काठमाडौं । नेकपा(एमाले)को विवाद समाधान गर्न गठित कार्यदलका सदस्य रघुजी पन्तले कार्यदलले आजै राति सम्ममा सहमतीमा पुग्ने गरी छलफल गरिरहेको बताउनुभएको छ ।
आज कार्यदलको बैठक दिउँसोदेखि जारी छ । सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिदैँ कार्यदल सदस्य रघुजी पन्तले कार्यदलमा छलफल सकारात्मक ढंगले अगाडी बढेको भन्दै आजै रातिसम्ममा सहमती हुनसक्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो – ‘मस्यौदामा छलफल गर्यौ । मस्यौदामा हामीलाई लागेका सुझावहरु दियौँ । छलफल सकारात्मक ढंगले भएको छ । हाम्रो सुझावहरुलाई त्यसमा सामेल गरेर सम्भव भएसम्म आजै त्यसलाई पूर्णतामा पुर्याउने प्रयत्न छ । पार्टी एकतालाई कसरी प्रभावकारी ढंगले अगाडी बढाउन सकिन्छ भन्ने केही बुँदाहरुमा हामीले आफ्ना धारणाहरुलाई सहमतीका साथ बनाउने प्रयत्न गरेका छौँ । साथीहरुले राखेका भावना, धारणा र विचारहरुलाई पनि राखेर त्यसलाई पूर्ण बनाउने प्रयत्न भएको छ । सम्भव भएसम्म हामी आज नै त्यसलाई सकौँ भन्ने प्रयत्नमा छौँ । छलफल चलिरहेको छ । त्यसलाई फाइनल रुप दिने प्रयास भइरहेको छ ।’
कार्यदलको बैठक सोमबारदेखि निरन्तर बसिरहेको छ । नेताहरुले हरेक दिन सहमतीको नजिक पुगेको र एमाले एकता हुने दाबी गर्दै आएका छन् ।