१८ भाद्र २०८३, बिहीबार
,
Latest
रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले रसुवाको भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको उद्धारमा सरकारले गम्भीरता नदेखाएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै शाहीले बाढीले पुरिएका सुरुङमा तत्काल प्रवेश गरी फसेका नागरिकको खोज तथा उद्धार गर्न सरकारसँग माग गर्नुभयो ।

उहाँले बाढी प्रभावित पाँचवटा सुरुङमा अझै उद्धारकर्मी नपुगेको दाबी गर्दै नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताउनुभयो ।

शाहीले प्रधानमन्त्रीले जलविद्युत् विज्ञहरूसँग समयमै संवाद नगरेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले जलविद्युत् विज्ञ कुलमान घिसिङजस्ता व्यक्तिसँग आवश्यक परामर्श गरेर उद्धार कार्य अघि बढाउनुपर्नेमा सरकारले त्यसतर्फ पर्याप्त ध्यान नदिएको आरोप लगाउनुभयो ।

प्रधानमन्त्रीले बुधबारको प्रतिनिधि सभा बैठकमा सुरुङमा पसेको लेदो खन्ने मेसिन संसारमै नभएको अभिव्यक्ति दिएको भन्दै शाहीले त्यसप्रति समेत आपत्ति जनाउनुभयो । उद्धारका लागि आवश्यक बजेट परिचालन गर्ने अधिकार सरकारसँगै रहेको उल्लेख गर्दै उहाँले स्रोत र साधनको अभाव देखाएर उद्धारमा ढिलाइ गर्न नहुने बताउनुभयो ।

शाहीले सुरुङमा फसेका व्यक्तिका परिवारले आफ्ना आफन्तको खोजी तथा उद्धारको माग गर्दा सामाजिक सञ्जालमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता–कार्यकर्ताले व्यक्तिगत गालीगलौज र दुर्व्यवहार गरेको आरोपसमेत लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘पाँचवटा टनेलमा केही काम नै भएको छैन । हामीले माग्ने सरकारसँगै हो । हिजो नख्खुमा बग्दै गएका नागरिकलाई उद्धार गरिदिनुस् भन्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले आक्रमण गरे । रातो लुगा लगाएका एमालेका कार्यकर्ताहरू त्यसबेला हामीलाई कुट्न आउँथे । अहिले एकजना महिलाले टनेलमा फसेका श्रीमान्को खोजी गरिदिनुस् भन्दा रास्वपाका नीलो साइबर स्यालहरू उनीमाथि दुर्व्यवहारसहित गालीगलौज र आक्रमण गरिरहेका छन् ।’

शाहीले राजनीतिक आरोप–प्रत्यारोपभन्दा माथि उठेर बाढी प्रभावित नागरिकको जीवनरक्षामा सम्पूर्ण राज्य संयन्त्र परिचालन गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले सुरुङमा फसेका नागरिकको तत्काल खोजी तथा उद्धारका लागि आवश्यक सबै उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।