१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित News Polar खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने News Polar सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत गर्‍यो News Polar दुई मन्त्रालयको कार्यवाहक जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई News Polar बाढीपीडितको मनोसामाजिक स्वास्थ्यमा राहत : ८० जनालाई ‘एकदिने कल्याणकारी भ्रमण’ News Polar नेपाली समुदायलाई सेवा दिन एनआरएनए पोर्चुगलको कार्यालय लिस्बोनमा सञ्चालन News Polar यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान News Polar बजारमा कृत्रिम अभाव रोक्न आयातका नीतिगत झन्झट हटाउन संसदीय समितिको जोड News Polar ग्यास हाम्रो नियन्त्रणमा छैन, चामल आयात हुन नसके मकै उत्पादन गरेर किन नखाने ?- मन्त्री साह News Polar औद्योगिक वातावरण बनाउन कानुनी र प्रशासनिक अड्चन तत्काल हटाइन्छ : मन्त्री साह

बाढीपीडितको मनोसामाजिक स्वास्थ्यमा राहत : ८० जनालाई ‘एकदिने कल्याणकारी भ्रमण’

बाढीपीडितको मनोसामाजिक स्वास्थ्यमा राहत : ८० जनालाई ‘एकदिने कल्याणकारी भ्रमण’
अ अ+ अ-

काठमाडौँ, २० असोज । रसुवा जिल्लाको भोटेकोशी नदीमा २०८३ साल भदौ १० गते आएको विनाशकारी आकस्मिक बाढीबाट विस्थापित भई काठमाडौँको स्वयम्भूस्थित नुब्री गुम्बालगायतका आश्रयस्थलमा बसिरहेका आमाछोदिङ्मो गाउँपालिकाका बाढी प्रभावित परिवारका लागि रेन्बो भोलेन्टियर क्लबले ‘एकदिने सामुदायिक मनोसामाजिक तथा कल्याणकारी भ्रमण कार्यक्रम’ आयोजना गरेको छ।

बाढीपछि प्रभावित परिवारहरू काठमाडौँका विभिन्न अस्थायी होल्डिङ सेन्टरमा बस्दै आएका छन्। स्थानीय गुम्बाहरूको सहयोगमा निःशुल्क आवासको व्यवस्था गरिएका ती आश्रयस्थलमा उनीहरूलाई करिब तीन महिनासम्म बसोबासको सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ।

प्रारम्भिक चरणमा खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक राहत सामग्री उपलब्ध भए पनि लामो समयसम्म अस्थायी बसोबासमा रहनुपर्दा प्रभावित परिवारमा मनोसामाजिक समस्या देखिन थालेको बाढी प्रभावित समुदायका स्वयंसेवक सोनाम रेन्जेन तामाङले बताउनुभयो।

सीमित स्थानमा बस्नुपर्ने अवस्था, नियमित कामको अभाव, सामाजिक अन्तरक्रियाका कम अवसर तथा दैनिक जीवनमा आएको परिवर्तनका कारण धेरै प्रभावित व्यक्तिले एक्लोपन, दिक्दारी र मानसिक थकान अनुभव गरिरहेको उहाँको भनाइ छ।

रेन्बो भोलेन्टियर क्लबले स्वयम्भू आसपासका विभिन्न होल्डिङ सेन्टरमा गरेको स्थलगत अवलोकनका क्रममा प्रभावित व्यक्तिहरूले आफूहरू रसुवाका हिमाली तथा दुर्गम क्षेत्रमा वर्षौँदेखि बस्दै आएको र हाल करिब एक महिनादेखि काठमाडौँमा बसिरहेको बताएका थिए। केहीले काठमाडौँ पहिलोपटक देखेको वा निकै कम भ्रमण गरेको अनुभवसमेत सुनाएका थिए।

उनीहरूका अनुसार गुम्बामा आश्रय लिएपछि अधिकांश समय खाना खाने, आराम गर्ने र प्रतीक्षा गर्ने काममै बितिरहेको छ। त्यसैले केही समयका लागि होल्डिङ सेन्टरबाहिर निस्केर फरक वातावरणमा समय बिताउने अवसरले मानसिक स्वास्थ्य र मनोबल सुधारमा सकारात्मक प्रभाव पार्ने समुदायका प्रतिनिधिहरूले बताएका छन्।

