• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस–एमाले सत्ता समीकरणमा सहमति, ओली चौथो पटक प्रधानमन्त्री बन्ने ★   बेल्जियमलाई हराउँदै फ्रान्स युरो कपको क्वाटरफाइनलमा ★   स्लोभेनियालाई पेनाल्टीमा हराउँदै पोर्चुगल युरो कपको क्वाटरफाइनलमा ★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता

त्रिविमा बेथिति एक व्यक्ति दुई पद, नेविसंघले दियो अल्टिमेटम, महरद्धारा बचाउ



काठमाडौं ।त्रिभुवन विश्वविद्यालयमा उपकुलपति र शिक्षाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका प्राडा सुधा त्रिपाठीले दुई पद लिन मिल्ने कि नमिल्ने भन्ने विषयमा कानुन बाझिएको छ। तर त्रिविका अधिकांश उच्च अधिकारीले कानुनअनुसार एक पद छाड्नुपर्ने बताउँदै आएका छन्।

त्रिभुवन विश्वविद्यालय ऐन २०४९ अनुसार उहाँले दुईमध्ये एक पद छाड्नुपर्ने भएको हो। त्रिवि ऐन २०४९ को दफा २१ ‘ख’मा उल्लेख भएअनुसार विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा त्रिपाठीलाई भदौ ६ गतेदेखि लागू हुने गरी तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिनुभएको हो।

सो दफामा ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विश्वविद्यालयको कुनै पद रिक्त भएमा सो पदपूर्ति नभएसम्म दैनिक कार्य सञ्चालन गर्न बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी सहकुलपतिको परामर्शमा कुलपतिले र अन्य पदाधिकारीको जिम्मेवारी उपकुलपतिले विश्वविद्यालयको कुनै वरिष्ठतम प्राध्यापकलाई तोक्ने व्यवस्था छ।

सोही दफाअनुसार त्रिविका सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षाध्यक्ष प्राडा त्रिपाठीलाई उपकुलपति नियुक्ति गर्न सिफारिस गर्नुभएको थियो। ‘सोही सिफारिसका आधारमा कुलपति एवं प्रधानमन्त्री ओलीले तीन महिनासम्मका लागि उपकुलपतिको जिम्मेवारी दिनुभएको हो। तर शिक्षाध्यक्ष त्रिपाठीले दुवै पद ओगटी रहनुभएको छ।’ –स्रोतले नेपाल समाचारपत्रसँग भन्यो।

स्रोतका अनुसार प्राडा त्रिपाठीलाई कुलपति एवं प्रधानमन्त्री ओलीले निमित्त वा कायममुकायम उल्लेख नगरी उपकुलपतिमा बढीमा तीन महिनाका लागि भन्दै पत्र दिनुभएको थियो। ‘उहाँलाई त्रिवि ऐनअनुसार नै उपकुलपति नियुक्त गरिएको हो, दुई पदमा काम गर्न मिल्दैन।’ –स्रोतले भन्यो।

तर प्राडा त्रिपाठीले आफू निमित्त उपकुलपति मात्र भएको भन्दै दुईवटै पद सम्हाली रहनुभएको छ। ऐनको दफा १९ को उपदफा ७ मा उपकुलपतिको अनुपस्थितिमा शिक्षाध्यक्षले उपकुलपतिको काम गर्न सक्ने स्पष्ट व्यवस्था गरेको छ। तर उपकुलपतिको चारवर्षे पदावधि सकिएपछि कुलपतिले प्राडा त्रिपाठीलाई बढीमा तीन महिनासम्मका लागि उपकुलपतिमा नियुक्ति गर्नुभएको थियो।

‘उहाँले त अब उपकुलपतिको हैसियतमा काम गर्नुपर्ने हो, तर एउटै व्यक्तिले उपकुलपति र शिक्षाध्यक्षजस्तो जिम्मेवार पदमा रहन समस्या हुन्छ।’ –त्रिविका पूर्वउपकुलपति प्रा.डा हीराबहादुर महर्जनले भन्नुभयो। नियुक्ति दिएपछि दुई पदमा रहनु उचित नहुने तथा ऐनमा जस्तो व्यवस्था छ, सोहीअनुसारको पद सम्हाल्नुपर्नेमा उहाँले जोड दिनुभयो।

कामचलाउ रूपमा उपकुलपति नियुक्त भइसकेको अवस्थामा शिक्षाध्यक्षजस्तो जिम्मेवारी पदमा बस्न नहुने कानुनविद्ले समेत सल्लाह दिनुभएको छ।
एकै व्यक्ति महत्वपूर्ण दुई पदमा बस्न नहुने अडचन आएपछि प्राडा त्रिपाठीले मंगलबार पूर्वमहान्यायाधिवक्ता एवं कानुनविद् मुक्ति प्रधान, हरि उप्रेती र त्रिविका कानुन महाशाखा प्रमुख नारायण खनालसँग परामर्श लिनुभएको थियो।

