• २६ भाद्र २०८१, बुधबार
  •      Wed Sep 11 2024
  •   Unicode
Logo

जनै लगाउनै पर्छ त ?



वैदिक सनातनधर्मका सोह्र संस्कारमध्ये व्रतबन्ध एक हो । व्रतबन्धपछि जनै लगाउनका साथै धार्मिक, सांस्कृतिक, शैक्षिक र व्यावहारिक कार्य गर्ने अधिकार प्राप्त हुन्छन् । व्रतबन्धलाई उपनयन पनि भनिन्छ । ‘उप’ र ‘नयन’ मिलेर उपनयन शब्द बन्छ जसको अर्थ क्रमशः ‘नजिक र असल मार्गमा लैजानु हुन्छ ।

व्रतबन्धपछि सामाजिक र संस्कारी प्राणी बन्ने हुनाले यसलाई दोस्रोपटक जन्मिएको मानिन्छ । गोभिलगृहसूत्र (१।२।१)मा विद्यार्थीले यज्ञोपवितको रूपमा सूत्रको डोरी, वस्त्र वा कुशको डोरी लगाउनुपर्ने बताइएको छ । जनैभन्दा पहिले उत्तरीयको धारणा विकाश भएको थियो जसको विकसित रूप नै जनै हो ।

आकार्य परिपूज्यैताँस्तदाज्ञावशगो हरः ।
यथाविधि चकारास्य व्रतबन्धं मुदा तदा ।।
उपायनानि सर्वे ते शिवयोर्बालकस्य च ।
अष्टाशीतिसहस्रेभ्यो नमस्कृत्य हरोगस्पि च ।।
– गणेशपुराण (क्रीडाखण्ड ९६।५–६)

अर्थात्, “सबै ऋषिमुनिहरूलाई बोलाएर पूजा गरी उनीहरूले बताएअनुसार (गणेशको) व्रतबन्ध कार्य पूरा भयो । उपनयन संस्कारमा आएका अठासी हजार ऋषिमुनिहरूले महादेव, पार्वती र गणेशलाई उपहार दिए ।”

व्रतबन्धमा बटुकलाई भिक्षा, बुबा–आमालाई शुभकामना दिने प्रचलन देवीदेवताको समयमा पनि थियो । स्कन्दपुराणको माघमाहात्म्यअन्तर्गत स्वस्थानी व्रतकथामा गोमाले भिक्षा माग्न गएका श्रीमान् नफर्केपछि छिमेकीको सहयोग लिएर नवराजको व्रतबन्ध गरिदिएको वर्णन छ ।

रामचरितमानसको प्रथम सोपानअन्तर्गत बालकाण्डमा भगवान् राम एवं उनका भाइहरूलाई आमा, बुबा र गुरुले जनै दिएको वर्णन आउँछ । यसै प्रसङ्गमा पीत जग्य उपवीत सुहाये अर्थात पहेँलो रङको जनै भगवान् रामको घाँटीमा चम्किरहेको प्रसङ्ग तुलसीदासले चर्चा गर्नुभएको छ । महाभारतमा अभिमन्युको व्रतबन्धको वर्णन पाइन्छ । हरेक युगमा मानिसको मात्र होइन देवताको पनि व्रतबन्ध हुन्थ्यो । भरतले साधना गर्दागर्दै अन्य कपडाका साथै जनै पुरानो भएको चर्चाले साधनाकालमा समेत जनैको उत्तिकै महत्व रहेको प्रष्ट हुन्छ ।

व्रतबन्धको अर्थ कामवाद, कामभक्ष र कामाचार छोडेर नियममा बाँधिनु हो । सन्तानको व्रतबन्ध र विवाह गराइदिनु अभिभावकको कर्तव्य एवं दायित्व हो । मूर्तिमा प्राणप्रतिष्ठा गरेपछि जनै लगाइदिने गरिन्छ । जनैले मूर्तिमा प्राणको सञ्चारमात्र गर्दैन अझ पवित्र र पुजनीय बनाउँछ । व्रतबन्धले संस्कारित बताउँछ । अपरझट बुबा–आमाको निधन हुने अवस्था आएमा गाईगोठ, तीर्थस्थल वा मन्दिरमा व्रतबन्ध गरी कर्म गर्ने अधिकार दिइन्छ ।