यही सन्दर्भमा रेन्बो भोलेन्टियर क्लबले बाढी प्रभावित परिवारका लागि साना समूहमा आधारित एकदिने सामुदायिक मनोसामाजिक तथा कल्याणकारी भ्रमण कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रममा सहभागी एक व्यक्तिले होल्डिङ सेन्टरको सीमित वातावरणले आफूहरूलाई मानसिक रूपमा निकै प्रभावित बनाएको बताउनुभयो। उहाँले भन्नुभयो, “होल्डिङ सेन्टरको चार पर्खालभित्र थुनिएर बस्दा हामीलाई जेलमै परेको जस्तो उकुसमुकुस भएको छ। तर हामी विवश छौँ। दिन कटाउने र बस्नेबाहेक अरू कुनै विकल्प छैन। दिनभर खाने र सुत्नेबाहेक कुनै काम नै छैन, जसले बाढीको पीडालाई अझ बढाएको छ।”

रेन्बो भोलेन्टियर क्लबले आफूहरूको जीवनमा आशाको किरण बनेर आएको उल्लेख गर्दै उहाँले नयाँ वातावरणमा घुम्ने, नयाँ कुरा हेर्ने, सामूहिक भोजन गर्ने तथा कला र सिर्जनात्मक गतिविधिमा सहभागी हुने अवसरले निराशालाई खुसीमा बदल्न सहयोग गरेको बताउनुभयो।

“उहाँहरूले हामीलाई आफ्नै कार्यालयमा लगेर मायापूर्वक खाना खुवाउनुभयो, कला तथा सृजनात्मक क्रियाकलापमा सहभागी गराउनुभयो र काठमाडौँका मुख्य–मुख्य ठाउँ घुमाएर हाम्रो मनोबल उच्च बनाउनुभयो,” उहाँले भन्नुभयो, “विस्थापित भएर टोलाएका हाम्रा आँखामा पुनः मुस्कान र आशा फर्काउन उहाँहरूले दीप प्रज्वलन कार्यक्रममा समेत सहभागी गराउनुभयो। म हृदयदेखि नै अत्यन्त खुसी र आभारी छु।”

रेन्बो भोलेन्टियर क्लबका अध्यक्ष मदन पौडेलले प्रारम्भिक राहतसँगै प्रभावित परिवारको मनोसामाजिक अवस्थालाई पनि प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।

“प्रारम्भिक चरणमा खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक राहत सामग्रीको व्यवस्था भए पनि लामो समयसम्म अस्थायी बसोबासमा रहनुपर्दा प्रभावित परिवारमा मनोसामाजिक समस्या देखिन सक्छ,” उहाँले भन्नुभयो।

सीमित स्थानमा बस्नुपर्ने अवस्था, नियमित कामको अभाव, सामाजिक अन्तरक्रियाका कम अवसर तथा दैनिक जीवनमा आएको परिवर्तनले प्रभावित व्यक्तिमा एक्लोपन, दिक्दारी र मानसिक थकान बढाउन सक्ने उहाँको भनाइ छ।

“राहत वितरणभन्दा माथि उठेर केही नयाँ र रचनात्मक पहल गर्नुपर्छ भन्ने सोचका साथ यो एकदिने सामुदायिक मनोसामाजिक तथा कल्याणकारी भ्रमण कार्यक्रम सञ्चालन गरेका हौँ,” अध्यक्ष पौडेलले भन्नुभयो।

चीनकी रेन्बो भोलेन्टियर क्लबकी स्वयंसेविका मा खोइ छीङले सामाजिक सञ्जालमा रसुवा बाढीका भिडियो हेर्दा आफू निकै डराएको बताउनुभयो। त्यसको भोलिपल्टै नेपाल आएर नुवाकोट तथा रसुवाका बाढी प्रभावित क्षेत्रको अवलोकन गरेको उहाँले बताउनुभयो।

