काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै थापाले सरकारको ६ महिने कार्यकालको समीक्षा गर्दै सरकारको गतिविधि ‘फासीवादी शासन’तर्फ उन्मुख भएको आरोप लगाउनुभयो। उहाँले सत्तापक्षले संसद्लाई प्रभावकारी रूपमा उपयोग गर्नुको सट्टा आफ्नो निर्णय कार्यान्वयन गर्ने माध्यमका रूपमा प्रयोग गरेको दाबी गर्नुभयो।
गत निर्वाचनमा आफ्नो दलले व्यहोरेको पराजयलाई लोकतान्त्रिक प्रक्रियाका रूपमा स्वीकार गरेको उल्लेख गर्दै थापाले त्यसलाई आत्मसमर्पणका रूपमा नबुझ्न आग्रह गर्नुभयो। उहाँले पराजयलाई आगामी राजनीतिक यात्रामा विजयको अवसरका रूपमा लिएको बताउनुभयो।
विधेयक निर्माण प्रक्रियामा सत्तापक्षले प्रतिपक्षका सुझावलाई बेवास्ता गरेको आरोप लगाउँदै उहाँले संसद्मा दर्ता भएका दर्जनौँ विधेयकमा पर्याप्त छलफल र सहमतिको वातावरण नबनाइएको बताउनुभयो। सङ्ख्या र शक्तिको आधारमा विधेयक पारित गर्ने प्रवृत्तिले संसदीय लोकतन्त्र कमजोर बन्ने उहाँको भनाइ थियो।
थापाले सभामुखको भूमिकामाथि समेत प्रश्न उठाउँदै राजनीतिक सहमति निर्माणका लागि सभामुखले अपेक्षित रूपमा ठोस अगुवाइ गर्न नसकेको बताउनुभयो। यद्यपि पछिल्लो समय सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गर्ने प्रयास गर्नु र सत्तापक्षकै केही सांसदले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनुलाई उहाँले सकारात्मक संकेतका रूपमा लिनुभयो।
भदौ १० गतेको महाविपत्तिपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले सर्वपक्षीय संयन्त्र निर्माणका लागि गरेको पहलको स्वागत गर्दै थापाले संसदीय विशेष समितिमा राष्ट्रिय सभालाई समावेश नगरिएको विषयमा असन्तुष्टि जनाउनुभयो। उहाँले राष्ट्रिय सभालाई समेत प्रक्रियामा समेट्नुपर्ने बताउनुभयो।
पूर्वप्रधानमन्त्रीको गिरफ्तारीदेखि पछिल्ला राजनीतिक घटनाक्रमसम्म आइपुग्दा सरकारको यात्रा गलत दिशातर्फ अघि बढिरहेको दाबी गर्दै थापाले लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन संवाद, सहमति र विधिको शासनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
तस्बिर:रत्न श्रेष्ठ/रासस








