काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता माधव सापकोटाले पार्टीको नाम माओवादी नराख्ने बित्तिकै माओवादी जनयुद्ध र माओवादी लिगेसी नरहने भन्ने नहुने बताउनुभएको छ ।
मंगलवार विघटित केन्द्रिय कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्राविधिक र आजको आवश्यकताअनुसारको राजनीतिक स्तरिकरण गरिएको स्पष्ट पार्नुभयो । उहाँले माओवादीहरुले माओवादको बारेमा अझ प्रखर ढंगले छलफल गर्ने बताउनु भयो । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समेत आगामी दिनमा माओको योगदान, विचारधारा र माओवादका बारेमा बहस गर्नेकुरामा सहमति जनाउनुभएको स्पष्ट पार्नुभयो । यसलाई पार्टीभित्रको आन्तरिक बहसको विषय बनाएर अघि बढ्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो प्राविधिक र आजको आवश्यकताअनुसारको पार्टीहरुको स्तरीकरण हो । माओवादी पार्टीको नाम राखेनौँ भनेर माओवादी जनयुद्ध र माओवादी लिगेसी केही रहेन भन्ने ढंगबाट व्याख्या गरिनु गलत हो । हामी माओवादीहरुले माओवादको बारेमा अझ प्रखर ढंगले छलफल गर्नुपर्छ भनेका छौँ । माधव कमरेड लगायतका एकतामा आउने घटकहरुले पनि माओको योगदान, विचारधारा र माओवादका बारेमा बहस गर्नेकुरामा सहमति जनाउनुभएको छ । यसलाई पार्टीभित्रको आन्तरिक बहसको विषय बनाएर जान्छौँ ।’
उहाँले नेपालको कम्युनिष्ट आन्दोलनको पुनःगठन र ध्रुवीकरण नयाँ शिरामा गएको दाबी गर्नुभयो ।









