२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व
अ अ+ अ-

काठमाडौँ, ८ असोज (रासस): मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन । सुखपछि दुःख र दुःखपछि सुखको चक्र प्रकृतिमा निरन्तर चलिरहने अकाट्य नियम हो । रातपछि दिन भए झैँ प्राकृतिक विपत्ति, महामारी वा गम्भीर दुर्घटना समयसमयमा आइरहन्छन् तर यस्ता विपद्ले मानव जीवनमा छाड्ने प्रभाव सामान्य हुँदैन । धनजनको क्षतिसँगै विपत्तिले मानिसको मन र भावनामा पारेको गहिरो चोटले जनजीवनलाई लामो समयसम्म अस्तव्यस्त बनाइदिन्छ । हालैका दिनमा विपद्पछिको असहज परिस्थितिमा सामाजिक सञ्जालमा प्रसारण गरिने संवेदनहीन र उत्तेजक भिडियो, फोटो तथा भ्रामक सूचनाले पीडितका घाउमा नुनचुक छर्कने काम गरिरहेका छन् । आफन्त गुमाएको असह्य पीडा, शारीरिक कष्ट र अन्योलमा छटपटाइरहेका मानिसका लागि यस्ता नकारात्मक सामग्रीहरू झनै घातक बनिरहेका छन् । यसप्रति सम्बन्धित सबैपक्ष र नागरिक समाज जिम्मेवार हुनु अतिआवश्यक भइसकेको छ ।

कुनै पनि ठूलो विपद् वा दुर्घटनापछि मानिसमा तर्सिनु, अत्यधिक डराउनु, निद्रा नलाग्नु, खान मन नलाग्नु, मान्छे टोलाउनु वा व्यवहारमा अकस्मात् परिवर्तन देखापर्नु नितान्त स्वाभाविक मानिन्छ । मनोवैज्ञानिक सन्दर्भमा यसलाई ‘असामान्य परिस्थितिमा देखिने सामान्य प्रतिक्रिया’ भनिन्छ । यस्तो अवस्थामा व्यक्तिले आफूलाई एक्लो ठान्नु, निराश हुनु वा दैनिक मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न हुन नसक्नु सामान्य नै हो ।

हाम्रो पूर्वीय संस्कार र समाजमा पनि यसको आफ्नै मनोवैज्ञानिक तथा व्यावहारिक पक्ष रहेको पाइन्छ । आफन्त गुमाउँदा १३–१४ दिनसम्म शोक मनाउने, दैनिक व्यावहारिक कामबाट अलग रही धार्मिक र आध्यात्मिक क्रियाकलापमा संलग्न हुने तथा इष्टमित्र र नातेदारले भेटघाट गरी सान्त्वना दिने परम्पराले व्यक्तिको मनमा रहेको गहिरो शोकलाई विस्तारै हलुका बनाउन मद्दत गर्छ । आधुनिक सञ्चारमाध्यम र प्रविधिको तीव्र विकाससँगै अहिले समाजमा एक–दुई दिन वा एकैछिन कोही चिन्तित वा भावुक भयो भने उसलाई मानसिक रोग लाग्यो भन्ने गलत भाष्य सिर्जना भएको छ । सबैभन्दा पहिला हामी के कुरामा स्पष्ट हुनुपर्छ भने मानसिक समस्या एक–दुई दिन वा एकैहप्तामा विकास भइहाल्ने विषय होइन । विपद्को तत्कालीन समयमा व्यक्ति आत्तिनु, हड्बडाउनु वा क्षणिक रूपमा अचेत हुनु पनि एकप्रकारको स्वाभाविक बचाउ प्रतिक्रिया नै हो ।

कहिले चाहिन्छ संवेगात्मक र मनोवैज्ञानिक सहयोग ?

विपद्पछिको प्रारम्भिक चरणमा देखिने यस्ता लक्षण साथीभाइसँगको छलफल, आफन्तको ढाडस र दैनिक क्रियाकलापमा संलग्न हुँदै जाँदा बिस्तारै सामान्यीकरण हुँदै जानुपर्छ । सामान्यतया १५ देखि २० दिन वा तीन हप्ताको समयभित्र व्यक्ति विस्तारै पुरानै लयमा फर्कन थाल्छ । यदि तीन हप्ता (२१ दिन) भन्दा लामो समयसम्म पनि व्यक्ति सामान्य अवस्थामा फर्कन सकेन, निरन्तर टोलाइरह्यो, एक्लै बस्न खोज्यो, अरूसँग कुराकानी गर्नै चाहेन, बाहिरको अवस्था सामान्य भइसक्दा पनि अत्यधिक त्रस्त भइरह्यो र शरीरका अङ्गहरूले असामान्य प्रतिक्रिया दिन थाले भने त्यतिबेला उसलाई संवेगात्मक र मनोवैज्ञानिक सहयोग आवश्यक हुन्छ ।

