काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपद्मा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउन विद्यमान कानुनी व्यवस्था बाधक बनेको भन्दै कानुन संशोधन गर्न सरकारसँग माग गर्नुभएको छ ।
सोमबार सिंहदरबारमा प्रधानमन्त्रीसँग भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै आङदेम्बेले विपद् प्रभावित क्षेत्रलाई ‘विशिष्ट अवस्था’ मानी पीडितलाई तत्काल राहत, बीमा तथा सम्पत्ति नामसारीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
उहाँले रसुवाको भोटेकोशी तथा गण्डकी प्रदेशमा बाढीबाट भएको जनधनको क्षतिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै उद्धार तथा पुनःस्थापनाका कामलाई तीव्रता दिन आग्रह गर्नुभयो ।
बेपत्ता व्यक्तिलाई कानुनी रूपमा मृत घोषणा गर्न १२ वर्ष कुर्नुपर्ने व्यवस्थाका कारण विपद् प्रभावित परिवार थप समस्यामा परेको भन्दै आङदेम्बेले विशेष परिस्थितिलाई ध्यानमा राखेर कानुनी जटिलता तत्काल समाधान गर्नुपर्ने बताउनुभयो ।
रसुवाको गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाका विभिन्न वडा सडक सञ्जालबाट टुटेको उल्लेख गर्दै उहाँले तत्काल बेलीब्रिज निर्माण तथा आवश्यक बजेट व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
आङदेम्बेले प्रधानमन्त्री विदेश भ्रमणबाट फर्किएपछि संसद्मा उपस्थित नभएको विषयमा समेत असन्तुष्टि जनाउनुभयो । हालैको संयुक्त राष्ट्रसंघीय महासभामा नेपालले उठाएका विषयलाई अन्तर्राष्ट्रियकरण गर्न र कूटनीतिक रूपमा थप बलियो बनाउन प्रधानमन्त्रीले संसद्मा जानकारी गराउनुपर्ने उहाँको भनाइ थियो ।
सञ्चार तथा पूर्वाधारसम्बन्धी सहकार्यलाई त्रिदेशीय सीमामा मात्र सीमित नगरी हिन्दुकुश क्षेत्रका सबै मुलुकसँग विस्तार गर्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो ।
नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा उम्मेदवारीका विषयमा भने विभिन्न अनुमान सार्वजनिक भए पनि अन्तिम निर्णय भइनसकेको आङदेम्बेले बताउनुभयो । पदाधिकारी तहमा छलफल गरेर सहमतिका आधारमा उम्मेदवारी टुंगो लगाई महाधिवेशनमा अघि बढ्ने उहाँको भनाइ थियो ।








