काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिनु भएको छ । उमेरको विषयमा छानबिन सुरू भएपछि उपरथी पाण्डेले राजीनामा दिनुभएको हो ।
बुधबार नै राजीनामा पत्र तयार पार्नु भएका पाण्डेले बिहीबार साँझ राजीनामा बुझाउनु भएको सैनिक उच्च स्रोतले न्यूजपोलारलाई जानकारी दिएको छ ।
सैनिक नेतृत्वले सरोज प्रताप राणाको अवकाश पछि रिक्त रहेको रथी पदमा बढुवाका लागि पाण्डेको सिफारिस गरेको थियो तर पाण्डेको उमेरको विषयमा विवाद भएपछि संसदको राज्य व्यवस्था तथा सुशासन समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने तयारी गरेको छ ।
दुई रथीमध्ये हाल सिताराम खड्का कार्यरत हुनुहुन्छ । अब रिक्त रथी पदमा बढुवाका लागि उपरथी अशोकराज सिग्देल रहनु भएको छ । सैनिक स्रोतका अनुसार जुन विषयमा पाण्डेको विवाद भएको हो भने सिग्देलको पनि सोही अवस्था छ ।
अझ सिग्देलको शैक्षिक प्रमाणपत्र पनि शंकाको दायरामा रहेको स्रोतले जानकारी दियो । सिग्देल पनि बाहिरिएको अवस्थामा उपरथीद्वय निर्मल कुमार थापा र सन्तोष ढकालको बढुवा हुने सम्भावना रहेको स्रोतले जानकारी दियो ।