३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

लोमान्थाङमा यार्तुङ पर्वको रौनक

लोमान्थाङमा यार्तुङ पर्वको रौनक
अ+ अ-

मुस्ताङ, २ भदौः उपल्लो मुस्ताङको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक यार्तुङ पर्व लोमान्थाङमा सुरु भएको छ । लोमान्थाङ गाउँपालिकाको आयोजना तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङको सहकार्यमा पर्व सुरु भएको हो ।

खेतीपातीको काम सकिएपछि स्थानीयवासी फुर्सदिला हुने समयमा मनाइने यार्तुङ धार्मिक तथा सांस्कृतिक पर्वका रुपमा स्थापित छ । ‘यार’को अर्थ बर्खा र ‘तुङ’को अर्थ मनाउनु भन्ने स्थानीय बुझाइ छ । यो पर्व उपल्लो मुस्ताङमा पुस्तौँदेखि मनाउँदै आएको जनविश्वास छ ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकादेखि उपल्लो मुस्ताङसम्मका स्थानीयले यार्तुङलाई विशेष पर्वका रूपमा हर्षोल्लासका साथ मनाउने गर्छन् । पर्वमा घोडा दौड, स्थानीय नाचगान, खानपान तथा विभिन्न सांस्कृतिक गतिविधि हुने गर्छन् ।

लोमान्थाङमा आयोजित पर्वको पहिलो दिन मुस्ताङी २६ औँ सांस्कृतिक राजा जिग्मे परवल विष्टको उपस्थितिमा कार्यक्रम सुरु गरिएको थियो । तीन दिनसम्म चल्ने पर्वको दोस्रो दिन मङ्गलबार मुस्ताङी सांस्कृतिक राजा रानीको उपस्थितिमा कार्यक्रम हुने तथा अन्तिम दिन लोमान्थाङका विभिन्न गुम्बाका लामाको उपस्थितिमा धार्मिक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

लोमान्थाङ–५ का वडाध्यक्ष लाक्पा वाङ्दी गुरुङका अनुसार यार्तुङ पर्वको पहिलो दिन मुस्ताङी सांस्कृतिक राजाको भूमिका महत्वपूर्ण हुन्छ ।

पर्वको पहिलो दिन लोमान्थाङ बजार क्षेत्रबाट करिब दुई किलोमिटर दूरीमा घोडा दौड आयोजना गरिएको थियो । घोडा दौडका क्रममा स्थानीय चार समाजले बाटोमा राखेका मिठो रोटी, याकको टाउकोको आकृति, प्लास्टिकका ऐना र च्याङ्ग्राको खुर ढुङ्गाले हानेर फुटाउने सांस्कृतिक चलनसमेत प्रदर्शन गरिएको स्थानीय भिछिरिङ गुरुङले जानकारी दिनुभयो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार उपल्लो मुस्ताङको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा रहेको यार्तुङको संरक्षण तथा प्रवर्द्धनका लागि गाउँपालिका र एक्यापले संयुक्त रूपमा आयोजना तथा व्यवस्थापनमा सहयोग गर्दै आएका छन् ।

पछिल्लो समय युवा विदेशिनेक्रम बढेकाले स्थानीय परम्परा र संस्कृति संरक्षण गर्न पर्वलाई व्यवस्थित र सभ्य रूपमा मनाउन जोड दिइएको उहाँको भनाइ छ ।

यार्तुङ पर्वको पहिलो दिन स्वदेशी तथा विदेशी पर्यटक लोमान्थाङ पुगेर पर्वको अवलोकन गरेका थिए । पर्वका अवसरमा विदेशी पर्यटकको उपस्थिति बढेको स्थानीयले बताएका छन् ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्रदेखि माथिल्लो क्षेत्रसम्म मनाइने विभिन्न चाडपर्वमा घोडाचढी संस्कृति महत्वपूर्ण मानिन्छ । यस पर्वको विशेषता भनेकै घोडादौड हो । घोडचढीबिना स्थानीय चाडपर्व अपूरो हुने स्थानीय भिछिरिङ गुरुङले बताउनुभयो ।

यार्तुङ पर्वको दोस्रो दिन घोडा दौड प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । घोडा दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु दुई लाख ५० हजार, रु एक लाख ५० हजार र रु एक लाख पुरस्कार प्राप्त गर्नेछन् ।रासस