१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा

पानी नपरेपछि खडेरीको चिन्तामा किसान

पानी नपरेपछि खडेरीको चिन्तामा किसान
अ अ+ अ-

महोत्तरी । असारे पानीमा रुझ्दै धान रोप्नुपर्ने बेलामा पानी नपरेकाले यहाँका किसान धान लगाउन नपाएपछि चिन्तित छन् । मध्य असारअघि धानको शाही (बीउ) रोपाइँ सकेर अहिले रोपो गोड्ने बेला धानको गाबो नै लाउन नपाएका यहाँका किसान खडेरीको चिन्ताले पिरोलिएका हुन् ।

“अई बेर मुँहमे माड लगवाक कोनो उपाय नई सुधैय” (यसपाली मुखमा माड लाग्ने केही उपाय देखिन्न) लामो सास फेर्दै महोत्तरीको भङ्गाहा–४ रामनगरका ६५ वर्षीय किसान गोविन्दलाल खाँ थारुले भन्नुभयो, “धानके गबो नई रोपायल, परिवारक प्रतिपाल केना होतै ?” (धानको गबो नै लगाउन पाइएन, जहान परिवारको गुजारा केले होला ?) । असार मास (महिना) मा चैत/वैशाखको जस्तो हुरहुरे बतासले धुलो उडाउनु खडेरी (अनिकाल) को कूलक्षण भएको थारुको चिन्ता छ । उहाँजस्तै यहाँका आम किसान अहिले मुख्यबाली भनिने धान लगाउन नपाएपछि चिन्तामा छन् ।

“अखाढ अन्तिम भगेल, ऐखनधैर रोप हरियाके चाही, मुदा अईबेर पाइनक अभावमे रोपनीए नई भसकल” (असार सकिनै लाग्यो, यतिखेर धानको रोपो हरियो भएर लहलहाउनु पर्ने हो, तर यसपालि पानी नभएर रोपाइँनै गर्न सकिएन) स्थानीय ७० वर्षीय रघुवर महराले पीडा पोख्नुभयो । झमझम असारे झरिमा रुझ्दै धान रोप्नु, गोड्नुपर्ने बेला प्रचण्ड घामले घरबाट निस्कन नसकिने भएको उहाँको भनाइ थियो ।

“अहिले त पहिलो रोपो लहलहाएर हरियो देखिनुपथ्र्यो । यतिबेलासम्म हामीले त धानको गब नै हाल्न पाएका छैनौँ”, भङ्गाहा–४ रामनगरका ६५ वर्षीय किसान हरिदेव साहले भन्नुभयो, “मुख्यबाली धान नै लाउन नपाएपछि घरपरिवार/लालाबालाको प्रतिपाल खै कसरी गर्नेहोला ?” गत मङ्लबार रातिदेखि परेको पानीले अब झरी पर्ला भन्ने आशा जगाए पनि पानी पर्न नसकेर चिन्ता थपिएको उहाँको भनाइ थियो ।

“ढिलै भए पनि झरी लाग्लाजस्तो लागेको थियो, मङ्गलबारदेखि परेको पानी बुधबार मध्यान्हपूर्व हटेर टन्टलापुर घाम लाग्यो”, मटिहानी–३ का किसान इलियास राइनले भन्नुभयो, “अब धान रोप्न पाइने आश छाडे हुनेभयो ।” असार सकिनै लाग्दासम्म बीउ रोप लाउन नसकिएको धानबाट उत्पाद पनि राम्रो नहुने उहाँले बताउनुभयो ।

यता हिउँदे धानखेतीमा जेठ मध्यअघि ब्याड राख्ने, असार मध्यअघि शाही (बीउ) रोप सक्ने र साउन मध्यअघि खरुअन (कलम,बीउ रोपको धान गाँजिएपछि उखेलेर रोपिने) तालिका छ । यसपाली पानीको अभावका कारण किसानले राम्ररी ब्याड राख्न नपाएको बताउँछन् । धानको हिले ब्याड राम्रो मानिए पनि पानी नभएपछि घर नजिक घुर्‍यानमा थोरथार राखिएको धुले बीउ पनि पानी बेगर पहेंलिएर धेरैजसो सुकेको किसानको दु:खेसो छ ।

“अब त पानी परेपनि त्यो बीउ रोप्नेरनरोप्ने विचार गर्नपर्ने भएको छ । बीउमा हाँगा फाटिसकेकाले त्यति छिप्पिएको बीउ रोपेर के फल आउँला ?” बलवा नगरपालिका–११ भलनीका जगत यादवले भन्नुभयो ।

