काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिनको बन्द सत्र जारी छ। बन्द सत्रमा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेका प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तयारी गरिएको छ।
महाधिवेशनको दोस्रो दिन हिजो महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेको संशोधित विधान पारित भएको थियो। संशोधित विधान पारित भएसँगै कांग्रेसको निर्वाचन प्रक्रिया अघि बढेको छ।
निर्वाचनका लागि उम्मेदवारी दर्ता कार्यक्रम राष्ट्रिय सभा गृहमा सञ्चालन भइरहेका बेला बन्द सत्र भने खुलामञ्चमा जारी छ। महाधिवेशन प्रतिनिधिको मुख्य आकर्षण निर्वाचन प्रक्रियातर्फ केन्द्रित भएकाले खुलामञ्चमा भने चहलपहल तुलनात्मक रूपमा कम देखिएको छ।

महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेशराज आचार्यका अनुसार बन्द सत्रमा चारवटै प्रतिवेदनमाथि छलफलपछि पारित गरिनेछ। यसअघि तीनवटा हलमा आ–आफ्नो क्लस्टरका महाधिवेशन प्रतिनिधिबीच प्रतिवेदनमाथि छलफल गराइएको थियो।
आजको बन्द सत्र पनि सुरुआतमा छुट्टाछुट्टै हलमा सञ्चालन गर्ने तयारी भए पनि महाधिवेशन प्रतिनिधिको उपस्थिति कम भए एउटै हलमा समेटेर छलफल अघि बढाउने तयारी रहेको संयोजक आचार्यले जानकारी दिए।
उनका अनुसार सभापति थापाले प्रस्तुत गरेको प्रतिवेदन, उपसभापति शर्माको प्रतिवेदन, महामन्त्री घिमिरेको प्रतिवेदन र कोषाध्यक्ष श्रेष्ठको प्रतिवेदनमाथि छलफल हुनेछ। छलफल सम्पन्न भएपछि ती प्रतिवेदन पारित गरिनेछ।
कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढिरहेका कारण बन्द सत्रसँगै राष्ट्रिय सभा गृहमा उम्मेदवारी दर्ता र निर्वाचनसम्बन्धी गतिविधि पनि तीव्र बनेका छन्।







