काठमाडाैँ । मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रससङ्घका कार्यवाहक विशेष संयोजक डा रमिज अलक्बरोभले गाजा पट्टीमा खाद्यान्न आपूर्तिको प्रवेशमा केही प्रगति भए तापनि यहाँका बासिन्दाले जटिल मानवीय सङ्कटको सामना गरिरहेको चेतावनी दिनुभएको छ ।
पानी, सरसफाई, आश्रयस्थल र फोहर व्यवस्थापनसम्बन्धी निरन्तरका सवाललाई औँल्याउँदै, सयका साथै श्रम बजारमा सुधारको अभावका कारण सहायता र नगद स्थानान्तरणमा उच्च निर्भरता रहेको बताउनुभएको छ ।
युएन न्यूजसँगको अन्तर्वार्तामा, अलक्बारोभले संयुक्त राष्ट्रसङ्घले गाजामा पानी, सरसफाइ, स्वास्थ्य, भग्नावशेष हटाउने, शिक्षा र किसानको समर्थनका क्षेत्रमा आफ्नो काम जारी राखेको उल्लेख गर्नुभएको छ । करिब तीन लाखभन्दा बढी बालबालिकाले अस्थायी स्थानमा शिक्षा प्राप्त गरिरहेको जनाउँदै उहाँले कृषि गतिविधिका लागि सीमितमात्रामा मात्र जमिन उपलब्ध रहेको जनाकारी दिनुभएको छ ।
उहाँले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजामा लगाइएको प्रतिबन्धको बाबजुद पनि काम गरिरहेको बताउँदै आठ हजारभन्दा बढी मानिसहरु अझै भग्नावशेषमुनि बेपत्ता रहेको जनाउनुभयो ।
अलक्बारोभले गाजाका बासिन्दाको आगामी जाडो पनि शिविरमा बिताउने नभई स्कुल र काममा फर्कने, आफ्नो समुदायको पुनर्निर्माणमा योगदान गर्ने र पानी, सरसफाई र बिजुली सेवामा पुनःपहुँच प्राप्त गर्ने इच्छा व्यक्त गर्नुभयो ।
वेस्ट ब्याङ्कमा, संयुक्त राष्ट्रका संयोजकले इजरायली बस्ती गतिविधि, हिंसा, आवागमन प्रतिबन्ध र आर्थिक दबाबलाई उदृत गर्दै परिस्थिति अत्यधिक नाजुक रहेको वर्णन गर्नुभयो ।
उहाँले संयुक्त राष्ट्रसङ्घले प्रभावित परिवार र समुदायलाई अनुदान, नगद सहायता र कानुनी सहयोग प्रदान गरिरहेको बताउनुभयो ।
राजनीतिक मार्गको सन्दर्भमा, उहाँले प्यालेस्टिनी सवाललाई व्यापक रूपमा सम्बोधन गरी विश्वासको पुनर्निर्माण गर्न, हिंसालाई उक्साउन रोक्न र प्यालेस्टिनी संस्थाको एकतालाई समर्थन गर्न जोड दिँदै दुई–राज्यबीच उत्पन्न समस्याको समाधानको कुनै विकल्प नभएको पुष्टि गर्नुभयो ।