“वर्र्षाकाल (याम) भनिने असारमा दिनभरि प्रचण्ड घाम र रातभरि आकासमा झलमल्ल तारा देखिन्छन्”, जलेश्वर नगरपालिका–६ का ८५ वर्षीय महेश्वर रायले भन्नुभयो, “अहिलेको दिन लक्षणले त असारको भनक नै दिदैन ।” महाकवि कालिदासले आफ्नो कालजयी कृति मेघदूतम्मा असार सङ्क्रान्तिका दिन नै आकाशमा पानी ल्याउने मेघ (बादल) देखिने चर्चा गर्नुभएको साहित्यमा रुचि राख्ने रायले स्मरण गर्नुभयो ।

“महाकवि कालिदासले ऋतु लक्षणका आधारमा असार लाग्नासाथै मेघ मडारिने र वर्षा सुरु हुने सन्दर्भ आफ्नो कृति मेघदूतम्मा जोड्नु भएको छ”, रायले भन्नुभयो, “अब ती ऋतु विचार सान्दर्भिक देखिन, बुझिन छाडे ।” नेपाल सरकारको सहसचिवबाट अवकास लिनुभएका रायले अवकास पछिको जीवनलाई खेतीसँग जोड्ने योजना बनाए पनि मौसमले साथ नदिएको बताउनुभयो । प्राकृतिक सम्पदा, वनजङ्गल, पाखापहरा, नदी, खोल्साखोल्सी र नदी उकास क्षेत्रमाथि अनियन्त्रित खेलवाडले पुराना ऋतु लक्षणका मान्यता खण्डित हुँदै गएका उहाँको भनाइ थियो ।

यसपाली गत हिउँददेखि नै खडेरीको लक्षण देखिएको पाका किसान बताउँछन् । हिउँदभरि पानी नपरेर बितेपछि पानीका स्रोतका मूहान (नदी, खोल्साखोल्सी, इनार, बोरिङ, चापाकल, जरुवा) चैतदेखि सुक्दै गएका स्थानीय बताउँछन् । पानी अभावका कारण खेतीमा मात्र नभई पिउन पनि धेरै ठाउँमा खानेपानीको हाहाकार परेको थियो ।

सिँचाइको प्रबन्ध नहुनु, समयमा बीउ, मल नपाउनु र खेतीपातीका लागि सुलभ ऋण नपाउनुलगायत समस्या किसानले झेल्दै आएका बर्दिबास–९ पशुपतिनगर टोकीटोलका किसान रामचन्द्र थापा मगरले बताउनुभयो । “तीन तहका सरकार भए पनि किसानका हितमा उल्लेखनीय कुनै काम हुन सकेको छैन । सरकारले बर्सेनि बजेटमार्फत किसानका सहुलियतका लागि घोषणा गरेका कार्यान्वयको पक्ष फितलो छ”, उहाँले भन्न्ुभयो ।

जिल्लामा करिब ७१ हजार हेक्टर खेतीयोग्य जग्गा रहेमध्ये ५० हजार हेक्टरको सेरोफेरो धान खेतीका लागि उपयुक्त मानिएको कृषि ज्ञान केन्द्र महोत्तरी, जलेश्वरले जनाएको छ । जिल्लाका कूल खेतीयोग्य जग्गामध्ये मुस्किलले १० प्रतिशत मात्र सिञ्चित (कुलो, नहरको पानी लाग्ने) छ । यसबाहेक सबै जग्गा आकासे पानीको भरमा खेती गर्नुपर्ने हुँदा किसानले जुनसुकै बालीको उपयुक्त बेलामा खेती लगाउन पाएका छैनन् ।

“उ..ल हेर्नुहोस्, हाम्रो ठाउँ त सिञ्चित भनिएको छ नि !”, बर्दिबास नगरपालिकाका ७० वर्षिय किसान नरबहादुर पुलामीले भन्नुभयो, “प्रचण्ड घामले मुखको थुक त सुकाउने भयो, पानीको मुहान के टिक्थ्यो ?” पानीको मूहान सुकेर कुलो चल्न छाडेपछि कमिलाका ताँती हिँडेका उहाँले देखाउनुभयो ।

असार सकिनै लाग्दासम्म धान रोपाइँ पाँच/छ हजार हेक्टरमात्र रोपाइँ भएको केन्द्रले जनाएको छ । रोपिएको धानको रोपो पनि पछि पानी नपुग्दा पहेँलिँदै गएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा रामचन्द्र यादवले बताउनुभयो । उहाँले सिञ्चित जग्गामा पनि घामका कारण पानीका स्रोत सुकेकाले धान रोपाइँ पछि परेको बताउनुभयो ।

