९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनासहित विदेशी विशेषज्ञ टोली परिचालन

भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनासहित विदेशी विशेषज्ञ टोली परिचालन
अ अ+ अ-

काठमाडौं । परराष्ट्र मन्त्रालयले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको खोज, उद्धार तथा राहत कार्यको पछिल्लो प्रगति विवरण सार्वजनिक गरेको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बिहीबार आयोजित नियमित प्रेस ब्रीफिङमार्फत विपद् व्यवस्थापनका विभिन्न क्षेत्रमा भइरहेका कामबारे जानकारी दिनुभएको हो ।

मन्त्रालयका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १ हजार २५२ जनाको शव निकालिएको छ भने करिब ४ हजार २ सय जना अझै बेपत्ता छन् । उद्धार गरिएका ११ हजार ९९३ जनामध्ये ३ सयभन्दा बढी विदेशी नागरिक रहेका छन् । बेपत्ता हुनेमा ३४ देशका ५९० जना विदेशी नागरिक रहेको प्रारम्भिक तथ्यांक मन्त्रालयले जनाएको छ । सरकारले नेपाल पर्यटन बोर्ड र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत तथ्यांक अद्यावधिक गरिरहेको छ ।

बेपत्ता विदेशी नागरिकका परिवार तथा सम्बन्धित कूटनीतिक नियोगसँग समन्वय गर्न परराष्ट्र मन्त्रालयमा ‘इमर्जेन्सी कन्ट्रोल रुम’ सञ्चालनमा रहेको छ । उक्त कक्षमा दैनिक करिब २ सयवटा सोधपुछ आउने गरेको र बिहान ७ बजेदेखि राति १० बजेसम्म हटलाइन सेवा सञ्चालनमा रहेको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।

विभिन्न जलविद्युत आयोजनाका सुरुङमा फसेकाहरूको खोज तथा उद्धारका लागि नेपाली सेनासँगै भारत, चीन र दक्षिण कोरियाका विशेषज्ञ टोली परिचालन भएका छन् । हाल ९ हजार ३ सयभन्दा बढी नेपाली सेना रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासीसम्म खोज तथा उद्धारमा खटिएका छन् । चिलिमे र लाङटाङमा भारतीय टोली, माथिल्लो त्रिशूली–३ ‘ए’ मा चिनियाँ टोली तथा माथिल्लो त्रिशूली–१ मा दक्षिण कोरियाली टोलीले नेपाली उद्धारकर्मीसँग सहकार्य गरिरहेका छन् ।

लाङटाङ क्षेत्रमा सुरुङको माथिल्लो भागबाट सानो प्वाल बनाएर खोजी कार्य अघि बढाइएको छ भने हाकु क्षेत्रमा पनि पुनः प्रवेश गरी खोजी सुरु गरिएको मन्त्रालयले जनाएको छ । उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाली तथा विदेशी विशेषज्ञ टोलीले उपलब्ध प्रविधि र उपकरणको प्रयोग गरिरहेका छन् ।

बाढीमा मृत्यु भएकाहरूको पहिचानका लागि भारत, चीन, सिंगापुर र दक्षिण कोरियाका फोरेन्सिक विशेषज्ञ तथा ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन’ टोली परिचालन भएका छन् । हालसम्म भारतका १९, चीनका ५ तथा सिंगापुरका १९ जना विशेषज्ञले डिएनए संकलन तथा विश्लेषणको काम सुरु गरिसकेको मन्त्रालयले जनाएको छ । बेपत्ताका आफन्तलाई डिएनए परीक्षणका लागि महाराजगञ्जस्थित प्रहरी अस्पताल वा नजिकैको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ ।

बाढीपछिको जटिल परिस्थितिसँग जुध्न नेपालले अन्तर्राष्ट्रिय समुदायसँग उच्च क्षमताका ड्रोन, लाइडर, बेली ब्रिज, डिएनए परीक्षण किट तथा मोबाइल एयर ट्राफिक कन्ट्रोल प्रणालीलगायत उपकरण माग गरेको छ । भारत, चीन, अमेरिका, बेलायत, जापानलगायत विभिन्न मित्रराष्ट्र तथा संयुक्त राष्ट्रसंघ र एसियाली विकास बैंकलगायत दातृ निकायबाट प्राप्त सहयोगप्रति नेपालले आभार व्यक्त गरेको प्रवक्ता क्षेत्रीले बताउनुभयो ।

प्रवक्ता क्षेत्रीले भोटेकोशी बाढीलाई हिमालय क्षेत्रको संवेदनशीलता र जलवायु परिवर्तनको गम्भीर असरका रूपमा चित्रण गर्नुभयो । नेपालले न्यून कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको असरबाट बढी प्रभावित भएको उल्लेख गर्दै मन्त्रालयले ‘लस एन्ड ड्यामेज फन्ड’बाट तत्काल सहयोग उपलब्ध गराउन पत्राचार गरिसकेको जनाएको छ । घर, सडक, पुल तथा जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान रहेकाले पुनर्निर्माणका लागि विस्तृत क्षति मूल्याङ्कन गरिने मन्त्रालयले जनाएको छ ।

यसैबीच, चीनको केरुङ क्षेत्रमा रहेका करिब १ हजार ४ सय नेपालीमध्ये ११४ जना तातोपानी नाका हुँदै नेपाल फर्कने क्रममा रहेका छन् । चिनियाँ पक्षको समन्वयमा उनीहरूलाई नेपाल फर्काउने प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ । केरुङ क्षेत्रबाट भने बाढी आएको दिनदेखि करिब १ सय नेपाली अझै बेपत्ता रहेको मन्त्रालयले पुष्टि गरेको छ ।