२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर News Polar कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै News Polar मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण News Polar कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना

महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती :महाकविको बाल्यकाल कसरी बित्यो ॽ

महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती :महाकविको बाल्यकाल कसरी बित्यो ॽ
अ अ+ अ-

लक्ष्मीप्रसाद देवकोटाको जन्मका विषयमा थोरै विवाद रहेको छ । उनी जन्मेपछि धेरै समयसम्म उनको जन्मलाई उनैद्वारा पनि १९६५ साल नै लेखियो ।

तर खासगरेर उनको जन्म संवत् १९६६ कात्तिक २७ गते शुक्रबार कृष्णपक्ष अमावस्या तिथि लक्ष्मीपूजाका दिन भएको थियो । उनी विशाखा नक्षत्र र तुलाराशिको समयमा २१.५४ बजे अर्थात् राति ९ बजेर ५४ मिनेटमा जन्मेका थिए ।

उनको जन्म काठमाडौँको डिल्लीबजारस्थित धोबीधाराको ठटुनटी ब्लकनम्बर २१/५४१ को घरमा भएको थियो । उनको चिनाको नाउँ तीर्थमाधव देवकोटा थियो ।

महाकवि देवकोटाको जन्मका अवसरमा चारैतिर दीपावलीको रमझम छाएको थियो । त्यस बेला औँसीको कालरात्रि पनि उज्यालोमा परिणत भएको थियो । बेलुका राति लक्ष्मीपूजा गरिसकेपछि यस भूगोलमा देवकोटाको सुखद अवतरण भएको थियो । लक्ष्मीपूजाको समयमा जन्मेको हुँदा तीर्थमाधव देवकोटाको नाउँलाई लक्ष्मीप्रसाद देवकोटामा रूपान्तर गरिएको थियो ।

देवकोटाको जन्म हुँदा एकातिर दीपावलीको उज्यालो र अर्कातिर कृष्णपक्षको अमावस्याका कारण उनको जीवनमा पनि अत्यन्तै अँध्यारो र अत्यन्तै उज्यालोको मिश्रण हुने तत्कालीन ज्योतिषीजनहरूको समेत ठहर थियो ।

त्यस्तै, उनी जन्मेपछि देवकोटा कुञ्जमा जति शान्ति छाएको थियो त्यति नै दु :ख कष्ट पनि थपिँदै जान थालेको थियो । देखेको भन्दा लेखेको हराउँदैन भने झैँ उनी जन्मेपछि उनका घरमा थप कष्टहरूको ओइरो लाग्न थाल्यो । खास कुरा के हो भने देवकोटाको जन्मपछि उनको शारीरिक दुर्बलताले पनि घरमा ठाउँ ओगट्न थाल्यो । शिशुकालमा उनको शारीरिक अवस्था खस्कँदो किसिमले बामे सरिरहेको देखिन्थ्यो ।

देवकोटा चार वर्षका हुँदा उनलाई रगतमासीले थला पारेको थियो । त्यति बेला उनलाई कुनै पनि औषधि र जडीबुटीले पनि छोएको थिएन । त्यस बेला उनी नबाँच्ने अवस्थामा नै पुगिसकेका थिए । यति हुँदाहुँदै पनि उनकी दिदी लोकप्रियादेवीद्वारा एक जना बूढाबाजे (धामी) उनका घरमा पुर्‍याइए र त्यसपछि देवकोटा निको भएका थिए ।

देवकोटा बाल्यकालमा रगतमासीबाट उस्केपछि तिलमाधव देवकोटाको परिवारमा खुसीको वातावरण सृजना भएको थियो । त्यसपछि उनलाई अक्षरारम्भ पनि गराइएको थियो । उनलाई अक्षरारम्भ गराउने गुरु उनकै बुबा तिलमाधव देवकोटा थिए । बालक देवकोटाले पाँचै वर्षभित्रमा कखरा कण्ठाग्र पारेका थिए । तिलमाधव देवकोटाले नै भावी नाट्यसम्राट् बालकृष्ण समलाई पनि देवकोटालाई कखरा सिकाउनुभन्दा बाह्र वर्षपहिले नै अक्षरारम्भ गराएका थिए ।

देवकोटा आठौँ वर्षमा टेकेपछि सांसारिक मोहमा लहसिएका थिए । त्यही उमेरमा उनले आफ्नो जीवनको लक्ष्य कोर्न थालेका थिए । त्यस बेला उनका जेठा दाजु लेखनाथले ट्युसन पढाएर मासिक तीन सय रुपियाँजति पैसा कमाउँथे । त्यस बेलाको प्रसङ्गमा देवकोटा आफैँ लेख्छन् “म उहाँ (दाइ लेखनाथ)लाई दुनियाँको आदर्श ठान्दथेँ ।

