काठमाडौं । स्वीफ्ट टेक्नोलोजीले आइएमई ग्रुप सिनर्जी कप २०८३ को उपाधि जितेको छ। काठमाडौंस्थित धन्वन्तरी फुटसल मैदानमा भएको फाइनलमा स्वीफ्ट टेक्नोलोजीले आइएमई वारिएरलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।
आइएमई ग्रुपअन्तर्गत रहेका १८ कम्पनीको सहभागिता रहेको प्रतियोगितामा स्वीफ्ट टेक्नोलोजीले लगातार पहिलो उपाधि रक्षा गरेको हो। उपाधिसँगै स्वीफ्ट टेक्नोलोजीले नगद एक लाख रुपैयाँ प्राप्त गरेको छ। दोस्रो भएको समूहले ५० हजार तथा तेस्रो हुने समूहले ३५ हजार रुपैयाँ प्राप्त गरेका छन्।
प्रतियोगिताअन्तर्गत पहिलो खेल आइएमई ग्रुप म्यानेजमेन्ट समूह र ग्रुपअन्तर्गतका कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बीच भएको थियो। उक्त खेलमा आइएमई ग्रुप म्यानेजमेन्ट समूहले २–० को जित निकालेको थियो।
प्रतियोगिताको उद्घाटनका क्रममा आइएमई ग्रुपका संस्थापक अध्यक्ष चन्द्रप्रसाद ढकालले सिनर्जी कपले ग्रुपअन्तर्गतका कर्मचारीबीच आपसी सौहार्दता र सहकार्य बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
त्यस्तै, ट्रफी हस्तान्तरण गर्दै आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले प्रतियोगितामा सहभागी सबै समूहले उत्कृष्ट प्रदर्शन गरेको बताए। उनले आगामी वर्षको प्रतियोगितामा थप उत्साह र ऊर्जाका साथ सहभागिता जनाउन सबै समूहलाई शुभकामना दिए।
आइएमई ग्रुपले पहिलोपटक आयोजना गरेको सिनर्जी कप २०८३ को डिसहोमअन्तर्गत एक्सन स्पोर्ट्स एचडी वान टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।