वैदिकधर्मअनुसार यज्ञोपवीत संस्कार नगरी कुनै कर्म गर्ने अधिकार हुँदैन । जनै नै हरेक धर्म गर्ने, परम्परालाई धान्ने, अजस्र स्रोत प्राप्त गर्ने लाइसेन्स हो । यसकारण व्रतबन्ध गर्दा उमेर, पद्धति, विधानलाई ध्यान दिनुपर्छ ।

गर्भाष्टमेब्दे कुर्वीत ब्राम्णस्योपनायनम् ।
गर्भादेकादशे राज्ञो गर्भात्तु द्वादशे विशः ।।
–मनुस्मृति (२।३६)

अर्थात्, “आठ वर्षमा ब्राम्हणको, एघार वर्षमा क्षत्रीको र बाह्र वर्षमा वैश्यको व्रतबन्ध गर्नुपर्छ ।” कतिपयले गर्भ र कतिले जन्मदेखि वर्ष गणना गरी, साइत जुराई व्रतबन्ध गराउँछन् । जातिअनुसार व्रतबन्ध गर्ने उमेर फरक छ, यसभित्र वैज्ञानिक रहस्य लुकेको छ । वैदिकधर्मले अष्ट(८) वसु , एघार रुद्र, बाह्र आदित्य(सूर्य), इन्द्र र प्रजापति गरी ३३ प्रकारका देवता मानेका छन् । प्रत्येक लोकमा तेत्तीस कोटी होइन तेत्तीस प्रकारका देवता हुन्छन्, भाव र विश्वासले संख्या बढाउनु अर्कै कुरा हो । वसुलाई ब्राéण, रुद्रलाई क्षत्री र आदित्यलाई वैश्य देवता मानिन्छ ।

ब्राम्हणकाे आठ वर्षमा व्रतबन्ध गर्नुको अर्थ वसु आठवटा छन् जो ब्राम्हण जातिका थिए । रुद्रलाई क्षत्री मानिन्छ एवं रुद्र एघार छन् । त्यसैले क्षत्रीको ११ वर्षमा व्रतबन्ध गरिन्छ । बाह्र महिनामा फरक फरक नामका बाह्रवटा सूर्य उदाउँछन् । उनी वैश्य जातका देवता मानिने हुनाले वैश्यको १२ वर्षमा व्रतबन्ध गराइन्छ ।

जातिअनुसार व्रतबन्ध गर्ने ऋतु वा महिना फरक हुन्छ–वसन्ते ब्राéणमुपनयेत् अर्थात् ब्राéणको वसन्त ऋतुमा उपनयन संस्कार गर्नुपर्छ । ज्योतिषशास्त्रअनुसार प्रत्येक महिनाका अधिपति (मालिक) ग्रहहरू हुन्छन् । चैत्र महिनाको राशि मीन हो, यसको मालिक (स्वामी) गुरु (बृहस्पति) हुन् ।

बृहस्पति ग्रहलाई ज्योतिषशास्त्रले ब्राम्हणमानेको हुनाले ब्राम्हणजातिकोे चैत्रमा व्रतबन्ध गरिन्छ । यसरी विधान पु(याएर, विधि जुराएर लगाइने हुनाले जनैलाई मृत्युपर्यन्त अटुटरूपमा धारण गर्नुपर्छ । चुडियो भने अर्को जनै नलगाएसम्म बोल्न हुँदैन । जातअनुसार व्रतबन्धमा गुरुले दिएको फरक फरक गायत्री मन्त्रलाई नियमले जपिन्छ, वेद पाठ गरिन्छ । यिनै गरिमाका कारण देवीदेवताहरू व्रतबन्ध कर्मलाई हेर्न लालायित हुन्छन् ।