विभिन्न स्थानमा राहत सामग्री वितरणमा सक्रिय रूपमा सहभागी हुँदा सुरुमा खाद्यान्न, लत्ताकपडा र अन्य आवश्यक सामग्री उपलब्ध गराउनु नै प्रभावित परिवारलाई सहयोग गर्ने सबैभन्दा महत्वपूर्ण माध्यम हो भन्ने लागेको भए पनि होल्डिङ सेन्टरमा प्रभावित परिवारसँग प्रत्यक्ष भेटेपछि उनीहरूको आवश्यकता भौतिक सामग्रीमा मात्र सीमित नरहेको महसुस भएको उहाँले बताउनुभयो।

“लामो समयदेखि विस्थापित जीवन बिताइरहेका मानिसमा देखिएको एक्लोपन, चिन्ता, अनिश्चितता र मानसिक थकानले मलाई निकै भावुक बनायो,” उहाँले भन्नुभयो, “आजको कार्यक्रममा उनीहरूसँगै सहभागी हुँदा उनीहरूको अनुहारमा देखिएको मुस्कान, आपसी कुराकानी, हाँसो र उत्साहले मेरो मनलाई गहिरो रूपमा छोयो।”

रेन्बो भोलेन्टियर क्लबका अनुसार कार्यक्रमको उद्देश्य मनोरञ्जन प्रदान गर्नु मात्र नभई प्रभावित व्यक्तिलाई सामाजिक अन्तरक्रिया, शारीरिक सक्रियता, मानसिक विश्राम तथा सामान्य दैनिकीको अनुभूति दिलाउनु हो। साथै, समुदायबीच आपसी सहयोग र सम्बन्ध सुदृढ गर्दै भावनात्मक सहारा प्रदान गरी विपद्पछिको पुनःस्थापनामा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

श्री बौद्धनाथ क्षेत्र विकास समितिका सदस्य विशाल लामाले बाढी प्रभावित व्यक्तिलाई बौद्धनाथ स्तूप परिसरमा स्वागत गर्दै विपद्को यस विकराल अवस्थाको सबैले मिलेर सामना गर्नुपर्ने बताउनुभयो। उहाँले भगवान् बुद्धको कृपाले आगामी दिन अनुकूल हुने विश्वास व्यक्त गर्न आग्रह गर्नुभयो।

रसुवा बाढीबाट प्रभावित व्यक्तिका लागि आयोजित कार्यक्रममा वृद्धवृद्धा, एकल महिला तथा बालबालिकासहित ८० जनाको प्रत्यक्ष सहभागिता थियो। कार्यक्रमको प्रभावकारी सञ्चालनका लागि आमाछोदिङ्मो गाउँपालिकाका १० जना स्थानीय स्वयंसेवकसमेत परिचालन गरिएको रेन्बो भोलेन्टियर क्लबले जनाएको छ।

भ्रमणका क्रममा सहभागीहरूले काठमाडौँका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलको अवलोकन गर्नुका साथै आपसी अन्तरक्रिया, सामूहिक भोजन तथा मनोरञ्जनात्मक गतिविधिमार्फत केही समयका लागि विपद्को पीडाबाट बाहिर निस्कने अवसर पाएका थिए।

कार्यक्रमको अन्त्यमा सहभागीहरू बौद्धनाथ स्तूप परिसरमा भेला भई रसुवा बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिको सम्झनामा मौनधारण गरेका थिए। बाढीमा ज्यान गुमाएका तथा अझै बेपत्ता रहेका व्यक्तिको सम्मान र स्मृतिमा दीप प्रज्वलनसमेत गरिएको थियो।

हिमाली बौद्ध परम्पराअनुसार दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै विपद्बाट प्रभावित सम्पूर्ण परिवारको सुख, शान्ति, स्वास्थ्य तथा कल्याणको प्रार्थनासहित सामूहिक मोन्लम (प्रार्थना सभा) समेत आयोजना गरिएको थियो।

रेन्बो भोलेन्टियर क्लबले सुरक्षित, सम्मानजनक र सकारात्मक वातावरणमा केही समय बिताउने अवसर प्रदान गर्दा बाढी प्रभावित परिवारको मनोसामाजिक स्वास्थ्य, आत्मबल र सामुदायिक एकता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।