प्राकृतिक वा अन्य गम्भीर दुर्घटनामा घाइते भएका, विपत्ति प्रत्यक्ष देखेका वा परिवारका सदस्य गुमाएका व्यक्तिमा दीर्घकालीन तनावसँग सम्बन्धित समस्या अर्थात् ‘पोस्टट्रम्याटिक स्ट्रेस डिसअर्डर’ देखापर्ने उच्च जोखिम रहन्छ । यस्तो गम्भीर अवस्था सिर्जना हुन नदिनका लागि सुरुआती दिनदेखि नै पूर्वसावधानी र सही तरिका अपनाउनु अत्यावश्यक हुन्छ, जसका लागि मनोवैज्ञानिक प्राथमिक उपचार महत्त्वपूर्ण हुन सक्छ ।

मनोवैज्ञानिक प्राथमिक उपचार

विपत्पछिको उद्धारलाई पहिलो प्राथमिकता र उद्धारपछि राहत तथा पुनःस्थापनालाई दोस्रो प्राथमिकता दिँदै गर्दा पीडितको मानसिक स्वास्थ्यलाई जोगाउन विश्वभर मनोवैज्ञानिक प्राथमिक उपचार पद्धति प्रयोगमा ल्याउने गरिएको छ । विसं २०७२ को भूकम्पपछि पनि नेपालमा मनोवैज्ञानिक प्राथमिक उपचार सञ्चालनमा ल्याइएको थियो । पङ्क्तिकार पनि संलग्न रहेको मनेवैज्ञानिक प्राथमिक सहयोगले तनाव व्यवस्थापनमा निकै सहयोग पुर्‍याएको थियो ।

धेरैमा मनोवैज्ञानिक प्राथमिक उपचार भन्नेबित्तिकै यो कुनै ठूलो अस्पतालमा अझ मानसिक अस्पतालमा गरिने जटिल डाक्टरी उपचार वा मानसिक रोगीलाई दिइने औषधि हो भन्ने भ्रम छ । वास्तवमा मनोवैज्ञानिक प्राथमिक उपचार कुनै विशिष्टीकृत मानसिक उपचार पद्धति होइन । जसरी शारीरिक चोट लाग्दा रगत बग्न नदिन वा घाउ बिग्रिन नदिन ‘फस्र्ट एड’ (प्राथमिक उपचार) गरिन्छ, त्यसैगरी मन र भावनामा परेको आघात गम्भीर मानसिक रोगमा परिणत नहोस् भनेर दिइने रोकथाममूलक साहरा नै मनोवैज्ञानिक प्राथमिक उपचार हो ।

यो उपचार औपचारिक र अनौपचारिक दुवै रूपमा दिन सकिन्छ । अनौपचारिक रूपमा साथीसङ्गति, परिवारका सदस्य वा छरछिमेकीले पीडितका मनभित्र रहेका उकुसमुकुसलाई सुनिदिने र भावनात्मक ढाडस दिने गर्दा मात्रै पनि धेरै समस्या गम्भीर बन्नबाट रोकिन्छन् । त्यस्तै, औपचारिक रूपमा आधारभूत तालिम लिएका शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी वा समाजका अगुवाले यो सेवा प्रदान गर्न सक्छन् । मनोवैज्ञानिक प्राथमिक उपचारका मुख्य तीन चरणहरू हुन्छन्ः

१. अवलोकन गर्ने: सर्वप्रथम प्रभावित व्यक्तिको वर्तमान अवस्थाको अवलोकन गरिन्छ र उसका लागि अहिले अत्यावश्यक कुरा जस्तै सुरक्षित बास, गाँस, कपास वा शारीरिक सुरक्षा के हो, त्यसको पहिचान गरिन्छ ।

