२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य News Polar सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै

मजदूरलाई घाटाको भागीदार बनाउँछन् ठेकेदार

मजदूरलाई घाटाको भागीदार बनाउँछन् ठेकेदार
अ अ+ अ-

म्याग्दी ।  भारतीय ठेकेदार जयप्रकाश एशोसियट्सले पाँच महिनादेखि ज्याला नदिएपछि रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका मजदूरले दुई दिन काम रोके ।  जिल्ला प्रशासन कार्यालय र आयोजनाको प्रवद्र्धक रघुगङ्गा हाइड्रो लिमिटेडका अधिकारीको रोहवरमा ठेकेदार र मजदूर प्रतिनिधिबीच रोकिएको ज्याला, परिचयपत्र र सुरक्षाका सामग्री दिने सहमति भएपछि गत बुधबार र बिहीबार आन्दोलनमा उत्रिएका पाँच सय  मजदूर र कर्मचारी काममा फर्किए । 

मालिका–६ दरवाङको छ्यारछ्यरेमा बहुउद्देश्यीय सभाकक्ष निर्माणमा आफू र मातहतका मजदूरको ज्याला उठाउन सहायक ठेकेदार छिरी शेर्पाले मुख्य ठेकेदार जयलक्ष्मी कन्स्ट्रक्सनविरुद्ध प्रशासन र प्रहरी कार्यालयमा गएर मौखिक उजूरी दिनुभयो । ‘‘१३ लाख रुपैयाँभन्दा बढी भुक्तानी पाउनुपर्नेमा छ लाख ४७ हजार रुपैयाँ मात्र दिइएको छ’’, उहाँले भन्नुभयो, ‘‘ठेकेदारले ज्याला माग्दा गुण्डा लगाएर कुट्ने धम्की दिएपछि प्रशासन गुहारे पनि अझै पाइएको छैन ।’’ 

बेनी–जोमसोम सडक आयोजनाको पहिलो प्याकेजको मुख्य ठेकेदार शर्मा–युनाइटेडले काममा लगाएका सहायक ठेकेदार र मजदूरहरू ज्याला माग्दै जिल्ला प्रशासन कार्यालय अगाडि नै धर्ना बसे । मजदूर आन्दोलनपछि प्रशासन र प्रहरीका पहलमा ठेकेदारले किस्ता–किस्ता गरेर रु एक करोडभन्दा बढी भुक्तानी दिएका थिए । राहुघाट, दरवाङको सभाकक्ष र बेनी–जोमसोम सडकका मजदूरहरु ठेकेदारबाट पीडित हुने र शोषणमा परेका मजदूरका प्रतिनिधि पात्र हुन् । दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका मजदूरहरु समयमा ज्याला नपाउँदा बिचल्लीमा परेका छन् । उनीहरु दोहोरो शोषणमा परेका छन् । 

‘‘हरेक अङ्ग्रेजी महिनाको पहिलो साता ज्याला दिने सहमतिमा काम गरिएको हो,’’ राहुघाटमा कार्यरत कञ्चनपुरका रामबहादुर बोहराले भन्नुभयो, ‘‘ज्याला कुर्दाकुर्दै महिनौँ बित्यो तर दिने वास्तै नगर्दा घरव्यवहार चलाउन ऋण खोज्नुपरेको छ ।’’

विभिन्न बहानामा विकास आयोजनामा ढिलासुस्ती गरेका निर्माण व्यवसायीले मजदूरहरूलाई श्रमको उचित र भनेको समयमा ज्याला नदिएर शोषण गरेको गुनासो बढ्न थालेको छ । मजदूरलाई काम गराउने तर समयमा तोकिएको ज्याला नदिने समस्या बढेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवर बताउनुहुन्छ । 

‘‘मुख्यले सहायक, सहायकले उप, उपले पेटी गरेर तल्लो तहमा ठेक्का लगाउँदा रहेछन्’’, उहाँले भन्नुभयो, “सम्झौता गरेकाहरुले भुक्तानी पाएपछि आफूभन्दा तलकालाई नदिँदा उनीहरुले काम नगरिदिने, योजना अलपत्र पार्ने र मजदूरले ज्याला नपाउने समस्या आएको छ ।’‘ सडक, भवन, सिंचाइ, खानेपानी, विद्युत्, पदमार्ग निर्माणलगायत आयोजनाका निर्माण व्यवसायीले समयमा ज्याला नदिएको गुनासो दिनहुँजसो आउने गरेको प्रनाउ कुँवरले बताउनुभयो । सरकारले तोकेको न्यूनतमभन्दा कम र भनेका समयमा ज्याला नपाएपछि अन्तिम विकल्पका रुपमा प्रहरी, प्रशासन र पत्रकार गुहार्न आउँछन् । लागत अनुमानभन्दा धेरै प्रतिशत घटेर ठेक्का हत्याएका निर्माण व्यवसायीले घाटाको भागीदार मजदूरलाई बनाउन थालेका छन् । मुख्य निर्माण व्यवसायीबाट पीडित भएका कतिपय सहायक ठेकेदार पलायन भएका छन्,  ऋण तिर्न घर, खेत बेचेका छन् ।  

