५ श्रावण २०८३, मंगलवार
,
Latest
अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो नेत्रज्योति संघले बढायो स्वास्थ्य पर्यटनको सम्भावना व्यवसायमैत्री नियमावली बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आईसीसी क्रिकेट विश्वकप लिग २ : त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै कर्णालीको विकासका प्राथमिकता बुझ्न स्थलगत अनुगमनमा मन्त्री लम्साल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीमा ७८ प्रतिशत रोपाइँ



फाइल फोटो
अ+ अ-

गण्डकी । गण्डकी प्रदेशमा हालसम्म ७८ दसमलव ३६ प्रतिशत रोपाइँ भएको छ । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार ७३ हजार ३४९ हेक्टरमा रोपाइँ भइसकेको छ ।

यस वर्ष ९३ हजार ६०६ हेक्टरमा रोपाइँ हुने अनुमान गरिएको मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ शशी अधिकारीले बताउनुभयो । प्रदेशको कूल चार लाख ७९ हजार ६१७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी करिब एक लाख हेक्टरमा धानखेती हुने गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धानखेतीको क्षेत्रफल बढी छ । हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धानखेती हुँदै आएको छ ।

पछिल्लो समय प्रदेशमा रोपाइँको क्षेत्रफल बर्सेनि घट्दै गएको पाइएको कृषि अर्थ विज्ञ अधिकारीले बताउनुभयो । “चार वर्षअघि ९७ हजार ७६९ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको थियो । त्यसपछिको वर्ष रोपाइँको क्षेत्रफल घटेर ९६ हजार ५३ हेक्टरमा समेटियो । गत आवमा ९४ हजार १८२ हेक्टरमा रोपाइँ भएकामा यस वर्ष ९३ हजार ६०६ हेक्टरमा रोपाइँ हुने अनुमान गरिएको छ”, उहाँले भन्नुभयो ।

जग्गा खण्डीकरण, बाँझो छाड्ने प्रवृत्ति र खेतीयोग्य जमिनमा बस्ती विस्तार तथा पूर्वाधार विकासले गर्दा धानखेतीको क्षेत्रफल घट्दै गएको वरिष्ठ कृषि अर्थ विज्ञ अधिकारीले बताउनुभयो । क्षेत्रफल घटेपनि समयमा वर्षात् र रासायनिक मलको उपलब्धता, धानमा सङ्क्रमणजन्य रोग नलाग्नु, सिँचाइ सुविधा, उन्न बीउबिजनलगायत सुविधाका कारणले धानको उत्पादकत्व भने वृद्धि हुने गरेको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिकूल मौसम, मल अभाव, कमसल बीउविजन जस्ता कारणले धानको उत्पादकत्वमा ह्रास आउने वरिष्ठ कृषि अर्थ विज्ञ अधिकारीको भनाइ छ । गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धानखेती गरिन्छ ।

गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानखेतीको पकेट क्षेत्र हुन् ।

यस्तै पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायत क्षेत्रलाई धानका लागि पकेट क्षेत्र तोकिएको प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ ।  रासस