काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित विभिन्न क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। नेपाली सेनाका अनुसार २०८३ भदौ १८ गते बिहान ११ बजेसम्म हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट छ जनाको उद्धार गरिएको छ।
सेनाले लाङटाङ हाइड्रोमा विदेशी नागरिकसहित २५ जनाको संयुक्त टोली परिचालन गरी टनेलभित्र करिब १५० मिटर प्रवेश गरेर दुई स्थानमा साना प्वाल बनाई खोजी कार्य गरिरहेको जनाएको छ। चिलिमे हाइड्रोमा पनि विदेशी नागरिकसहितको संयुक्त टोलीले खोज तथा उद्धार जारी राखेको छ।
त्रिशूली–३ ए आयोजनामा ९३ जनाको संयुक्त उद्धार टोलीले पाँच वटा एक्स्काभेटर प्रयोग गरी टनेलको आउटलेटमा जमेको लेदो र माटो हटाउने काम गरिरहेको छ। राति करिब २ बजे आउटलेटको प्वाल ठूलो बनाउन टनेलको माथिल्लो भागमा विस्फोट गराई सफा गर्ने कामसमेत गरिएको सेनाले जनाएको छ।
त्यस्तै, त्रिशूली–३ बी आयोजनामा नेपाली सेनाका ८९ जना, तीन जना गैरसैनिक तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोली परिचालन गरिएको छ। टोलीले आयोजनाको कार्यालय तथा निवास रहेको क्षेत्र पहिचान गरी त्यहाँसम्म पुग्ने बाटो बनाउन एक्स्काभेटर र बबक्याट प्रयोग गरेर माटो पन्छाउने तथा बाटो खोल्ने काम गरिरहेको छ।
नेपाली सेनाले प्रभावित क्षेत्रका जङ्गल, डाँडा, खोला तथा बस्तीमा पैदल गस्तीमार्फत खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ। स्थानीयवासीलाई सुरक्षा प्रत्याभूति दिलाउँदै चिकित्सक अधिकृतसहितको स्वास्थ्य टोलीले आवश्यक स्वास्थ्य सेवा पनि प्रदान गरिरहेको सेनाले जनाएको छ।
त्रिशूली नदी पारिको कोलोनीदेखि तुप्चे, सोले बजार तथा नुवाकोट जिल्लाका विभिन्न स्थानमा समेत खोज तथा उद्धार भइरहेको छ। रसुवाको स्याफ्रुवेशी क्षेत्रमा नेपाली सेना र अन्य सुरक्षा निकायको संयुक्त टोलीले खोज तथा उद्धार गरिरहेको छ।
नुवाकोटको पिपलटार र देवघाटमा रहेका होल्डिङ सेन्टरमा सम्भावित सङ्क्रमण फैलिन नदिन चिकित्सक अधिकृतहरूले सचेतनामूलक कक्षा सञ्चालन गरेका छन्।
नेपाली सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा नौ हजार तीन सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन भएका छन्। उनीहरूले घाइते तथा प्रभावितको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन तथा आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन्।
यसैबीच, प्रधानसेनापति महारथी अशोकराज सिग्देलले त्रिशूली क्षेत्र, टनेललगायतका स्थानमा सञ्चालन भइरहेको संयुक्त खोज तथा उद्धार कार्यको स्थलगत अनुगमन गर्नुभएको छ। उहाँले सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य गर्दै उच्च मनोबलका साथ खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन निर्देशन दिनुभएको नेपाली सेनाले जनाएको छ।









