काठमाडौं । नेकपा (एमाले)की सांसद यशोदाकुमारी बरालले रसुवा बाढी प्रभावित क्षेत्रमा राहत वितरणका लागि सरकारले अपनाएको एकद्वार प्रणालीका कारण प्रभावित नागरिक भोकै बस्नुपरेको आरोप लगाउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बरालले बाढीमा सम्पर्कविहीन भएका आफन्तको खोजीका लागि प्रभावित क्षेत्रमा पुगेका नागरिकले समेत उचित राहत तथा खाना पाउन नसकेको बताउनुभयो ।
उहाँले नागरिकभन्दा ठूलो कुनै सरकार वा व्यक्ति हुन नसक्ने भन्दै नागरिकको जीवनरक्षालाई सरकारले सर्वोच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । राहत वितरणमा देखिएको समस्या तत्काल समाधान गर्न पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद बरालले प्रविधिको अभाव देखाएर सरकारले आफ्नो जिम्मेवारीबाट पन्छिन नहुने बताउँदै सुरुङभित्र रहेका नागरिकको खोज तथा उद्धारलाई तीव्रता दिन आग्रह गर्नुभयो । सुरुङभित्र रहेका नागरिक अझै जीवित रहेको आशा व्यक्त गर्दै उहाँले उद्धारका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गर्न सरकारसँग माग गर्नुभयो ।
बाढीमा परी मृत्यु भएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । साथै, सम्पर्कविहीन नागरिकको खोज तथा उद्धार कार्य निरन्तर र प्रभावकारी रूपमा अघि बढाउन सरकारलाई आग्रह गर्नुभयो ।








