• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

प्रधानमन्त्रीविरूद्ध नारा लगाएका ३ युवालाई तत्काल रिहा गर्न महामन्त्री शर्माको माग



file

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालविरूद्ध नारा लगाएको आरोपमा पक्राउ परी थुनामा रहेका युवालाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन् ।

कांग्रेस महामन्त्री शर्माले गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न नमिल्ने बताएका छन् । उनले ट्वीटरमा भनेका छन् – ‘प्रधानमन्त्रीज्यू, लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन । प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुस्खद र आपत्तिजनक थियो । आफूविरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न अविलम्ब पहलको माग गर्दछु ।’

गत मंगलबार बानेश्वरमा प्रधानमन्त्री सहभागी एक कार्यक्रममा तीन जना युवाले प्रधानमन्त्रीविरूद्ध नाराबाजी गरेका थिए । सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्मालाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहार मुद्दा चलाइएको थियो ।

आइतबार जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको कसुरमा ५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो । तर धरौटी नतिरेपछि उनीहरूलाई कारागार पठाइएको छ ।