काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहले प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई आफ्नो ज्ञान, सीप र अनुभव मुलुकको विकासमा अधिकतम उपयोग गर्न आग्रह गर्नुभएको छ।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा दीर्घकालीन नीति निर्माण र नयाँ विचारमा केन्द्रित हुन आग्रह गर्नुभयो।
प्रधानमन्त्री शाहले भन्नुभयो, “तपाईंहरू आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्।”
उहाँले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई समेत प्राथमिकता दिन सुझाव दिनुभयो। निर्वाचन तथा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि आफ्नो प्राविधिक ज्ञान र दक्षतामा केन्द्रित हुन उहाँले आग्रह गर्नुभयो।
प्रधानमन्त्री शाहले सांसदहरूलाई ‘असाधारण’ व्यक्तिका रूपमा उल्लेख गर्दै त्यस्ता व्यक्तिले नयाँ उपाय र विचार ल्याएर त्यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभयो। नयाँ सोच र प्रभावकारी काममा केन्द्रित हुन सके पाँच वर्षमै मुलुकमा उल्लेखनीय परिवर्तन ल्याउन सकिने उहाँको धारणा थियो।








