काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले समायोजनका नाममा संस्थापन पक्षले पार्टी कब्जा गर्न खोजेको निष्कर्ष निकालेका छन् ।
आज बसेको सो पक्षको बैठकले विभिन्न जिल्लामा अन्य पार्टीबाट प्रवेश गरेको भन्दै हजारौं व्यक्तिलाई विधानविपरीत क्रियाशील सदस्यता बाँडिएको आरोप लगाएको छ ।
राजधानीमा भएको छलफलमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, डा.रामशरण महत, डा. मिनेन्द रिजाललगायत सहभागी थिए ।
समायोजन समितिका सदस्यहरु दिलेन्द्र बडु , दीपक गिरी, छानविन समितिका सदस्यहरू प्रदीप पौडेल, जीवन परियार, कल्याण गुरुङको पनि बैठकमा उपस्थिती थियो ।
बैठकमा शीर्ष नेताहरूले विधानविपरीत आएका सदस्यताबारे कडा ढंगले प्रस्तुत हुन समितिका सदस्यहरूलाई निर्देशन दिएका छन् ।
विभिन्न पार्टीबाट प्रवेश गरेको भन्दै मनपरी ढंगले दिइएको क्रियाशील सदस्यताले कांग्रेसभित्र कांग्रेस नै अल्पमतमा पर्ने देखिएको भन्दै त्यस्ता सदस्यता कायम हुन नदिने विषयमा कडा ढंगले प्रस्तुत हुने निष्कर्ष बैठकले निकालेको हो ।