२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

छन्त्यालको ‘जिउनै गाह्रो’ सार्वजनिक



अ+ अ-

काठमाडौँ: गायिका गङ्गा छन्त्यालको ‘जिउनै गाह्रो’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले सो म्युजिक भिडियोको आज विमोचन गर्नुभयो । विमोचन कार्यक्रममा कलाकार श्रेष्ठले सुखलाई जीवन पद्धतिमा ढालेर जिउन जान्नुपर्ने बताउनुभयो ।

“अपाङ्ग भएका व्यक्तिले कति दुःख व्यहोर्नुपर्छ भन्ने कुरा मैले नजिकबाट अनुभव गरेको छु,” उहाँले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिले आफ्नो कला प्रस्तुत गरेर उदाहरणीय काम गर्नुभएको छ ।”

विमोचन कार्यक्रममा ‘इन्डिपेन्डेन्ट लिभिङ सेन्टर’का प्रमुख भोजराज श्रेष्ठ, आदिवासी जनजाति महासङ्घका केन्द्रीय सदस्य खड्ग मगर र आदिवासी जनजाति चलचित्र महासङ्घका महासचिव अमर सुनुवारले कलाकार छन्त्यालले आफ्नो म्युजिक भिडियोमा अपाङ्गता भएका व्यक्तिले भोग्नुपरेको समस्या उजागर गरेको बताउनुभयो ।

नेपाल सांस्कृतिक सङ्घका महामन्त्री रोशनी केसीले जनचेतना जगाउने खालको यस्तो म्युजिक भिडियोले अपाङ्गता भएका व्यक्तिलाई हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो ।

गायिका छन्त्यालले आफू अपाङ्गता भएको भए पनि उकाली ओराली चढेर अपाङ्गता भएका क्षेत्रमा जनचेतना जगाउने खालको काम गर्दै आएको र यो पछिल्लो भिडियोले राज्य र समाजलाई झक्झक्याउने बताउनुभयो ।