काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले भोटेकोशी, सुनकोशी र त्रिशूलीको बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकलाई ‘मृतकसरह’ कानुनी मान्यता दिन सरकारसँग माग गर्नुभएको छ ।
बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले बेपत्ता नागरिकका परिवारले राहत पाउन नसकेको तथा दैनिक आर्थिक र कानुनी कारोबारसमेत प्रभावित भएकाले तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
प्रमुख सचेतक दुलालले बेपत्ताका परिवारले पटक–पटक मृतकसरह कानुनी हैसियत दिन माग गर्दै आए पनि त्यसतर्फ पर्याप्त पहल नभएको बताउनुभयो । उहाँले बेपत्ता नागरिकका परिवारलाई राहत उपलब्ध गराउने तथा उनीहरूको आर्थिक कारोबार सहज बनाउने व्यवस्था तत्काल गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरी, मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा देखिएको भनिएको सिन्डिकेटप्रति पनि दुलालले आपत्ति जनाउनुभयो । उहाँका अनुसार १ हजार १ सयभन्दा बढी म्यानपावर कम्पनी रहेको अवस्थामा मलेसिया जाने श्रमिकका लागि २५ वटा कम्पनीलाई मात्र रोजगारदाता छनोटको अधिकार दिने व्यवस्था सार्वजनिक भएको छ ।
प्रधानमन्त्रीले यस विषयमा मलेसियाली समकक्षीसँग असन्तुष्टि व्यक्त गरिसकेको भए पनि व्यवहारमा सिन्डिकेट कायमै रहनु गम्भीर विषय भएको उहाँले बताउनुभयो ।
दुलालले सम्बन्धित मन्त्रालयले कूटनीतिक पहल गरी उक्त व्यवस्था तत्काल खारेज गर्न र सबै म्यानपावर कम्पनीले प्रतिस्पर्धात्मक रूपमा नेपाली श्रमिक पठाउन पाउने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गर्नुभयो ।








