
काठमाडौं । नेपाली चलचित्र लाज शरणममा कुपोषित बालकको भूमिका निर्वाह गरेका विकास केसीको मृत्यु भएको छ । जाजरकोटका १५ वर्षीय विकासको कुपोषणकै कारण मृत्यु भएको हो ।
उनले कलाकार महेश त्रिपाठी र रेणु योगीको कुपोषित बालकको भूमिकामा अभिनय गरेका छन् ।
वास्तविक जीवनमै कुपोषित बालक विकास, उनका बुवाआमाको भूमिकामा अभिनय गरेका महेश र रेणुको कथानक सन्दर्भ र दृश्यलाई कुमार कट्टेल निर्देशित फिल्मको सबैभन्दा शक्तिशाली प्लट मानिएको छ ।
उनको निधनको खबर थाहा पाएपछि सिंगो ‘लाज शरणम्’ टिम स्तब्ध बनेको छ । सबैभन्दा स्तब्ध महेश र रेणु बनेका छन् जसले चरित्र चित्रणका लागि जाजरकोटमा विकाससँग १ महिना बिताए । यो खबर सुनेपछि अभिनेत्री रेणु गोरखामा फिल्म ‘पहाड’को छायांकनमा थिइन् । विकासको निधनको कुराले उनी भावविह्वल बनिन् ।
रेणु आज काठमाडौं आउनेछिन् । निर्माता तथा कलाकार अर्जुन घिमिरे पाँडेका अनुसार विकासको निधनपछि उनलाई अन्तिम श्रद्धाञ्जली र उनको परिवारलाई साथ दिन आजै जाजरकोट जाने कार्यक्रम छ । निर्देशक कट्टेल, कलाकार पाँडे, त्रिपाठी, योगी त्यसतर्फ जाँदैछन् ।
फिल्मका गीतकार वसन्त उदास विकासको निधनपछि मंगलबार नै जाजरकोट लागेका छन् ।