानीयले शनिबार तापक्रममा उल्लेख्य गिरावट आइ चिसो अत्याधिक बढेको बताएका छन् ।

स्थानीयले शनिबार एएनआईसँगको प्रतिक्रियामा भनेका छन्, “चिसो अत्याधिक भएकाले पैदल यात्रा गर्न गाह्रो भइरहेको छ । कुहिरो तथा प्रदूषणले नियमित पैदल यात्रामा समस्या बढेको छ । प्रदुषणका कारण हुने स्वास्थ्य समस्याहरूबाट बच्न मास्क लगाएर बाहिर निस्किरहेका छौ ।”

दिल्लीको समग्र वायु गुणस्तर सूचकाङ्क गुणस्तरीय मौसम पूर्वानुमान तथा अनुसन्धान प्रणाली अनुसार शनिबार बिहान ८:०७ बजे वायुको गुणस्तर ‘निकै खराब’ रेकर्ड गरिएको थियो ।

भारतको मौसम विज्ञान विभागका अनुसार बिहीबार राजधानीको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियसमा रेकर्ड गरिएको थियो ।

राष्ट्रिय मौसम पूर्वानुमान एजेन्सीले यसअघि उत्तरी भारतको न्यूनतम तापक्रम आगामी तीन दिनमा २–३ डिग्री सेल्सियसले बढ्न सक्ने बताएको थियो ।

बिहारका एक रिक्सा चालक महेश कुमारले बिहीबार एएनआईसँग कुरा गर्दै चिसो मौसमले आफ्नो दैनिक काममा असर गरिरहेको बताउनुभयो ।

“चिसोका कारण आज यात्रुहरू कम छन् । चिसोले हाम्रो सवारीसाधन भित्रै बस्न बाध्य तुल्याउँछ,” कुमारले भन्नुभयो ।

चिसो बढेसंगै हरियाणामा १५दिनका लागि विद्यालय बिदा

यसैबीच हरियाणा सरकारले शनिबार आगामी जनवरी १ देखि १५ सम्म सबै सरकारी तथा निजी विद्यालयहरूमा जाडो बिदा गर्ने घोषणा गरेको छ ।

हरियाणा मुख्यमन्त्री कार्यालयको आधिकारिक ट्वीटर अनुसार शीतलहर आउने सम्भावनालाई मध्यनजर गर्दै यो निर्णय आएको हो ।

प्रसासनका अनुसार “बढ्दो चिसोलाई ध्यानमा राख्दै, हरियाणा सरकारले सन् २०२४ जनवरी १–१५ सम्म राज्यका सबै सरकारी र निजी विद्यालयहरूमा जाडो बिदाको घोषणा गरेको छ । यस अवधिमा सबै विद्यालयहरू बन्द रहनेछन् ।”

सरकारले सबै जिल्ला शिक्षा अधिकारीहरू, जिल्ला प्राथमिक शिक्षा अधिकारीहरू तथा प्रधानाध्यापकहरूलाई हरियाणा सरकारले दिएको दिशानिर्देशन पालना गर्न आग्रह गरेको छ ।

पञ्जाब, हरियाणा–चण्डीगढ–दिल्लीका अधिकांश भागहरूमा न्यूनतम तापक्रम ४–८ डिग्री सेल्सियसको दायरामा रेकर्ड गरिएको भारतीय मौसम विभागले जनाएको छ ।

भारतीय मौसम विज्ञान विभागले आगामी २४ घण्टामा न्यूनतम तापक्रममा करिब २ डिग्री सेल्सियसले वृद्धि हुने जनाएको छ ।