काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधार गर्न सरकारले यसै वर्ष २ सय नयाँ मोबाइल टावर निर्माण गर्नुका साथै १ हजार ५ सय ९७ स्थानमा फोरजी सेवा विस्तार गर्ने बताउनुभएको छ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले चालु आर्थिक वर्षलाई मोबाइल सेवा विस्तार, सेवा सुधार र दूरसञ्चार सेवालाई थप भरपर्दो बनाउने ‘रूपान्तरण वर्ष’ का रूपमा अघि बढाउन लागिएको जानकारी दिनुभयो।
उहाँका अनुसार नेपाल टेलिकमका नयाँ २ सय टावर निर्माणका लागि बोलपत्र मूल्याङ्कनको चरणमा रहेको छ। त्यस्तै, देशभर मोबाइल नेटवर्कमा देखिएका समस्या समाधान गर्न १ हजार ५ सय ९७ स्थानमा फोरजी सेवा सञ्चालनका लागि आवश्यक उपकरण खरिदको बोलपत्र यसै साता प्रकाशित हुँदैछ।
विद्युत् आपूर्ति अवरुद्ध हुँदा मोबाइल सेवा प्रभावित नहोस् भनेर टावरहरूको पावर ब्याकअप क्षमता बढाउने काम भइरहेको मन्त्री तिमिल्सिनाले बताउनुभयो। पछिल्लो तीन महिनामा सातै प्रदेशका ६ सयभन्दा बढी स्थानमा ब्याट्री परिवर्तन गरिएको र यसबाट विद्युत् अवरुद्ध हुँदा ग्रामीण क्षेत्रमा ८ देखि १० घण्टा तथा सहरी क्षेत्रमा ४ देखि ६ घण्टासम्म सेवा सञ्चालन गर्न सकिने उहाँले जानकारी दिनुभयो।
हाल करिब ५ सय ब्याट्री मौज्दात रहेको तथा आवश्यक स्थानमा आगामी तीन महिनाभित्र ब्याकअप प्रणाली अद्यावधिक गरिसक्ने लक्ष्य रहेको उहाँले बताउनुभयो। थप २ सय थान ब्याट्री खरिदका लागि समेत बोलपत्र प्रक्रिया अघि बढाइएको छ।

मन्त्री तिमिल्सिनाका अनुसार ३२ वटा सोलार साइटमा पावर ब्याकअप तथा सोलार प्रणालीको क्षमता वृद्धि गर्ने काम पनि अघि बढाइएको छ। सम्भव भएसम्म ती सोलार साइटलाई राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा जोड्न ऊर्जा मन्त्रालयसँग समन्वय भइरहेको उहाँले बताउनुभयो।
राष्ट्रिय प्रसारण लाइन नपुगेका क्षेत्रमा रहेका नेपाल टेलिकमका सोलार साइटमा ब्याट्री, उपकरण तथा तार चोरी हुने र कतिपय टावरमा भौतिक क्षति पुर्याउने क्रमले दूरसञ्चार सेवा प्रभावित हुने गरेको मन्त्री तिमिल्सिनाले उल्लेख गर्नुभयो। दूरसञ्चार पूर्वाधारमा क्षति पुर्याउने तथा चोरी गर्नेहरूमाथि कडा कारबाही गरिने उहाँले बताउनुभयो।
भोटेकोशी बाढीबाट टेलिकमलाई ८ करोड ८५ लाखभन्दा बढी क्षति
मन्त्री तिमिल्सिनाले भोटेकोशी बाढीका कारण नेपाल टेलिकमको मोबाइल, वायरलाइन तथा ब्याकबोन प्रसारण प्रणालीमा ८ करोड ८५ लाख १२ हजार ६ सय ८५ रुपैयाँ बराबरको क्षति भएको जानकारी पनि सदनलाई दिनुभयो।
रसुवा, नुवाकोट र धादिङका १ सय २० साइटमध्ये ८३ साइट बाढीका कारण अवरुद्ध भएका थिए। तीमध्ये त्रिशूली–३ ‘बी’, चिलिमे खोला र टिमुरेका तीन साइट पूर्णरूपमा क्षतिग्रस्त भएका थिए। ती तीन साइटबाहेक अन्य अवरुद्ध सेवा पुनः सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो।
पूर्णरूपमा क्षतिग्रस्त साइट तत्काल पुनःस्थापना गर्न नसकिएपछि आवश्यक स्थानमा वैकल्पिक टावर स्थापना गरेर मोबाइल नेटवर्कको पहुँच कायम गरिएको उहाँले जानकारी दिनुभयो। टिमुरेको टावरमा यही साता हेलिकप्टरमार्फत सोलार प्रणाली जडान गरी सेवा सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ।
त्यस्तै, रसुवा, नुवाकोट र धादिङमा रहेको ६५ दशमलव ३ किलोमिटर फाइबर नेटवर्कमध्ये बाढीले ३७ दशमलव ९ किलोमिटर क्षति पुर्याएकोमा २७ दशमलव ४ किलोमिटर मर्मत भइसकेको मन्त्री तिमिल्सिनाले बताउनुभयो।
वायरलाइन नेटवर्कअन्तर्गत रसुवा र नुवाकोटका तीनवटा ओएलटी पूर्णरूपमा क्षतिग्रस्त भएका तथा केही एफटीटीएच नेटवर्कमा समेत क्षति पुगेकोमा अधिकांश ओएलटी पुनःप्राप्त गरी सेवा सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो।
टिमुरे र रसुवागढी क्षेत्रमा फाइबर तथा माइक्रोवेभ प्रणालीमा क्षति पुगेपछि हाल फाइबरको विकल्पमा माइक्रोवेभ प्रविधिबाट ब्याकबोन प्रसारण सेवा पुनःस्थापना गरिएको मन्त्री तिमिल्सिनाले बताउनुभयो ।