जिल्ला प्रशासन कार्यालय र प्रहरीका पहलमा दुई महिनाअघि बेनी –जोमसोम सडक आयोजनाका ठेकेदारबाट ठगिएका मजदूरलाई रु १३ लाखभन्दा बढी ज्याला दिलाइएको थियो । अहिले पनि दुईतीन  मजदूर ठगिएकासम्बन्धी उजूरी प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेरोजगारीको समस्या तथा कामदारमा शिक्षा र  चेतनाको कमीले लिखित सम्झौता नगर्दा ठगिएका अवस्थामा कानूनी उपचार खोज्न समस्या भएको छ । मजदूर सङ्गठनका नाममा राजनीति गर्नेहरूले ज्याला उठाइदिएवापत कमिसन माग्ने गरेको गुनासो गरेका छन् । बेनी–जोमसोम सडक आयोजनाको मुख्य ठेकेदार युनाइटेडबाट ज्याला असुल गरिदिएवापत मजदूर सङ्गठनका नेताहरूले १० प्रतिशतका दरले कमिसन खाएको सहायक ठेकेदार मेखबहादुर गर्बुजाले बताउनुभयो । 

“ठेकेदारबाट फसेको पैसा उठाउँछौ भनेर नाम टिपेर लगेका थिए, ठेकेदारले पनि मेरो पैसा उनीहरुलाई नै दिएछन्”, उहाँले भन्नुभयो, “रु बीस लाख पाउनुपर्नेमा रु १८ लाख मात्र दिए ।” म्याग्दीमा सञ्चालित सडक, भवन, जलविद्युत्, सिंचाइ, नदी नियन्त्रण, खानेपानी, पदमार्ग निर्माण आयोजनामा काम गर्न चितवन, बर्दिया, पर्सा, बाँके, रुकुम, रोल्पा, सल्यान, प्युठानलगायत जिल्लाबाट मजदूरहरु काम गर्न आउँछन् । हाल जिल्लामा बाहिरी जिल्लाबाट आएका करीब पाँच हजार मजदूर भएको अनुमान छ । जिल्ला दर निर्धारण समितिले ज्यामीको प्रतिदिन रु नौ सय ज्याला निर्धारण गरे पनि व्यवहारमा रु सात सय पाउने गरेका हुन् । स्थानीयस्तरमा दक्ष र योग्य मजदूर नपाइने तथा महँगो हुने भएकाले बाहिरी जिल्लाबाट मजदूर ल्याएर काममा लगाउनुपरेको निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जिसी बताउनुहुन्छ । “म्याग्दी जिल्लाभित्रकै व्यवसायीले ज्याला नदिएको गुनासो छैन ”, उहाँले भन्नुभयो “बाहिरी जिल्लाका व्यवसायीले ठेक्का लिएका आयोजनामा काम गर्न बाहिरबाटै आएका मजदूरहरुको समस्या हो ।” म्याग्दीका विकास आयोजनामा १८ वर्षभन्दा कम उमेरका किशोरकिशोरीले पनि मजदूरी गरेको भेटिन्छ । काम गर्ने क्रममा उनीहरुले पञ्जा, मास्क, ज्याकेट, हेलमेट जस्ता सुरक्षा सामग्री पाउँदैनन् । 

नेपालको संविधानमा ‘समान कामको समान ज्याला’ भन्ने उल्लेख गरिए पनि म्याग्दीका श्रमिक महिलाहरू सो व्यवस्थाबारे बेखबर र सुविधाबाट वञ्चित छन् । महिला मजदूरका लागि संवैधानिक व्यवस्था कागजमै सीमित भएको बाँकेबाट कामको खोजीमा म्याग्दी आउनुभएका बुद्धिसरा मगरले बताउनुभयो । “निर्माण क्षेत्रमा काम गर्ने पुरुष कामदारले दैनिक रु सात सय देखि रु आठ सय ज्याला पाउँछन्”, उहाँले भन्नुभयो “सोही काम गर्ने महिलाहरूले भने दैनिक रु छ सयमा चित्त बुझाउनुपरेको छ ।” पछिल्लो समय पुरुषहरु वैदेशिक रोजगारीमा जाने क्रमसँगै म्याग्दीमा महिला श्रमिकको सहभागिता बढ्दै गएको छ । 

महिलाहरुले दूधे बच्चालाई काखमा च्यापेर काम गरिरहेको देखिन्छ । पुरुषका तुलनामा शारीरिक रुपमा श्रम गर्दा महिलालाई नै पीडा हुने गर्छ । कतिपय महिलालाई गर्भावस्थामा पनि ढुङगा, बालुवा बोक्ने जस्ता जोखिमयुक्त काम गरिरहेको देखिन्छ ।

महिलाले पुरुषसरह जटिल र कठिन काम गर्न नसक्ने भएकाले समान ज्यालाको व्यवस्था कार्यान्वयन गर्न नसकिएको निर्माण व्यवसायी सङ्घ म्याग्दीका कोषाध्यक्ष प्रकाश बानियाँले बताउनुभयो । ‘‘ज्याला आपसी समझदारीमा कायम हुन्छ’’, उहाँले भन्नुभयो ‘‘उनीहरूको चित्तबुझ्दो ज्याला दिएका छौँ । पुरुषसरह काम गर्नेलाई विभेद गरिएको छैन ।’’ सन्तोष गौतम रासस