काठमाडाैँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले विपद् प्रभावित नागरिकको मर्यादा र गोपनीयताको सम्मान गर्न आग्रह गर्नुभएको छ ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री वादीले राहत वितरणका नाममा पीडितको अनुमतिविना तस्बिर तथा भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचार गर्ने कार्य रोक्न आग्रह गर्नुभएको हो । उहाँले विशेषगरी बालबालिकाको अधिकार र सुरक्षामा ध्यान दिन सम्बन्धित सबैलाई आग्रह गर्नुभयो ।
मन्त्री वादीका अनुसार हालसम्म बाढीबाट प्रभावित ६ हजार ४५९ जनाले मनोसामाजिक प्राथमिक सहायता प्राप्त गरेका छन् । उद्धार कार्यमा खटिएका १५५ कर्मचारी तथा सुरक्षाकर्मीलाई तनाव व्यवस्थापनसम्बन्धी तालिम दिइएको छ भने प्रभावितमैत्री सेवा प्रवाहका लागि थप १०२ जनालाई अभिमुखीकरण गरिएको छ ।
विपद् प्रतिकार्यमा गैरसरकारी संस्थाको भूमिकाबारे जानकारी दिँदै मन्त्री वादीले समाज कल्याण परिषद्बाट परियोजना स्वीकृतिको प्रक्रिया थप द्रुत बनाइएको बताउनुभयो । उहाँका अनुसार भदौ १५ गतेयता १४९ वटा नयाँ परियोजना स्वीकृत भएका छन् ।
मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत करिब ५० करोड ४२ लाख रुपैयाँ र राष्ट्रिय गैरसरकारी संस्थामार्फत २० करोड ५७ लाख रुपैयाँभन्दा बढीका राहत सामग्री परिचालन भएका छन् ।
राहत वितरणका क्रममा पीडितको अपमान हुने गतिविधि नगर्न आग्रह गर्दै मन्त्री वादीले भन्नुभयो, ‘पीडितलाई सहयोग गर्दा उनीहरूको घाउमा नुन थप्ने होइन, घाउ निको पार्ने वातावरण बनाउनुपर्छ।’
उहाँले बालबालिकाको पहिचान खुल्ने गरी सामग्री सार्वजनिक नगर्न तथा महिला र पीडितलाई लक्षित गरी अपमानजनक शब्द प्रयोग नगर्न पनि आग्रह गर्नुभयो ।
विपद्को जोखिमलाई अवसरका रूपमा लिएर हुन सक्ने मानव बेचबिखन तथा लैङ्गिक हिंसा न्यूनीकरणका लागि गृह मन्त्रालय र नेपाल प्रहरीसँगको समन्वयमा सीमा नाका तथा होल्डिङ सेन्टरमा निगरानी बढाइएको मन्त्री वादीले जानकारी दिनुभयो ।
मन्त्रालयले राहत र उद्धारसँगै विपद् प्रभावितको पुनःस्थापना, जीविकोपार्जन तथा दीर्घकालीन सामाजिक संरक्षणका कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको जनाएको छ ।








