१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरपालिकामा अनौठो रैनक : सडक सफा गर्ने ब्रुमर, उज्यालो बनाउन ‘मेयर उज्यालो कार्यक्रम’



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी फागुन महीनाभित्र सडक सफा गर्ने ब्रुमर ल्याउने भएको छ । कामपाले आज पत्रकार सम्मेलनमा आगामी फागुन महीनाभित्र ब्रुमर (यान्त्रिक कुचो) ल्याइसक्ने जानकारी गराएको हो ।

कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार रु १२ करोडमा पाँच बु्रमर इटलीबाट ल्याइनेछ । हाल कामपामा प्रयोगमा रहेको एक र मर्मत गर्नुपर्ने दुई ब्रुमर छन् ।

कार्यक्रममा मनोहरा खोला आसपासको जग्गा एकीकरणअन्तर्गत नदीको दायाँबायाँ पर्खाल लगाउने काम भइरहेको, उक्त स्थानका ६१ ग्यारेजलाई हट्न निर्देशन दिइएको र कमलपोखरी पुनःनिर्माणका लागि बोलपत्र आह्वान प्रक्रियामा गएको पनि जानकारी गराइएको थियो ।

कामपामा सबै वडा कार्यालयको आफ्नै भवन बनाउन चालू आर्थिक वर्षमा रु २५ करोड बजेट विनियोजन गरिएको छ । वडा नं ६ र ७ को भवन निर्माणाधीन अवस्थामा रहेको तथा वडा नं १८ र २६ को हालै शिलान्यास भएको छ । वडा नं ४, ८, ९ र १४ को कार्यालय भवन निर्माणका लागि खरीद प्रक्रियामा पुगेको प्रवक्ता डङ्गोलले जानकारी दिनुभयो ।

‘मेयर उज्यालो कार्यक्रम’अन्तर्गत सबै वडाबाट आठ हजार ५०० थान बत्तीको माग भएकामा ६५० थान बत्ती जडान भइसकेको छ । आकाशे पुल निर्माणका लागि चालु आवमा रु १२ करोड बजेट छुट्याइएको छ । दुई स्थानान्तरण गर्न सकिने आकाशे पुलको डिजाइन तयार भइसकेको र निर्माणको चरणमा रहेको छ ।