माताजी पनि बराबर ‘त्यसरी नै पढ्नुपर्छ बाबै ! दाजु जस्तै’ भनेर स्नेहको अङ्गुलीले उहाँलाई देखाउने गर्नुहुन्थ्यो ।” त्यस बेला आफ्ना दाजुको मास्टरी धाक, रवाफ र दबाब अनि गम्भीर स्वभाव देख्ता देवकोटा त्यसै निहुरिन्थे, डराउँथे र उनकै आज्ञापालनमा तल्लीन रहन्थे । खास गरेर त्यसै बेलादेखि उनले “म पढेर मास्टर नै हुन्छु” भन्ने मनमनै प्रतिज्ञा गरेका थिए ।

देवकोटाको व्रतबन्ध १९७४ सालको चैतमा गरिएको थियो । त्यस उपनयनकर्ममा उनैका बुबा तिलमाधव देवकोटाले उनका कानमा गायत्रीमन्त्र सुनाएका थिए । त्यसपछि उनलाई उनका बुबाले ‘अमरकोश’ लगायत संस्कृतसाहित्यका अन्य रचना, मन्त्र र स्तोत्रमालाहरू घोकाएका थिए । देवकोटा पनि आफ्ना बुबाले दिएका जुनसुकै पाठ बुबासमक्ष झटाझट बुझाउने गर्थे ।

पढाइमा उनको लगनशीलता देखेर तिलमाधव गद्गद हुन्थे । त्यसैले उनी दस वर्ष नपुग्दै उनका बुबाले उनको अर्को नाउँ सरस्वतीप्रसाद पनि राखिदिए । त्यस बेला तिलमाधव भन्थे, “मेरो साइँलो छोरो सरस्वतीको अवतार हो ।” महाकवि देवकोटाले पनि आफ्ना बुबा तिलमाधवलाई सदैव ब्रह्मनिष्ठ, कर्मनिष्ठ, आस्तिक र देवर्षितुल्य पण्डित माने । उनी आफ्ना बुबालाई भूगोलको सबैभन्दा ठूलो ज्ञान, सीप र कला भएको मान्छे ठान्थे ।

देवकोटालाई घरैमा पढाउन थालिएको थियो । उनका बुबाका प्रेरणाले उनले नेपाली भाषा र संस्कृतभाषा पनि पढ्न थाले । खास गरेर उनका जेठा दाजु लेखनाथ देवकोटा अङ्ग्रेजी भाषामा पारङ्गत भएकाले देवकोटाका लागि पनि त्यो बाटो हिँड्न सजिलो भयो । त्यसैले उनी सानैमा नेपाली, संस्कृत र अङ्ग्रेजी भाषाको शिक्षा लिनमा चाख राख्ने भए । तिलमाधव देवकोटाले आफ्नो छोरो लक्ष्मीप्रसादलाई आफूजस्तै पण्डित बनाउने अभिलाषा राखेका थिए । तर उनकै धर्मपत्नी र उनका आफ्ना जेठा र बाठा छोरा लेखनाथले समेत त्यस विषयमा तिलमाधवसमक्ष विरोध गरेपछि लक्ष्मीप्रसाद संस्कृतका पण्डित हुनबाट जोगिएका थिए ।

देवकोटा सानामा घरवरिपरि डुल्थे । उनी टोलछिमेक जान मन पराउँदैन थिए । उनी आफ्ना बारीका नास्पाती, भोगटे, खरी, आरु, आरुबखडा र रिठ्ठाका रूखमा चढ्थे । उनी प्रायः एक्लै खेल्थे । त्यति बेला उनको स्वभावमा एकोहोरोपनको शैली विकसित हुने क्रम जारी देखिन्थ्यो । उनी अर्काको कुरा काट्ने र ईष्या गर्ने परिपाटिका पनि विपरीत थिए । उनी जति शान्त, शिष्ट र भद्र थिए त्यति नै सौम्य पनि देखिन्थे । उनको दोष भनेको उनी जिद्दीका नमुना थिए ।

तर उनी बाबुआमाका भक्त र दाजुभाउजूका आज्ञाकारी हुनाले उनको जिद्दीपन अस्थायी हुन्थ्यो । उनी इमानदार पनि थिए । उनी सही कुरा गर्थे तर कुरा गर्दै जाँदा धेरै कुरा गर्ने पनि उनको बानी थियो । उनी कसैलाई ढाँट्तैन थिए । यसैबारे उनले लेखे पनि “मैले झूटो बोल्न खोजेँ भने त्यसै ओठ लरबरिन्थ्यो, मिथ्या ओर्लनुअगाडि साँचो कुरा टप्किहाल्दथ्यो ।’’

