काठमाडौँ: इन्द्रजात्राको सुरुवातसँगै हनुमानढोका परिसरमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन्। ‘द लोकल्स काठमाडौँ’को आयोजनामा विभिन्न सांस्कृतिक समूहका कलाकारले बाँसुरी, सुपर मम, धिमे नाचलगायतका सांस्कृतिक प्रस्तुति दिएका छन्।
कार्यक्रममा कलाकारहरूले परम्परागत कला, संगीत तथा नृत्यमार्फत काठमाडौँको मौलिक संस्कृति प्रस्तुत गरेका थिए।
इन्द्रजात्राका लागि सजाइएको हनुमानढोका दरबार क्षेत्र, कुमारीघर आसपासका मठमन्दिरमा सजाइएका स्वागतद्वार, परम्परागत बाजागाजाको धुन तथा जात्रा अवलोकन गर्न भेला भएका सर्वसाधारणको उपस्थितिले काठमाडौँको सांस्कृतिक वातावरण थप जीवन्त बनेको छ।
इन्द्रजात्रा काठमाडौँ उपत्यकाको नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व हो। धार्मिक आस्था, स्थानीय परम्परा र सामाजिक सम्बन्धसँग जोडिएको यो जात्रा पुस्तौँदेखि निरन्तर मनाइँदै आएको छ। यस अवसरमा कुमारी, गणेश र भैरवको रथयात्रा, विभिन्न देवीदेवताका नाच तथा अन्य परम्परागत सांस्कृतिक गतिविधि मुख्य आकर्षणका रूपमा रहने गर्छन्।
नेवार समुदायमा विशेष महत्त्व राख्ने इन्द्रजात्रा काठमाडौँ उपत्यकासहित ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायतका स्थानमा पनि परम्परागत रूपमा मनाइन्छ। जात्राका क्रममा हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याउने परम्परा छ। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गर्ने तथा त्यसको प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्राको विशेष महत्त्व रहेको छ।
तस्बिर: नेपाल फोटो सर्भिस (NPS)





















