२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य News Polar सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै

बालन नाच सङ्कटमा

बालन नाच सङ्कटमा
अ अ+ अ-

उदयपुर । जिल्लाको मध्य तथा पश्चिमी र पूर्वी पहाडी क्षेत्रमा ठूलो सङ्ख्यामा बसोबास गर्दै आएका ब्राह्मण तथा क्षेत्रीले विभिन्न चाडपर्व, धार्मिक कार्य, विवाह, व्रतबन्धमा परम्परागतरुपमा नृत्य गर्दै आएको सांस्कृतिक बालन नाच हिजोआज सङ्कटमा पर्न थालेको छ । केही वर्षअघिसम्म जिल्लाको पहाडी क्षेत्रलगायत क्षेत्री ब्राह्मण बसोबास गरेका गाउँमा विभिन्न धार्मिक तथा सांस्कृतिक चाडपर्वसहित विवाह, व्रतबन्धका समयमा भेला भएर बालन नाच प्रदर्शन हुने गरेको भए पनि हिजोआज यो नाचको प्रचलन नै हराउन थालेको हो । यस नाचको संरक्षण अभावको कारण यो नाच सङ्कटमा परेको हो ।

अहिलेका युवा पुस्ता बाह्य गीत, सङ्गीत र संस्कृतिमा रमाउन थाल्नु  र बालन नाचको संरक्षणमा उचित ध्यान नदिँदा यस नाच सङ्कटमा परेर लोप हुने अवस्थामा रहेकामा जिल्लाका पहाडी क्षेत्रका बूढापाका भने निकै चिन्तित बन्न थालेका छन् । रौतामाई गाउँपालिका–१ मुर्कुचीका कृष्णराज खड्का भन्नुहुन्छ, “हिजो आफूहरुको पालामा बाजे पुर्खाले परम्परागतरुपमा प्रस्तुत गर्दै आएका बालन नाचलाई निरन्तरता दिएर बचाउँदै आयौँ तर हिजोआज आफूहरु पनि बूढापाको भइयो, युवा पुस्ताले बालन नाच चटक्कै भुले ।” उहाँ सामाजिक प्रचलन, ऐतिहासिक घटनाक्रम र सांस्कृतिक पक्षलाई लयात्मक ढङ्गमा नाचिने यस नाचको संरक्षण गर्नुपर्ने खाँचो औँल्याउनुहुन्छ । 

हिजो बाजे पुर्खाको पालादेखि प्रचलनमा रहेको प्रख्यात बालन नृत्य हिजोआज दिनानुदिन लोप हुन थालेर यसको अस्तित्व नै सङ्कटमा परेकामा उदयपुरगढी गाउँपालिका नेपालटारका सोमप्रसाद खतिवडा पनि निकै दुखेसो गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “आफूहरुको पालामा गाउँघरमा सत्यनारायणको पूजा लगाउँदा होस् या विवाह, पास्नी, ब्रतबन्ध, मङ्सिरे पूर्णिमा, ठूला एकादशी, रामनवमीजस्ता पर्वमा रात्रिको समयमा बालन नृत्य गर्ने गरेका थियौँ, यस्तो कार्यले हिजो बाजे पुर्खाको पालादेखि निरन्तर अनुशरण गर्दै आएको यो सांस्कृतिक नाच हामीहरुले पनि बचाउँदै आएका थियौँ ।”

हिजोआज यस्ता पर्वमा डिस्को नृत्य हुन्छ, हिन्दी अङ्ग्रेजी गीत गुन्जन्छन्, अहिलेका पुस्ता यसैमा रमाउँदा परम्परागत बालन नाच लोप हुँदै गएको खतिवडा बताउनुहुन्छ । रौतामाई–२ भुटार नौलेका ७२ वर्षीय भीमबहादुर कार्कीका अनुसार उदयपुरको क्षेत्री, ब्राह्मण बसोबास गर्दै आएका रुपाटार, भुटार, हर्देनी, बाहुनीटार, पञ्चावती, सिरीसे, मयङ्खु, बराह, ठानागाउँ, रुपाटारसहितका बाक्लो क्षेत्रमा केही वर्षअघिसम्म पनि विभिन्न तिथि, पर्वमा बालन नाच आयोजना हुने गरेको थियो ।
 
बालन नाच जिल्लाको पहाडी क्षेत्रको कुनै पनि गाउँघरमा विभिन्न चाडपर्व तिथि मितिमा देख्न र सुन्न पनि पाउन छाडिएको कार्कीको गुनासो छ । विगतमा बालन नृत्य गर्दा धार्मिक ग्रन्थ रामायणको घटनामा आधारित भएर रामायणकै घटनाका कथावस्तुलाई गीत बनाएर पुरुषको समूहले संयुक्तरुपमा गीत गाउँदै सामूहिक नृत्य गरिने गरेको उहाँ स्मरण गर्नुहुन्छ । अन्य गीत र नृत्यको तुलनामा बालन नृत्यको रौनक नै अर्कै हुने गरेको लिम्चुङबुङ गाउँपालिका–२ बराहका ७६ वर्षीय देवीबहादुर बस्नेत बताउनुहुन्छ । हिजोआज हिन्दी तथा पाश्चात्य संस्कृतिको प्रभावका कारण आफूहरुको मौलिक परम्परामा आधारित बालन नृत्यको प्रचलन नै हराउँदै गएपछि अब यो नाच संरक्षणको अभावमा सङ्कटमा परेको धारणा उहाँ राख्नुहुन्छ । 

बालन नृत्य अहिले दिनानुदिन सङ्कटमा पर्दै र लोप हुँदै जानुको कारणबारे त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटका सहप्रध्यापक टीकाप्रसाद पौडेल भन्नुहुन्छ, “बालन नाच हिजो हाम्रा बाजे पुर्खाले हरेक चाडपर्व तथा सांस्कृतिक कार्यमा अनिवार्यरुपमा नृत्य गर्ने गरेर यसको संरक्षण गरे, तर अहिलेका पिँढीले पश्चिमी नृत्य र हिन्दी नृत्यमा तथा डिस्को नृत्यमा रमाउँछन्, अहिलेका पिँढीको नै उपेक्षाका कारण बालन नृत्य सङ्कटमा पर्न थालेको छ ।”
अर्का प्रा डा कैलाशकुमार राईका बालन नृत्य लोप हुन र सङ्कटमा पर्नबाट बचाउन नयाँ पिँढीका युवालाई बालन नृत्यसम्बन्धी प्रशिक्षण दिनुपर्नेमा जोड दिनुहुन्छ । हरेक चाडपर्वमा बालन नृत्य अनिवार्यरुपमा प्रस्तुत गर्ने हो भने हाम्रो मौलिक संस्कार र संस्कृतिको संरक्षण हुने उहाँको धारणा रहेको छ । 

विगतदेखि निकै लोकप्रिय मानिएको यो सांस्कृतिक नाच हिजोआज हराउँदै जान थालेपछि पहाडी क्षेत्रका क्षेत्री, ब्राह्मण समुदायका बूढापाका आफूहरुको पहिचान नै गुम्ला कि भन्ने बारेमा निकै चिन्तित बन्न थालेका छन् । यसको संरक्षण र सम्बद्र्धनका लागि अनिवार्यरुपमा अबका युवा पिँढीले हरेक धार्मिक संस्कृतिक चाडपर्वमा बालन नाच प्रस्तुत गर्नुपर्ने र गाउँगाउँमा यो नाचको प्रशिक्षण हुनपर्नेसमेत सरोकारवालाको धारणा छ । हरिकुमार राई/रासस