उपकुलपतिको जिम्मेवारी लिनुभएकी त्रिपाठीले रजिस्ट्रार दिल्ली उप्रेतीलाई साथमा राख्नुभएको थियो। त्यसअघि उपकुलपति र शिक्षाध्यक्षको समेत जिम्मेवारी लिनुभएकी प्राडा त्रिपाठी र रजिस्ट्रार उप्रेतीबीच छलफल भएको थियो।

सो क्रममा रजिस्ट्रार उप्रेतीले एउटै व्यक्तिले दुई पद लिन नहुने सल्लाह दिएपछि कानुनविद्सँग सल्लाह लिनुभएको थियो। कानुनविद् एवं वरिष्ठ अधिवक्ता हरि उप्रेतीले बढीमा तीन महिनाका लागि मात्रै उपकुलपति पाउनुभएका प्राडा त्रिपाठीले पूर्णरूपमा रेक्टरको काम गर्न मिल्ने जिकिर गर्नुभएको छ।

दैनिक काम गर्न उपकुलपतिको जिम्मेवारी लिने र चारवर्षे कार्यकाल नसकिन्जेल रेक्टरको जिम्मेवारी लिन मिल्ने गरी काम गर्न सकिने उहाँको भनाइ थियो। उहाँले भन्नुभयो– ‘उहाँको उपकुलपति पद त छोटो समयका लागि मात्रै हो, पूर्ण कार्यकाल रेक्टरको भएकाले दुईवटै पदमा काम गर्दा फरक पर्दैन।’

पूर्णरूपमा रेक्टरको जिम्मेवारी सम्हाल्नुभएका उहाँले कुनै पनि अधिकारीलाई सो पदको जिम्मेवारी दिन नमिल्ने उप्रेतीको जिकिर थियो। तर त्रिवि ऐनमा उपकुलपति र रेक्टरको काम फरक फरक भएकाले एउटै व्यक्तिले दुई पदको काम गर्न नमिल्ने देखिन्छ।

शक्ति पृथकीकरणको सिद्धान्तअनुसार तीन फरक पदका पदाधिकारीले छुट्टाछुट्टै विषयका निर्णय गर्नुपर्ने अवस्थामा एकै व्यक्तिले दुई पद सम्हाल्न नमिल्ने उच्च अधिकारीको भनाइ छ। उपकुलपति त्रिपाठीले दुई पदको जिम्मेवारी छाड्न नमानेपछि त्रिविमा पदाधिकारीबीच तिक्तता शुरू भएको छ।

त्रिविका रजिस्ट्रार उप्रतीले एकै व्यक्तिले दुई पदको जिम्मेवारी लिन नहुने सल्लाह दिएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘उपकुलपतिजस्तो महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएको व्यक्तिले दुई पद लिने अप्ठ्यारो पर्ने सुझाव दिएको हुँ।’

उपकुलपति कार्यालय स्रोतका अनुसार प्राडा त्रिपाठीलाई तीन कानुनविद्ले ऐनमा व्यवस्था भएअनुसार एक पद मात्र लिनुपर्ने सुझाएका थिए। ऐनअनुसार प्राडा त्रिपाठीले शिक्षाध्यक्ष पद छाडेर डीनमध्येका वरिष्ठतमलाई तत्कालका लागि शिक्षाध्यक्षको जिम्मेवारी दिनुपर्ने हुन्छ। ऐनमा शिक्षाध्यक्ष वा रजिस्ट्रारको अनुपस्थिति भएमा वरिष्ठतम डीनलाई शिक्षाध्यक्ष वा रजिस्ट्रार बनाउनुपर्ने व्यवस्था छ।

एकै व्यक्तिले दुई पदको जिम्मा लिएको विरोधमा नेविसंघका एक समूहले प्राडा त्रिपाठीलाई बुधबार २४ घण्टे अल्टिमेटम दिएको थियो। नेविसंघका अध्यक्ष नैनसिंह महरले नेविसंघले आधिकारिकरूपमा अल्टिमेटम दिएको विषय झूटो भएको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘एउटा समूहले अल्टिमेटम दिएका होलान्, त्यसमा नेविसंघको नाम जोडिएको छ।’ तर उहाँले नेविसंघको आधिकारिक धारणा भने एकै व्यक्तिले दुई पद लिन नहुने स्पष्ट पार्नुभयो।

‘समयमै उपकुलपति नियुक्ति गर्न नसक्नु कुलपतिको कमजोरी हो, त्यसमा पनि एक व्यक्तिले दुई पद लिएर काम गर्नु गभ्मीर गल्ती हो।’ –अध्यक्ष महरको भनाइ थियो। सो विषयमा जानकारी लिन खोज्दा उपकुलपति र शिक्षाध्यक्ष पद लिनुभएको प्राडा त्रिपाठीले मोबाइल उठाउनुभएन।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।