देवकोटालाई सानामा उनका बुबा तिलमाधव देवकोटाले आफ्नो कविता साफी गर्ने काम दिएका थिए । बाँसका कलमले देवकोटा आफ्ना बुबाका कविता सार्ने गर्थे । त्यस बेला उनका बुबाले उनलाई रातो मसीले लेख्न सिकाएका थिए । त्यस घडी उनको ध्येय आफ्ना बुबाको कविता शुद्ध पारेर सार्ने हुन्थ्यो भने अर्कातिर अक्षर पनि राम्रा पार्नेतिर उनी अग्रसर थिए । आफ्ना बुबाले दिएको पाठ पढ्दापढ्दै र कविता सार्दासार्दै उनीभित्र काव्यात्मक प्रवृत्तिले जरा हाल्न थालेको थियो । वास्तवमा एकपटक उनले सपना पनि आफू स्रष्टा हुने खालकै देखेका थिए । यस विषयमा उनले प्रकाश पारेका पनि छन् ।

‘‘मेरा निमित्त हंसवाहिनी माता त्यत्तिकै सत्य हुनुहुन्छ, जुन सत्यको चेत र विश्वासले मैले कुनै दिन सपनामा कुरा गरेथेँ । उहाँले मलाई भन्नुभयो ‘कविता लेख !’ मैले उत्तर दिएँ ‘म जान्दिनँ !’ तब आफैँले मेरा स्वर्गवासी पिताजीका हस्ताक्षरजस्तो रातो अक्षरले एक श्लोक लेखेर सुनाउनुभयो, जो मलाई अत्यन्तै कण्ठ आयो । आहा ! त्यो शलोकसिर्जनाको वेदना ! सायद दुनियाँले सत्यलाई सपनाको श्लोक भनेर नबुझिने हुँदा आश्चर्यको दृष्टिले हेर्ने थियो ।’’

देवकोटा बाल्यकालमा अन्तर्मुखी प्रवृत्तिका थिए । उनी साथीभाइ र घरपरिवारमा ठट्टा रमाइलो गर्नमा भन्दा आफ्ना बुबाले दिएको कविता सार्नमा बढी ध्यान दिने गर्थे । उनी मेलमिलापका विरोधी नभए तापनि साथीसङ्गीको शिष्टाचारमा त्यति चासो राख्तैन थिए । उनी प्रायः पढ्नलेख्नमा नै केन्द्रित देखिन्थे ।

देवकोटा पृथ्वीमा सबैभन्दा ठूलो विषय अङ्ग्रेजी भाषालाई मान्थे । अङ्ग्रेजी भाषा जानेपछि पैसा कमाउन सकिन्छ भन्ने धारणा उनले सानैमा बनाएका थिए । उनी आफ्नो घरको दरिद्रतालाई खाल्डोभित्रै छोप्न चाहन्थे । वास्तवमा उनका दाजु लेखनाथको प्रेरणा बाल्यकालमा नै उनका छातीमा स्थापित भएको थियो । त्यसैले उनलाई काम वा जागिरमा सबैभन्दा ठूलो मास्टरी नै लाग्थ्यो । उनी त्यस बेला कल्पना गर्थे “म धेरै पढेर अङ्ग्रेजी भाषाको मास्टरै हुन्छु र धेरै पैसा कमाउँछु ।” उनले लथालिङ्ग भएको आफ्नो घरको आर्थिक अवस्थालाई धेरै पढेर समाधान गर्छु भन्ने हिम्मत सानैमा राखेका थिए । घरको आर्थिक अवस्थालाई उकास्न उनी बाल्यकालदेखि नै संवेदनशील बनेका थिए ।

देवकोटाले बाल्यकालमा नै कविता लेखे । आफ्नै चेतनाले अह्राएर उनले साहित्यरचनामा भाग लिएका थिए । यसै परिवेशमा उनी स्वयम् नै भन्छन् “मैले कविता लेख्न कसैसँग सिकिनँ । पिताजी अक्सर ईश्वरको स्तुति संस्कृत र नेपालीमा लेखिरहनुहुन्थ्यो । म साफी गरिदिन्थेँ— रातो मसीमा बाँसको कलमको सफा टाँका लगाएर । स्कुलबाट फर्किएपछि चार र छ बजेको अन्तरमा मेरो यही काम ज्यादा हुन्थ्यो र मलाई पनि कविता लेख्ने सोख त्यसैबाट बढेर आयो ।”

– साभार: देवकोटाको जीवनशैली (२०६६)