१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीबाट क्षतिग्रस्त सडक–पुल पुनर्निर्माणमा जोड दिन सांसद कँडेलको माग



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का सांसद प्राध्यापक डा. पुष्पराज कँडेलले १० भदौमा आएको भीषण बाढीबाट क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद कँडेलले बाढीका कारण धादिङ सदरमुकाम, नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा यातायात सम्पर्क विच्छेद हुँदा राहत वितरणमा समेत समस्या भएको बताउनुभयो ।

उहाँले धादिङको कृष्णभीर र परेवाभीरमा गएको पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग तत्काल सञ्चालनमा ल्याउन तथा आवश्यक स्थानमा वैकल्पिक मार्ग निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद कँडेलले बाढी तथा पहिरोका कारण मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा करिब १० प्रतिशतसम्म ह्रास आउन सक्ने बताउनुभयो । सरकारले चालु आर्थिक वर्षमा लिएको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नसमेत बाढी ठूलो चुनौती बनेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामीले भोगेको यो दुर्घटनाले कुल गार्हस्थ उत्पादनको १० प्रतिशत जति नोक्सान हुने स्थिति छ । सरकारले ७ प्रतिशतको आर्थिक वृद्धि दरको लक्ष्य राखेको थियो । त्यो प्राप्त हुने सम्भावना अत्यन्त न्यून हुँदै गएको स्थिति छ ।’

बाढीका कारण धादिङको तल्लो बेनीघाट, रोराङ र बुढीगण्डकी क्षेत्रमा ठूलो क्षति भएको उहाँले बताउनुभयो । बुढीगण्डकी र अन्य क्षेत्रबाट आएको बाढीका कारण कृष्णभीरमा पहिरो खसेको तथा थुप्रै पुल बगाएको उहाँले उल्लेख गर्नुभयो ।

त्यस्तै, फुर्केखोलानजिकैको परेवाभीर क्षेत्रमा समेत सडक कटान भएको भन्दै उहाँले दुई स्थानमा त्रिशूली नदीले सडक नै बगाएर लगेका कारण धादिङ सदरमुकामको यातायात सम्पर्क प्रभावित भएको बताउनुभयो ।

पुलहरू बगाउँदा नुवाकोटको ठूलो भूभाग र रसुवाका विभिन्न क्षेत्रसमेत सडक सञ्जालबाट प्रभावित भएको उहाँको भनाइ छ ।

सांसद कँडेलले विपद्पछि खोज, उद्धार तथा राहत वितरणलाई थप प्रभावकारी बनाउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसैगरी, बुढीगण्डकी आयोजना लामो समयदेखि अघि बढ्न नसकेको भन्दै उहाँले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा डिजाइन पुनरावलोकन गरी काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो । बुढीगण्डकी आयोजना अघि नबढ्दा अन्य विकास निर्माणका कामसमेत प्रभावित भइरहेको उहाँले बताउनुभयो ।




भर्खरै