२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड

भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग

भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग
अ अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भोटेकोशी बाढीबाट प्रभावित व्यवसायीलाई राहतसँगै व्यवसाय पुनः सञ्चालनका लागि बेलआउट प्याकेज ल्याउन सरकारसँग माग गर्नुभएको छ ।

सिंहदरबारमा मंगलवार आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उहाँले बाढीबाट विशेषगरी साना तथा मझौला व्यवसायीको पुँजी नै गुमेको बताउनुभयो ।

महासंघको सर्वेक्षणअनुसार बाढीबाट प्रभावित उद्योगमध्ये करिब ८५ प्रतिशत साना तथा मझौला उद्योग रहेको श्रेष्ठले जानकारी दिनुभयो । त्रिशूली करिडोरका व्यवसायीले सबै सम्पत्ति बाढीले बगाए पनि बैंकको ऋण भने बाँकी रहेको गुनासो गर्ने गरेको उहाँले बताउनुभयो ।

“साना पुँजी भएकाहरूको सर्वस्व नै बगेको छ । त्रिशूलीका व्यवसायीहरूले सबै चिज बाढीले लग्यो, ऋण चाहिँ बगाएर लान सकेन भनेर गुनासो गर्नुभएको छ,” उहाँले भन्नुभयो ।

व्यवसाय पुनः सञ्चालनका लागि सरकारले ‘बिजनेस रिभाइभल प्लान’सहित बेलआउटको व्यवस्था गर्नुपर्ने श्रेष्ठको भनाइ छ । विपद्मा सर्वस्व गुमाएका व्यवसायीलाई सामान्य राहतले मात्रै पुनःस्थापित गर्न नसकिने भन्दै उहाँले यसका लागि सरकारले विशेष वित्तीय व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

श्रेष्ठले भोटेकोशी विपद्बाट निजी क्षेत्रमा भएको क्षतिको छुट्टै र व्यवस्थित मूल्याङ्कन आवश्यक रहेको बताउनुभयो । महासंघले फिल्डमै टोली परिचालन गरी क्षतिको अध्ययन गरिसकेको र निजी क्षेत्रतर्फ भएको क्षतिको पूर्ण विवरण तयार गरेर छिट्टै सरकारलाई बुझाउने जानकारी दिनुभयो ।

उहाँले विपद्पछि सडक, पुल, जलविद्युत् आयोजना, पर्यटन पूर्वाधार तथा व्यावसायिक संरचना पुरानै ढाँचामा पुनर्निर्माण गर्न नहुने बताउनुभयो । भविष्यमा आउन सक्ने बाढी, पहिरो तथा जलवायुजन्य जोखिमलाई ध्यानमा राख्दै जलवायु उत्थानशील र सुरक्षित पूर्वाधार निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।

हिमाल तथा नदी करिडोरमा जलविज्ञान, मौसम, उपग्रह, सेन्सर तथा समुदायमा आधारित पूर्वसूचना प्रणालीलाई एकीकृत गर्नुपर्नेमा पनि श्रेष्ठले जोड दिनुभयो । पूर्वसूचना प्रणालीलाई विपद् व्यवस्थापनको साधनमा मात्र सीमित नगरी व्यवसाय, लगानी, रोजगारी र उत्पादन संरक्षण गर्ने आर्थिक पूर्वाधारका रूपमा विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।

समयमै पूर्वसूचना प्राप्त भए जलविद्युत् आयोजना, होटल, उद्योग, यातायात व्यवसाय तथा स्थानीय उद्यमले कर्मचारीलाई सुरक्षित स्थानमा लैजान, उपकरण तथा संरचना जोगाउन र आवश्यक अवस्थामा सेवा अस्थायी रूपमा रोक्न सक्ने उहाँको भनाइ छ ।

श्रेष्ठले हरित बैंकिङलाई सौर्य ऊर्जा, विद्युतीय सवारी तथा नवीकरणीय ऊर्जामा मात्रै सीमित गर्न नहुने धारणा राख्नुभयो । बैंक तथा वित्तीय संस्थाले वातावरणीय, सामाजिक तथा सुशासन (ईएसजी) मापदण्ड र भौतिक जलवायु जोखिमलाई ऋण मूल्याङ्कन तथा जोखिम व्यवस्थापनको मूल प्रक्रियामा समावेश गर्नुपर्ने उहाँले बताउनुभयो ।

बाढी, पहिरो, जलवायु संवेदनशीलता, ऊर्जा दक्षता, कार्बन उत्सर्जन, स्रोतको उपयोग तथा विपद् उत्थानशीलतालाई परियोजना तथा व्यवसायको ऋण मूल्याङ्कनमा समावेश गर्नुपर्ने उहाँको भनाइ छ ।

महासंघले निजी क्षेत्रमा ईएसजीसम्बन्धी क्षमता अभिवृद्धिको काम अघि बढाइरहेको जानकारी दिँदै श्रेष्ठले यसका लागि अन्तर्राष्ट्रिय संस्थाहरूसँग समेत सहकार्य भइरहेको बताउनुभयो । ऊर्जा दक्षता, नवीकरणीय ऊर्जा, विद्युतीय सवारी, ऊर्जा दक्ष उपकरण तथा जलवायु उत्थानशील पूर्वाधारमा निजी क्षेत्र लगानी गर्न इच्छुक भए पनि प्रारम्भिक लगानी उच्च हुने भएकाले सरकारले वित्तीय सहयोग र विदेशी सहायता परिचालनमा सहजीकरण गर्नुपर्ने उहाँले बताउनुभयो ।