अथर्ववेदमा भनिएको छ–
आचार्य उपनयमानो ब्रम्हचारिणं कृणुते गर्भमन्तः ।
तं रात्रिः तिस्र उदरे बिभर्ति तं जातं द्रष्टुमभियन्ति देवाः ।।

अर्थात्, “आचार्यले उपनयन संस्कार गरिसकेपछि शिष्यलाई ब्रéचर्य धारण गर्ने आज्ञा दिन्छन् र आफूभित्र प्रवेश गराउँछन् । त्यो ब्रम्हचारी शिष्य तीन रातसम्म गुरुको पेटमा बस्दछ र फेरि जन्मन्छ । त्यसलाई हेर्न देवताहरू पनि एकत्रित हुन्छन् ।” यज्ञोपवीत धारण गरेपछि गुरुबाट ज्ञानार्जन गरी समाज एवं राष्ट्रको सम्पत्ति हुन पुग्दछ ।

गुरुकुल प्रवेशका लागि व्रतबन्ध र ब्रम्हचर्यलाई न्यूनतम आवश्यकता मानिन्छ । ब्रéचर्यकै कारण कृष्णले ६४ दिनमा सम्पूर्ण विद्या आर्जन गरेका थिए । आफूलाई भुल्ने, अरूलाई चिन्न खोज्ने प्रवृत्तिले हाम्रो विज्ञान अलपत्रमा परेका छन् । धर्मभित्रको ज्ञान र विज्ञान भुल्नाले वैदिक धर्म, संस्कृति, मूल्यमान्यताको अस्तिŒव एवं अस्मितामा दाग लाग्न पुगेको छ ।

आफ्ना शास्त्रका ज्ञान र मार्गदर्शनलाई अनुशरण गरेसम्म हाम्रो धर्म, समाज, कला विश्वकै चरमोत्कर्षमा थियो । षट्शास्त्र(व्याकरण, ज्योतिष, छन्द, निरुक्त, शिक्षा, कल्प)को ज्ञान प्रत्येक जातिका मानिसमा हुनुपर्दथ्यो । यसकै आधारमा ६ डोरा जनै लगाउने चलनको प्रारम्भ हुन पुग्यो । ॐकारोùग्निश्च नागश्च सोमः पितृप्रजापति । वायुः सूर्यश्च सर्वश्च तन्तुदेवा अमी नव अर्थात्, ‘ओम्कार, अग्नि, नाग(अनन्त), चन्द्रमा, पितृगण, प्रजापति, वायु, सूर्य र सर्वदेव गरी नौवटा देवताको प्रतीकात्मक रूपमा नौ डोरा भएको जनै लगाउने चलन थियो ।

६ डोरालाई यज्ञोपवीत र थप ३ डोरालाई उत्तरीयका रूपमा लगाउने परम्परा छ । श्रावणपूर्णिमालाई जनैपूर्णिमा वा ऋषितर्पणी भनिन्छ । यसै दिन सप्त ऋषिको पूजा गरी रुद्राभिषेक सम्पन्नपछि नयाँ जनै लगाइन्छ । हामी ऋषिका सन्तान हौँ त्यसैले यस दिन ऋषिलाई तर्पण दिई पूजासहित स्मरण गरिन्छ ।

जनै ऋषिहरूको प्रसाद, पुर्खाको आशीर्वाद, ईश्वरको वरदान हो । तीन–तीन डोराको एउटा गाँठो बनाई वेदमन्त्रद्वारा विभिन्न देवीदेवताहरूलाई बोलाएर, तीर्थहरूको जल छर्केर पवित्र तुल्याई जनै लगाइन्छ । मानिसले दिनमा २१,६०० पटक श्वास फेर्दछ । यति नै अङ्गुल लामो डोराबाट जनै तयार गरिन्छ । जनैलाई यज्ञोपवीत पनि भनिन्छ । यज्ञको अर्थ ‘शुभकार्य’ र ‘उपवितको अर्थ ‘धारण’ गर्नुहुन्छ ।

