काठमाडाैँ । नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य डा. भीष्म अधिकारीले विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न पार्टी सकारात्मक हुनुपर्ने बताउनुभएको छ ।
पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै अधिकारीले वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसायका कारण ठूलो संख्यामा नेपाली विदेशमा रहेकाले उनीहरूका मागप्रति पार्टी गम्भीर हुनुपर्ने बताउनुभयो ।
उहाँले विदेशमा बस्ने नेपालीलाई वंशजको नागरिकता दिनेसम्बन्धी विषयमा पार्टी सकारात्मक हुनुपर्ने धारणा राख्नुभयो । पछिल्लो निर्वाचनमा डायस्पोरामा रहेका नेपालीले घर–घरमा प्रभाव पारेको उल्लेख गर्दै उहाँले त्यसको परिणामलाई ध्यानमा राखेर उनीहरूसँगको सम्बन्ध सुधार गर्नुपर्ने बताउनुभयो ।
वैदेशिक रोजगारी अवसरसँगै चुनौती पनि रहेको भन्दै अधिकारीले यसका सकारात्मक र नकारात्मक दुवै पक्षबारे पार्टीले विश्लेषण गर्नुपर्ने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय बसाइँसराइ र त्यसले नेपालको घरेलु राजनीतिमा पार्ने प्रभावबारे गहिरो अध्ययन आवश्यक रहेको धारणा राख्नुभयो ।
विदेशमा रहेका नेपालीले स्थानीय तहको राजनीतिमा पार्ने प्रभाव आगामी दिनमा रोकिएर जाने नभई थप बढ्ने देखिएको भन्दै अधिकारीले यस विषयमा एमालेभित्र व्यापक बहस हुनुपर्ने बताउनुभयो ।








