काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तह र जिल्ला तहको अधिवेशन सम्पन्न गरेपछि सातवटै प्रदेशको अधिवेशनको तयारी अघि बढाएको छ ।
राप्रपाले सातै प्रदेशको अधिवेशन एकैदिन असोज २१ गते गर्ने भएको हो । अधिवेशन सम्पन्न गर्न केन्द्रीय निर्वाचन समितिले सातवटै प्रदेशमा केन्द्रीय निर्वाचन प्रतिनिधि समेत तोकेको छ ।
निर्वाचन समितिका अनुसार कोशी प्रदेशमा निर्वाचन समिति सदस्य भरत पाठक, मधेस प्रदेशमा राजाराम श्रेष्ठ, बागमती प्रदेशमा प्रा.डा. जयन्तनाथ खनाल, गण्डकी प्रदेशमा अमृत पुडासैनीलाई केन्द्रीय निर्वाचन प्रतिनिधि तोकिएको छ ।
त्यस्तै, लुम्बिनी प्रदेशमा निर्वाचन समितिका अध्यक्ष तोरणबहादुर गुरुङ, कर्णाली प्रदेशमा निर्वाचन समिति सदस्य रमानन्द न्यौपाने तथा सुदूरपश्चिम प्रदेशमा निर्वाचन समितिका सदस्य–सचिव श्यामबहादुर शाहीलाई केन्द्रीय निर्वाचन प्रतिनिधिको जिम्मेवारी दिइएको छ ।
राप्रपाले प्रदेश अधिवेशनमार्फत प्रदेश तहका नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको जनाएको छ ।