यज्ञोपवीतको अर्थ जनैमात्र होइन परिधान विशेष पनि हो । यज्ञ, पूजापाठलगायतका कार्य गर्दा पहिरने पवित्र वस्तुलाई पनि यज्ञोपवीत भन्न सकिन्छ । जनै नलगाई देवकार्य, पितृकार्य, पाठपारायण गर्न हुँदैन । पश्चिमाहरूले जनै लगाउँदैनन् त्यसैले उनीहरूलाई म्लेच्छ भनिएको हो । जन्मदेखि मृत्युपर्यन्त मानिस संस्कारको छत्रछायाँमा हुर्कन्छ । संस्कारलाई पूरा गरेपछि मात्र त्यसले जीवनको अर्थ बुझ्छ, कर्तव्यको बोध हुन्छ र मानिस बन्छ ।

एतावद्दिनपर्यन्तं ब्रम्ह्त्वं धारितं मया ।
जीर्णात्वत्वात्परित्यागो गच्छ सूत्र यथासुखम् ।।

अर्थात्, “हे सूत्र (जनै)  मैले तिमीलाई अहिलेसम्म लगाएँ, अब तिमी जीर्ण (पुरानो) भयौँ, त्यसकारण तिमीलाई त्याग गरेँ, अब तिमीलाई जहाँ सुख छ, त्यहाँ खुसी भएर बस ।” कपडा र गहना आदि लगाउँदा, फुकाल्दा मन्त्र जप्दै यति धेरै विधिविधान पु¥-याउनुपर्दैन तर जनै विधिसम्मत तरिकाले परिवर्तन गरिन्छ ।

ऋषितर्पणी, सूतक, आशौच, श्राद्ध, यज्ञ, चन्द्र र सूर्य ग्रहणमा पूरानो जनै त्यागेर नयाँ धारण गर्नुपर्छ । सायणले पनि ‘नछुने भएकी महिला, मद्यपान वा तामसी पदार्थ खाने मानिसलाई छोएमा नयाँ जनै लगाउनुपर्छ भनेका छन् । जनैमा दैवीशक्ति हुनेहुनाले यसलाई धारण गर्दा मन, वचन र कर्ममा ओज एवं सत्यता आउँछ । धागोको जनै लगाउनुभन्दा पहिले कुशको जनै लगाएर शरीरलाई शुद्ध तुल्याइन्छ ।

विधान पूरा नगरी लगाएमा जनाईखटिरा आउँछ भन्ने विश्वास छ । जनै पहेँलो रङको हुन्छ । ज्योतिषशास्त्रले बृहस्पतिको पहेँलो रङको ग्रह एवं देवताका गुरु मानेको छ । पहेँलो जनैले ज्ञान, चिन्तन र व्यवहारलाई उच्चकोटीमा बदल्न सहयोग गर्दछ । यसकारण धार्मिक अनुष्ठानमा पहेँलो वस्त्र लगाउने, ओढ्ने चलन छ ।

यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात् ।
आयुष्यमग्य्रं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः ।
यज्ञोपवीतमसियज्ञस्यत्वायज्ञोपवीतेनोपनमि ।।

अर्थात्, “जनै परमपवित्र धारणीय वस्तु हो । यसको आविर्भाव ब्रéासँगै उहाँकै छातिमा झुण्डिएर भएको हो । यज्ञोपवीतले आयु, बल, तेजको वृद्धि गराउँछ । हे यज्ञोपवीत  यज्ञका लागि तिमी पवित्र छौ । यज्ञका निम्ति म तिमीलाई धारण गर्दछु ।” महिला र पुरुष दुबैले संयुक्तरूपमा धार्मिक कार्य गर्नुपर्ने हुनाले प्राचीन कालमा महिलाहरूको उपनयन संस्कार हुन्थ्यो अहिले यो कार्य प्रायः लुप्त हुँदै गएको छ । परब्रम्हाेपनिषद् (१२)मा भनिएको छ–

