२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिँडालु खेतीले उकासेको महिलाको जीवनस्तर



अ+ अ-

मध्यबिन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीकी सानुमाया तामाङले पिँडालु खेती गर्न थालेको १७ वर्ष भयो । पिँडालु खेतीबाट नै उहाँले आफ्नो घरखर्च धान्नुभएको छ । उहाँले अहिले सात कठ्ठा क्षेत्रफलमा पिँडालु खेती गर्नुभएको छ ।

यस क्षेत्रमा सिँचाइको अभाव भएका कारण धान, गहुँ, तोरीलगायतका बाली राम्रो नहुने हुँदा यहाँका अधिकांशले पिँडालु खेती गर्ने गरेको तामाङले बताउनुभयो । यस्तै अर्का किसान पूर्णमाया तामाङले पनि विगत १४ वर्षदेखि पिँडालु खेती गर्दै आउनुभएको छ । उहाँले अहिले १० कट्ठा क्षेत्रफलमा हात्ती पाउ पिँडालु लगाउनुभएको छ ।

“केही वर्ष पहिले बजारको पहुँच राम्रो नहुँदा पिँडालुसँग धान साटेर ल्याउने गरिन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले बजारीकरण भएसँगै पिँडालु बिक्री गर्नमा कुनै समस्या छैन, विभिन्न स्थानमा निर्यात हुने गरेको छ ।” पछिल्ला वर्षमा पिँडालु खेतीबाट नै रु एक लाखसम्म आम्दानी हुने गरेको कृषको भनाइ छ । पिँडालु खेतीले यहाँको समुदायलाई समूहिकरुपमा काम गर्ने परम्पराको विकाससमेत गरेको कृषक सम्झना तामाङले बताउनुभयो ।

“जुकेपानीको तामाङ टोलका २५ घरले पिँडालु खेती गरेका छौँ”, उहाँले भन्नुभयो, “सबै घरका मिलेर सामूहिकरुपमा अर्मपर्म गरेर काम गर्दा सहज हुने गरेको छ ।” यस क्षेत्रका २५ घरधुरी परिवार अहिले पिँडालु खेतीमा नै आत्मनिर्भर रहेका छन्् । तामाङ टोलमा एउटै परिवारले वार्षिक ५० क्विन्टलभन्दा धेरै पिँडालु उत्पादन गर्दै आएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो ।

“हुप्सेकोट गाउँपालिका क्षेत्र तरकारी पकेट क्षेत्रका रुपमा परिचित छ”, उहाँले भन्नुभयो, “यहाँको तरुलसँगै पिँडालुको पनि बजारमा धेरै माग देखिएको छ ।” गाउँपालिकाले कृषकलाई आवश्यक कृषि सामग्री, मल, बीउ वितरण र बजारीकरणमा सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष पाण्डेले बताउनुभयो । रासस