काठमाडाैँ । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार काठमाडौँ महानगरपालिका–१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका लागि बोर्डको अध्यक्षमा नियुक्त गरिएको हो।
नवनियुक्त अध्यक्ष श्रेष्ठले बुधबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो।
शपथपछि सञ्चारमन्त्री तिमिल्सिनाले विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन र सुधारका लागि परिणाममुखी ढङ्गले काम गर्न अध्यक्ष श्रेष्ठलाई निर्देशन दिनुभयो। उहाँले विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउन बोर्डले आफ्नो अधिकार र जिम्मेवारीअनुसार प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।
मन्त्री तिमिल्सिनाले विज्ञापन बोर्डको आवश्यकता, औचित्य र स्वीकार्यता थप स्थापित हुने गरी कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। बोर्डको वर्तमान अवस्था, समस्या, अवसर र सम्भावनाको समीक्षा गर्दै सुधारका स्पष्ट योजनासहित अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।
विद्यमान कानुन तथा नियमको प्रभावकारी कार्यान्वयन हुन नसक्नु बोर्डको प्रमुख चुनौती रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले बोर्डले आफ्ना कमजोरी पहिचान गरी सुधार गर्नुपर्ने बताउनुभयो। लोककल्याणकारी विज्ञापन वितरणलाई वैज्ञानिक, वस्तुनिष्ठ, पारदर्शी र विधिसम्मत बनाउनुपर्नेमा समेत उहाँले जोड दिनुभयो।
लोककल्याणकारी विज्ञापन वितरणमा पारदर्शिताको विषयमा महालेखापरीक्षकको कार्यालयले समेत प्रश्न उठाउँदै आएको सन्दर्भ उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले सार्वजनिक स्रोतको पारदर्शी र प्रभावकारी उपयोग सुनिश्चित गर्नुपर्ने बताउनुभयो।
नवनियुक्त अध्यक्ष श्रेष्ठले विज्ञापनसम्बन्धी नीति, ऐन तथा कानुनको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो। सुशासन र नागरिकलाई सहज सेवा प्रवाहलाई केन्द्रमा राख्दै विज्ञापन क्षेत्र सुधारका लागि नयाँ कार्ययोजना बनाएर अघि बढ्ने उहाँले बताउनुभयो।
नेपाल विज्ञापन संघका पूर्वअध्यक्षसमेत रहनुभएका श्रेष्ठसँग विज्ञापन तथा सञ्चार क्षेत्रमा लामो अनुभव छ। उहाँले काठमाडौँस्थित किङ्ग्स कलेज र डन बोस्को कलेजलगायत शैक्षिक संस्थामा प्राध्यापनसमेत गर्नुभएको छ।