शिखा ज्ञानमयी यस्य उपवीतं च तन्मयम् ।
ब्राम्हण्यं सकलं तस्य नेतरेषां तु किञ्चन ।।

अर्थात्, “ज्ञानमयी शिखा र जनै जसको छ त्यसलाई ब्राéण भनिन्छ, अरूलाई होइन ।” महिला र ब्राéण थरबाहेक अन्यले लगाउन हुँदैन भन्ने चिन्तन सङ्कीर्णता र अज्ञानताको पराकाष्ठा हो । संस्कार पुगेका हरेकले लगाउन हुन्छ भन्ने विषयमा बेलाबेलामा विभिन्न महापुरुषहरूले प्रयास गरे पनि पूर्णता पाउन सकेको देखिँदैन ।

नेपाल आमाका सुपुत्रहरू योगी नरहरिनाथ, सं. डा. स्वामी प्रपन्नाचार्य र प्रा. छविलाल पोखरेलले चर्को विरोधका बीच महिला, किरातवर्ग र दलित आदिलाई जनै लगाइदिनुभएको थियो । किरातवर्गले प्रपन्नाचार्य गुरुदेवलाई न्वारनको बल लगाएर “हामीलाई ब्राम्हण बनायो” भनी विरोध गरे ।

प्रा. छविलाल पोखरेललाई ब्राम्हणहरूले हुर्मत लिने प्रयास गरे । तथापि उहाँहरूले केही हदसम्म यसलाई कार्यान्वयन गराउनुभयो । यसलाई प्रमाण मानेर केही धार्मिक संस्थाहरूले अहिलेसम्म अनुशरण, अनुकरण गरिरहेका छन् । मानिसलाई ऋषि वा असल बनाउन सहयोग गर्छ भन्ने तथ्य जनै लगाइसकेपछिका कर्मले बताउँछ ।

दिसा–पिसाब गर्दा जनैमा फोहोर पर्न सक्ने हुनाले दाहिने कानमाथि एक फन्को लगाएर छोटो बनाइन्छ । दाहिने कानमा वायु, चन्द्रमा, इन्द्र, अग्नि, मित्र तथा वरुण देवताहरू रहन्छन् । जसको साथमा रहँदा जनैको पवित्रता बढ्दछ ।

आदित्य वसवो रुद्र वायुरग्निश्च धर्मराट् ।
विप्रस्य दक्षिणे कर्णे नित्यं तिष्ठन्ति देवताः ।।

अर्थात्, “दाहिने कानमा सूर्य, वसु, रुद्र, वायु, अग्नि, धर्मराजलगायतका देवताहरू सधैँ बस्दछन् ।” दाहिने कानमा देवीदेवताको निवास हुनेहुनाले छिँऊ आउँदा, दाँतमा जुठो हुँदा, अचानक झुटो कुरा मुखबाट निस्केमा, खराब आचरणका मानिससँग कुराकानी गरेपछि दाहिने कानको स्पर्श गर्नुपर्छ । यसले अज्ञान र बाध्यतावश भएका गल्तीबाट मुक्ति दिलाउँछ । “दिउँसो दिसा–पिसाब गर्दा एवं सन्ध्याको समयमा जनैलाई कानमा राखेर उत्तर फर्कनुपर्छ, रात्रि दिसा–पिसाब गर्दा दक्षिण मुख गर्नुपर्दछ ।”