चुरे पर्वत् श्रेणीबाट झर्ने रातु, बडहरी, भब्सी, जङ्घा, मरहा, गणन्ता, ओक्सी, बिग्ही, खयरमारा, टुटेश्वर र बाँकेलगायत नदी जिल्ला भएर बग्दै एकअर्कोमा मिसिएर भारतको सीतामढी जिल्ला पुग्दछन् । जिल्लाको पूर्व–पश्चिम चौडाइभित्र प्रत्येक दुई किलोमीटरभित्र नदी परे पनि किसानको खेतमा पानी पुर्‍याउन नसकिएकामा यहाँका किसान कटाक्ष गर्छन् ।

जिल्लाभित्रका नदीबाट खेतबारीमा पानी पुर्‍याउने सपना कुनै तहका सरकारले आपूmहरुलाई देखाउन नसकेका भङ्गाहा नगरपालिका–४ का किसान चन्देश्वर राय दनुवारको गुनासो छ । जिल्लाको मुख्यबाली धान प्रतिकूल मौसमले लगाउन नपाएपछि यसपाली अन्नको सङ्कट बढ्ने उहाँले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र महोत्तरीका कृषि विज्ञले अझै पनि पानी परे नयाँ बीउ राखेर १५ दिनभित्र रोपाइँ गर्न सकिने बताएका छन् । पानी नपरे कम पानीमा गर्न सकिने धान बाली लगाउने तयारी गर्नुपर्ने विज्ञको सुझाव छ । हिँउदे लहरे तरकारी, कात्तिक लाग्दै गहुँ लगाउने तयारी गर्नुपर्ने भन्दै अन्य हिउँदे तरकारी बाली लगाए जाडो मौसम लागेपछि सिँचाइको अभावका कारण बाली डढ्ने स्थिति नरहने वरिष्ठ कृषि विकास अधिकृत डा यादवले बताउनुभयो ।

सर्वसाधारण किसानले भने आफ्ना जनप्रतिनिधिलाई सिँचाइका लागी पानीको व्यवस्थाका लागि विकल्पको खोजी गर्न आग्रह गरेका छन् । “सबै कुराको मुख्य जरो हाम्रा लागि खेती नै हो भन्ने कुरा हाम्रा जनप्रतिनिधिले बुझी दिन पर्‍यो”, गौशाला नगरपालिकाको बटौवाका किसान लक्ष्मी महतोले भन्नुभयो, “खेतीका लागि सिँचाइ पहिलो प्राथमिकतामा पर्छ, यसको विभिन्न विकल्पबारे तीनै तहका सरकारले खोजी गर्नुपर्‍यो ।”

“पछिल्ला छ वर्षयता स्थानीय तहमा जनताका प्रतिनिधि आएका छन् । जनताका मर्का र समस्या तत्कालै बुझ्न, हेर्न सक्ने स्थानीय तहले पहलकदमी लिई दिनुपर्‍यो”, बर्दिबास–९ पशुपतिनगरका किसान नथुनी महतोले बताउनुभयो । जिल्लाका १५ स्थानीय तहले कृषि लक्षित विभिन्न योजना घोषणा गरे पनि सिँचाइको उचित प्रबन्ध हुन नसक्दासम्म सबै योजनाहरु प्रभावकारी बन्न नसक्ने उहाँको भनाइ छ ।

स्थानीय तहले फलपूmलका बिरुवा बाँड्ने, नमुना बीउबिजन दिने र पशुपालक किसानलाई घाँसका बीउ/बिरुवा दिने गरे पनि दीर्घकालिन समस्या समाधानका लागि पहल नभएको भङगाहा–४ का किसान सत्यनारायण यादवले बताउनुभयो । उहाँले स्थानीय तहले किसानलाई आत्मनिर्भर बनाउन कृषि अभियान सञ्चालन गरी किसानलाई पनि उक्त अभियानमा सहभागी गराउनुपर्नेमा जोड दिनुभयो ।

यसपाली असार सकिनै लाग्दासम्म राम्ररी पानी नपरेर धान बाली लगाउन नपाएपछि किसानले आफ्नो ठाउँलाई ‘सुख्खा खडेरीग्रस्त क्षेत्र’ घोषणा गरेर कृषिका अन्य अनुकूल योजना अघि बढाउन स्थानीय सरकार तथा जनप्रतिनिधिसँग माग गरेका छन् ।

“खडेरीग्रस्त क्षेत्र घोषणा गरेपछि यहाँका किसानलाई तत्काल राहत प्याकेज दिनुपर्‍यो । किसानका ब्याज मिनाहा गर्न, अब गर्नसकिने खेतीबारे प्राविधिक परामर्श र अनुदानमा रकम दिई कृषिमा लाग्न प्ररित गर्नुपर्छ”, अखिल नेपाल किसान महासङ्घ महोत्तरीका संयोजक पर्शुराम ठाकुरले भन्नुभयो । उहाँले केन्द्रीय सरकारसम्म किसानका माग पुर्‍याउन स्थानीय तह तथा जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । रासस