८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग

नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी

नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी
अ+ अ-

काठमाडौं । नियमित रूपमा वर्षा हुन थालेपछि काठमाडौं महानगरपालिकाले जोखिमयुक्त क्षेत्र र विद्यालयमा निगरानी बढाएको छ। सम्भावित बाढी, डुबान तथा अन्य विपद्बाट बालबालिका र नागरिकलाई सुरक्षित राख्न महानगरले पूर्वतयारी तथा प्रतिकार्यका कामलाई सक्रिय बनाएको हो।

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली थप विकसित हुँदै गएपछि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। हाल सामान्य वर्षा भए पनि भारी वर्षामा परिणत हुनसक्ने मौसमसम्बन्धी सूचनाका आधारमा महानगरले जोखिमयुक्त स्थानको निगरानी बढाएको जनाएको छ।

महानगर विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले सम्भावित बाढी, डुबान, पहिरो तथा जलजन्य जोखिम न्यूनीकरणका लागि पूर्वतयारी तथा प्रतिकार्य प्रणाली सक्रिय बनाउने निर्णय गरेको छ। बैठकले सुरक्षा निकाय, नेपाल रेडक्रस सोसाइटीलगायत सरोकारवाला निकायसँग समन्वय बढाउने निर्णयसमेत गरेको छ।

जोखिमपूर्ण क्षेत्रमा रहेका विद्यालयको अवस्था मूल्याङ्कन गरी आवश्यक परे विद्यालय सञ्चालन तथा पठनपाठन स्थगन गर्ने अधिकार र जिम्मेवारी शिक्षा विभागलाई दिइएको छ। त्यस्तै, जोखिमयुक्त स्थानबाट नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा राख्नुपर्ने अवस्था आए विद्यालय तथा मानव सेवा आश्रमका स्थानलाई ‘होल्डिङ सेन्टर’का रूपमा प्रयोग गर्ने तयारी गरिएको छ।

महानगरले भारी वर्षाबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि सबै विभाग, निकाय र वडा कार्यालयलाई पूर्वतयारी तथा प्रतिकार्यका काम सक्रिय रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचनाका आधारमा महानगरले आवश्यक कदम चाल्ने जनाएको छ।

नदी किनारका क्षेत्रमा माइकिङ गर्ने, पानी निकास हुने स्थानमा निगरानी बढाउने तथा ढल, मंगाल र क्याचपिट सफाइलाई तीव्रता दिने निर्णय गरिएको छ। यसका लागि नगर प्रहरी बल, वातावरण व्यवस्थापन विभाग र विपद् व्यवस्थापन विभागलाई जिम्मेवारी तोकिएको छ।

सम्भावित विपद्का समयमा तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन एम्बुलेन्स तयारी अवस्थामा राख्ने, स्वास्थ्यकर्मीलाई बिदा वा काजमा नखटाउने तथा स्वास्थ्य स्वयंसेविकामार्फत समुदायस्तरमा नागरिक सचेतना बढाउने व्यवस्था गरिएको छ। विपद् प्रतिकार्यका लागि र्‍याफ्टिङ बोर्ड, त्रिपाल, सवारीसाधनलगायत आवश्यक सामग्रीसमेत तयारी अवस्थामा राखिएको महानगरले जनाएको छ। दुई जना नगर प्रहरीको उद्धार टोलीलाई समेत तैनाथ गरिएको छ।

महानगरपालिकाले सम्भावित जोखिमबारे नागरिकलाई सचेत गराउन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत नियमित सूचना र सचेतनामूलक सन्देश प्रवाह गर्ने जनाएको छ। वडास्तरीय विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाई जोखिमयुक्त स्थान पहिचान, प्रतिकार्य तथा सूचना र समन्वयको व्यवस्था मिलाइने भएको छ।

यसैबीच, काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रालाई समेत ध्यानमा राख्दै सम्बन्धित क्षेत्रमा सरसफाइ तथा पानी निकासको व्यवस्थाको विशेष निगरानी गरिने भएको छ। वर्षाका कारण जात्राका कार्यक्रम तथा सहभागीलाई असहज अवस्था सिर्जना नहोस् भनेर वातावरण तथा विपद् व्यवस्थापनसम्बन्धी संयन्त्रलाई सक्रिय बनाइएको महानगरले जनाएको छ।

विपद्मा परेका महानगरवासीलाई राहत उपलब्ध गराउन महानगरले छुट्टै संयन्त्रसमेत गठन गरेको छ। विपद् व्यवस्थापन कोषबाट न्यायोचित रूपमा राहत सिफारिस गर्न विपद् व्यवस्थापन विषयगत समितिका संयोजकको अध्यक्षतामा सम्बन्धित वडाका वडाध्यक्ष वा तोकिएका वडा सदस्य, नगर प्रहरीका अधिकृतस्तरका कर्मचारी, सहरी योजना आयोगका विपद् विज्ञ तथा विपद् व्यवस्थापन विभागका प्रमुख सदस्यसचिव रहने व्यवस्था गरिएको छ।

उक्त संयन्त्रले विपद्को अवस्था र क्षतिको प्रकृति मूल्याङ्कन गरी राहत उपलब्ध गराउन नगरस्तरीय विपद् व्यवस्थापन समितिसमक्ष सिफारिस गर्नेछ। महानगरले भारी वर्षा, डुबान तथा नदी–खोलामा पानीको सतह बढ्नसक्ने जोखिमलाई ध्यानमा राख्दै पूर्वसूचना, उद्धार सामग्रीको तयारी, जनशक्ति परिचालन, सुरक्षित स्थानको व्यवस्थापन र राहत सिफारिससम्मका कामलाई एकीकृत रूपमा अघि बढाएको जनाएको छ।