२. ध्यानपूर्वक सुन्नेः दोस्रो चरणमा सम्बन्धित व्यक्तिका कुराहरू बिना कुनै मूल्याङ्कन ध्यानपूर्वक सुनिन्छ । यतिबेला पीडितलाई इच्छा नभएका कुराहरू जबर्जस्ती खोतलेर सोध्ने काम पटक्कै गरिनु हुँदैन । उसले स्वयं आफ्ना पीडा वा आफन्तका बारेमा भन्न चाहेमा नजिकै बसेर सहानुभूतिपूर्वक सुनिदिने र ढाडस दिने गर्नुपर्छ ।
३. सम्पर्क र जोड्नेः तेस्रो चरणमा पीडित व्यक्तिलाई उनका प्रियजन, आफन्त, नातेदार वा साथीभाइसँग सम्पर्क गराइन्छ । यदि परिवार र आफन्त उपलब्ध छैनन् भने सामाजिक संस्थाहरू वा राहत टोलीसँग जोडिन्छ । यसरी मानिससँगको सम्पर्कले पीडितमा जीवनप्रतिको निराशा कम गर्न र मनोबल उच्च पार्न मद्दत गर्छ । यदि व्यक्ति अति नै विच्छिप्त अवस्थामा छ भने उसलाई विशिष्टीकृत स्वास्थ्य सेवाका लागि विशेषज्ञकहाँ ‘रिफर’ गरिन्छ ।

के भन्ने, के नभन्ने ?

विपद्का बेला नबुझीकन बोलिने सान्त्वनाका शब्दहरूले पीडितको मनमा झनै ठूलो आघात पु¥याउन सक्छ । त्यसैले मनोवैज्ञानिक प्राथमिक उपचार दिँदा केही निषेधात्मक कुरामा विशेष ध्यान दिनुपर्छ । यस्तो बेला अनावश्यक र झुटा आश्वासन नदिनु हुँदैन । सामाजिक सञ्जाल वा अन्यत्र सहयोगको नाममा मृतक व्यक्ति पनि जीवितै छन् भन्ने भ्रम पारी भेटिन्छन् वा सबै काम हामी नै गरिदिन्छौँ भन्नेजस्ता असम्भव र झुटा आश्वासन दिनु हुँदैन । तपाईं त बाँचिहाल्नुभयो नी, मान्छे एकदिन मरेर जाने नै हो, तपाईंको मात्र होइन अरूका पनि मरेका छन् वा तपाईंको भन्दा गम्भीर क्षति र पीडा त अरूलाई परेको छ, अरूले त केही गरेका छैनन् जस्ता असंवेदनशील संवादहरू पटक्कै गर्नु हुँदैन । परामर्शका क्रममा पीडितको रुने अधिकार खोस्ने गल्ती गर्नु हुँदैन । आफन्तको बिछोडमा रोइरहेका मानिसलाई नरोऊ, रुनु हुँदैन भनेर रोक्नु ठूलो गल्ती हो । रुनु र आँसु बहाउनु भनेको मनको पीडा बाहिर निकाल्ने प्राकृतिक माध्यम हो । त्यसैले उनीहरूलाई आफ्ना भावना अभिव्यक्त गर्ने पूर्ण अवसर दिनुपर्छ ।

राज्य र स्थानीय तहको दायित्व

विपद् घटेको निश्चित समयपछि समाजमा व्यवस्थित मनोवैज्ञानिक परामर्शको काम सुरु हुनुपर्छ । यसका लागि राज्यले स्थानीय तहलाई पूर्ण रूपमा सहयोग गर्नु आवश्यक छ । स्थानीय तहका माध्यमबाट मनोवैज्ञानिक परामर्शदाता, तालिमप्राप्त जनशक्ति र चिकित्सकलाई प्रभावित क्षेत्र तथा संरक्षण गृहमा खटाउनुपर्छ । संरक्षण गृहमा राखिएका पीडितका लागि मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिनुपर्छ । खानपान, निद्रा र व्यवहारमा निरन्तर विचलन आएका खण्डमा कहाँ र कसरी सहयोग लिने भन्ने विषयमा उनीहरूलाई सुसूचित गरिनुपर्छ ।

विपद् प्राकृतिक वा भवितव्य हो, जसलाई पूर्ण रूपमा रोक्न सकिँदैन । विपद्पछि सिर्जना हुने मानसिक आघात र त्यसले निम्त्याउने दीर्घकालीन मानसिक रोगहरूलाई भने सही समयको सजगता र मनोवैज्ञानिक प्राथमिक उपचारका माध्यमबाट न्यूनीकरण गर्न सकिन्छ । पीडितलाई झुटा आश्वासन र सहानुभूति होइन, ध्यानपूर्वक सुनिदिने कान, बुझिदिने मन र सुरक्षित वातावरणको खाँचो हुन्छ । आजका सन्दर्भमा सामाजिक सञ्जालको असंवेदनशील प्रयोगलाई नियन्त्रण गर्दै, प्रभावित हरेक स्थानीय तहसम्म सुलभ र प्रभावकारी मनोवैज्ञानिक प्राथमिक उपचार पुर्‍याउनु नै राज्य र नागरिक समाजको पहिलो कर्तव्य हो ।

प्रेमनारायण भुसाल मनोवैज्ञानिक परामर्शदाता हुनुहुन्छ