१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सीको चार सय गोल, बार्सिलोनासँगै रियल पनि विजयी



अ+ अ-

काठमाडौं । अर्जेन्टिनी स्टार लियोनल मेसीले स्पेनिस ला लिगा फुटबलमा आफ्नो चार सय गोल पूरा गरेका छन्। ‘लिग लिडर’ बार्सिलोनाले सोमबार बिहान खेलिएको खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी इबरलाई हराउँदा मेसीले पनि यो सफलता हात पारेका हुन्।

अर्को खेलमा बार्सिलोनाको चिर प्रतिद्वन्द्वी रियल म्याड्रिडले पनि रियल बेटिसलाई उसैको मैदानमा २-१ गोलले पराजित गर्‍यो। एट्लेटिको म्याड्रिडले घरेलु मैदानमा लेभान्तेलाई १-० गोलले हरायो भने एथलेटिक बिल्बाओले बलियो प्रतिद्वन्द्वी सेभिलमाथि २-० गोलको जित हात पार्‍यो।
घरेलु मैदानमा खेलिएको खेलमा बार्सिलोनाका लागि उरुग्वेका प्रभावशाली खेलाडी लुइस स्वारेजले दुई र मेसीले एक गोल गरे। खेल सुरु भएको १९औं मिनेटमा स्वारेजले बार्सिलोनालाई अग्रता दिलाएका थिए। ५३औं मिनेटमा मेसीले टोलीको अग्रता दोब्बर बनाए।

यसैगरी ५९औं मिनेटमा स्वारेजले अर्को गोल थप्दै टोलीलाई सहज जित दिलाए। मेसी ला लिगाका सर्वाधिक गोलकर्ता हुन्। ३१ वर्षीय मेसीले ला लिगामा बार्सिलोनाका लागि चार सय ३५ खेल खेल्दै चार सय गोल गरेका हुन्। मेसी ला लागिमा चार सय गोल पूरा गर्ने पहिलो खेलाडी पनि हुन्। उनी युरोपका चर्चित पाँचवटा लिगमा चार सय वा सोभन्दा बढी गोलको कोशे ढुंगा पार गर्ने दोस्रो खेलाडी पनि बनेका छन्। यी पाँच लिगमा मेसीभन्दा बढी गोल क्रिस्टियोना रोनाल्डोले गरेका छन्।

पोर्चुगिज खेलाडी रोनाल्डोले युरोपका विभिन्न लिगमा पाँच सय सात खेल खेल्दै चार सय नौ गोल गरेका छन्। ३३ वर्षीय रोनाल्डोले इङ्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा र इटालियन सिरिए खेलेर चार सय नौ गोल गरेका हुन्। रोनाल्डो हाल इटालियन सिरिए क्लब युभेन्ट्सबाट ब्यवसायिक फुटबल खेल्छन्। यद्दपि, मेसीले रोनाल्डोभन्दा ६३ खेल चाँडो चार सय गोल पूरा गरेका हुन्। स्पेनिस ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा मेसीभन्दा पछाडि रोनाल्डो छन्। ला लिगामा रोनाल्डोले रियल म्याड्रिडका लागि दुई सय ९२ खेल खेलेर तीन सय ११ गोल गरेका थिए। सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा तेस्रो स्थानमा रहेका टेल्मो जाराले दुई सय ५१ गोल गरेका छन्।

ला लिगामा मेसीसँग अन्य कीर्तिमान पनि जोडिएका छन्। ला लिगा खेलेका विभिन्न २९ वटा टोलीले हालसम्म गरेको गोलभन्दा मेसीले एक्लैले गरेको गोल बढी हुन्छ। यसैगरी मेसीले ला लिगामा हालसम्म ३७ वटा क्लबविरुद्घ गोल गरेका छन्। ला लिगामा मेसी वाहेक अन्य खेलाडीले यतिधेरै क्लबविरुद्घ गोल गर्न सकेको छैन। मेसीले ला लिगामा सेभिलविरुद्घ सबैभन्दा बढी २४ खेलमा २५ गोल गरेका छन्।

जितसँगै बार्सिलोनाले ला लिगामा पाँच अंकको अग्रता लिएको छ। १९ खेलको समाप्तिपछि बार्सिलोनाको ४३ र एट्लेटिको म्याड्रिडको ३८ अंक छ। ३३ अंकसहित सेभिल तेस्रो, समान अंक बटुलेको रियल म्याड्रिड चौथो र ३२ अंकसहित डेपोर्टिभो आल्भेस पाँचौं स्थानमा आसिन छन्।

यसैगरी रियल बेटिसविरुद्घको खेलमा रियल म्याड्रिडका लागि लुका मोड्रिचले १३औं मिनेटमा पहिलो गोल गरे। ६७औं मिनेटमा घरेलु टोली रियल बेटिसका सर्जियो कानालेसले खेललाई बराबरीमा ल्याए। निर्धारित समयको खेल सकिनुभन्दा दुई मिनेटअघि रियल म्याड्रिडका लागि डानी सेबालोसले निर्णायक गोल गरेका थिए।

यसैगरी लेभान्तेविरुद्घको खेलमा एट्लेटिको म्याड्रिडका लागि ५७औं मिनेटमा एन्टोइन ग्रिजम्यानले निर्णायक गोल गरेका थिए। ग्रिजम्यानले पेनाल्टीमार्फत गोल गरेका हुन्। सेभिलविरुद्घको खेलमा भने घरेलु टोली एथलेटिक बिल्बाओका लागि दुबै गोल इनाकी विलियम्सले गरेका थिए। समाचार अन्नपूर्ण पोष्टमा छ ।