काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद्मा प्रस्तुत गर्न बाँकी रहेका दर्ता विधेयकहरूलाई असोज १६ गतेभित्र सम्बन्धित समितिमा पठाउने गरी काम अघि बढाउने विषयमा परामर्श गरेको छ ।
सभामुख डोलप्रसाद (डीपी) अर्यालको सभापतित्वमा बसेको बैठकमा प्रतिनिधि सभामा प्रस्तुत गर्न बाँकी दर्ता विधेयकको संख्या ठूलो रहेकाले ती विधेयकलाई सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाउने गरी कार्यसम्पादन अघि बढाउने विषयमा छलफल भएको हो ।
विधेयकहरूलाई निर्धारित समयभित्र समितिमा पठाएर संसदीय कामकारबाहीलाई प्रभावकारी रूपमा अघि बढाउन असोज ८ र १२ गतेसमेत प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने विषयमा समितिले परामर्श गरेको छ ।
बैठकले २०८३ असोज ७ देखि १६ गतेसम्मको सम्भावित कार्यतालिकामा उपलब्ध समय र कार्यभारलाई व्यवस्थापन गर्दै बाँकी विधेयक तथा अन्य संसदीय कामकारबाही अघि बढाउने सम्बन्धमा समेत परामर्श गरेको छ ।








