काठमाडौं । प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको तथा सञ्चारमाध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
काउन्सिलले बुधबार राति श्रेष्ठलाई पक्राउ गरी उहाँको निजी निवासमा खानतलासी गरिएको र बिहीबार बिहान जनआस्था साप्ताहिकको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको जनाएको हो।
प्रेस काउन्सिल नेपालका प्रवक्ता एवं वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले जारी गरेको विज्ञप्तिमा नागरिकको सूचनाको हकको प्रत्याभूति प्रेस स्वतन्त्रताबाट हुने भएकाले प्रेसको मर्यादा कायम राख्नु सबैको कर्तव्य भएको उल्लेख गरिएको छ।
काउन्सिलले प्रेस स्वतन्त्रताको सदुपयोग र सम्मान हुनुपर्नेमा जोड दिँदै पत्रकार तथा सञ्चारकर्मीले आफ्नो पेसागत मर्यादा, आचरण र जिम्मेवारीप्रति पनि सचेत हुनुपर्ने जनाएको छ। प्रेस स्वतन्त्रताको नाममा स्वच्छन्दता हुन नदिन सत्य, तथ्य, सन्तुलित र विश्वसनीय पत्रकारिताको अभ्यास आवश्यक रहेको काउन्सिलको भनाइ छ।
विज्ञप्तिमा कुनै सञ्चारमाध्यम वा पत्रकारले व्यावसायिक आचारसंहिता उल्लङ्घन गरेमा प्रेस काउन्सिल नेपालमा उजुरी दिन सकिने कानुनी व्यवस्था रहेको स्मरण गराइएको छ। काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमविरुद्ध परेका उजुरीमाथि छानबिन गर्ने, आवश्यकताअनुसार दुवै पक्षलाई बोलाएर संवाद तथा मेलमिलाप गराउने र आचारसंहिता उल्लङ्घन भएमा नियमानुसार कारबाही गर्दै आएको जनाएको छ।
काउन्सिलका अनुसार आचारसंहिता उल्लङ्घनको अवस्थामा खण्डन प्रकाशन वा प्रसारण, भूलसुधार तथा क्षमायाचना गर्न निर्देशन दिने, ध्यानाकर्षण वा सचेत गराउनेदेखि सञ्चारमाध्यमलाई वर्गीकरण तथा मूल्याङ्कन प्रक्रियाबाट अलग गर्ने, सरकारी सुविधा तथा विज्ञापनबाट वञ्चित गर्न सिफारिस गर्नेसम्मका कारबाही गर्न सकिने व्यवस्था छ।
त्यस्तै, गम्भीर रूपमा आचारसंहिता उल्लङ्घन गर्ने पत्रकार तथा सञ्चारमाध्यममाथि थप कारबाहीका लागि नेपाल पत्रकार महासङ्घ तथा सम्बन्धित सञ्चार संस्थामा सिफारिस गर्ने र काउन्सिलको निर्णय वा निर्देशन अवज्ञा गर्नेलाई सार्वजनिक गर्ने प्रक्रियासमेत रहेको काउन्सिलले जनाएको छ।
काउन्सिलले कुनै समाचार वा सञ्चार सामग्रीका विषयमा चित्त नबुझेमा सम्बन्धित पक्षलाई कानुनी तथा संस्थागत प्रक्रियामार्फत प्रेस काउन्सिलमा उजुरी गर्न आग्रह गरेको छ।
काउन्सिलले पत्रकार र सञ्चारमाध्यमको पेसागत आचरणसँगै प्रेस स्वतन्त्रताको संरक्षणलाई पनि आफ्नो क्षेत्राधिकारभित्र प्राथमिकताका साथ अनुगमन गर्दै आएको जनाएको छ।