नाइटोभन्दा माथि र कम्मरभन्दा तल हुने गरी जनै लगाउन हुँदैन । जनैपूर्णिमामा मन्त्रबाट पूजित जनैमात्र वर्ष दिनसम्म लगाउन मिल्छ । जनै लगाउने अधिकार प्राप्त गरेपछि कर्म चलाउने हुँदा व्रतबन्ध नगरेको छोरा र अविवाहिता छोरी मरे एघार दिनसम्म काजक्रिया गरिँदैन । एउटा शाखा वा वेदमा दीक्षित व्यक्तिले अर्को वेद पढ्न चाहेमा त्यही वेदको परम्पराअनुसार व्रतबन्ध गर्नुपर्छ । व्रतबन्ध नगरी ग्रन्थ अध्ययन गर्ने अधिकार पाए पनि शास्त्र अध्ययन गर्न मिल्दैन ।

वेदपाठ गर्न नहुने दिनमा गरे, भयानक पापबाट मुक्ति पाउन वा प्रायश्चित गर्न, अभक्ष खाएमा पुनः व्रतबन्ध गर्नुपर्ने हुन सक्छ । पुरुषले दाहिने र महिलाले देब्रे हातमा जनैपूर्णिमा, पूजाआजा वा शुभकार्य गर्दा रक्षाबन्धन लगाउने चलन छ । भविष्यपुराणमा भनिएको छ–

सर्वरोगोपशमनं सर्वाशुभविनाशनम् ।
सकृत्कृतेनाब्दमेकं येन रक्षा कृता भवेत् ।।

अर्थात्, “रक्षाबन्धन लगाउनाले सम्पूर्ण रोग र अशुभ कार्यको विनाश हुन्छ । वर्षको एकपटकमात्र लगाउँदा त्यसले वर्षभरी मानिसको रक्षा गर्दछ ।” मन्त्रोच्चारणसहित शास्त्रीय विधान पूरा गरेर रक्षाबन्धन लगाएमा कुविचार आउँदैन, भूत–प्रेत आदि दुष्टात्माहरूले दुःख दिँदैन । जसले पूर्णरूपमा रक्षा गर्छ त्यसलाई रक्षाबन्धन भनिन्छ । जसले कुतŒवहरूलाई बन्धनमा पारेर मानिसको रक्षा गर्दछ, त्यही रक्षाबन्धन हो ।

रक्षाबन्धन पहेँलो रङको हुन्छ, जहाँ रक्षाबन्धन लगाइन्छ त्यस स्थानको सम्बन्ध धातु(वीर्य)सँग हुन्छ । धातुसम्बन्धी समस्या भएका मानिसले बिहान उठ्नेबित्तिकै नाडीमा थिच्दा यस्ता समस्याबाट मुक्ति मिल्दछ । महिलाहरूले विवाहपछि यसै स्थानमा चुरा लगाउँछन् जसले प्रजनन् एवं सहनशक्ति बढाउँछ ।

जनैपूर्णिमाको दिनमा बाँधिएको रक्षाबन्धनलाई गाईतिहारका दिन गाईको पुच्छरमा बाँधेर मुक्तिको कामना गरिन्छ । गाईले वैतरणी तार्छ र पुनः जन्ममृत्युको चक्रबाट मुक्ति हुन्छ । गाईलाई देवी एवं मुक्ति दिने पृथ्वीको साररूप मानिने हुनाले रक्षाबन्धनको विर्सजन उनैको पुच्छरमा गरिन्छ ।

रक्षाबन्धनले मानिसलाई काम, क्रोध, लोभ, मोह, अहंकारलगायतका विकारबाट बचाएर मुक्तिको ढोका खुलाइदिन्छ । धार्मिक अनुष्ठानमा रक्षाबन्धन लगाइन्छ । यसले जीवनदेखि मृत्युपर्यन्त व्यावहारिक र आध्यात्मिक महत्व राख्दछ ।

जनै र रक्षाबन्धनको सम्बन्ध धर्मसँग मात्र होइन, असल एवं संस्कारयुक्त जीवन, पुर्खाको इतिहास र परम्परासँग जोडिएकोे हुनाले विधिपूर्वक लगाउनु अपरिहार्य मानिन्छ ।