२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित

साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित
अ अ+ अ-

खोटाङ। साकेला गाउँपालिकाले चाडपर्वलाई लक्षित गर्दै लाभग्राहीको टोल–टोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ ।

भौगोलिक विकटताका कारण गाउँपालिकाको केन्द्रसम्म पुगेर सामाजिक सुरक्षाभत्ता बुझ्न कठिन हुने लाभग्राहीका लागि वडास्तरमा भुक्तानी शिविर सञ्चालन गरेर ७९५ जना लाभग्राहीलाई उनीहरूकै टोलमा लगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो ।

गाउँपालिकाको सामाजिक सुरक्षा शाखा र नेपाल एसबिआई बैंक साकेला शाखाको संयुक्त आयोजनामा यही असोज–२२ गतेदेखि सामाजिक सुरक्षाभत्ता वितरण शिविरमा सञ्चालन गरिएको थियो । सामाजिक सुरक्षाभत्ता भुक्तानी शिविरमार्फत बैंकिङ प्रणालीबाट कूल रु ९५ लाख ७७ हजार सामाजिक सुरक्षाभत्ता वितरण गरिएको सामाजिक सुरक्षा शाखा प्रमुख डिएम चाम्लिङ राईले जानकारी दिनुभएको छ ।

शिविर वडा नं १ बाँझेच्यानडाँडाका तीन स्थानबाट रु ३८ लाख ९० हजार, वडा नं २ रतन्छाबाट रु २३ लाख ९८ हजार, वडा नं ३ खिदिमाबाट रु १५ लाख ९६ हजार र वडा नं ५ मात्तिमबिर्ताबाट रु १६ लाख ९३ हजार वितरण गरिएको छ । गाउँपालिकाका कूल लाभग्राहीमध्ये करिब ७० प्रतिशत लाभग्राहीले वडा तथा बस्तीबाटै सामाजिक सुरक्षाभत्ता प्राप्त गरेको शाखा प्रमुख चाम्लिङले जानकारी दिनुभएको छ ।

वडास्तरमै सामाजिक सुरक्षाभत्ता वितरण गरिएपछि विशेषगरी शारीरिक अशक्तता भएका व्यक्ति, अपाङ्गता भएका नागरिक तथा टाढाका बस्तीमा बसोवास गर्ने लाभग्राहीलाई राहत पुगेको स्थानीयले बताएका छन् । भुक्तानी शिविरमा जान नपाएका लाभग्राहीले एसबिआई बैंकको साकेला शाखामा उपस्थित भएर रकम बुझिरहेका छन् ।

सामाजिक सुरक्षा भत्तालाई सहज, सरल र सम्मानजनक रूपमा लाभग्राहीसम्म पुर्‍याउने जिम्मेवारी स्थानीय सरकारको भएकाले हरेक वडामा भुक्तानी शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताउनुभएको छ ।

“लाभग्राहीले आफ्नो भत्ता बुझ्नका लागि घण्टौँ हिँड्नुपर्ने, गाडी भाडा खर्च गर्नुपर्ने र शारीरिक कष्ट भोग्नुपर्ने अवस्थाको अन्त्य गर्न हामीले वडास्तरमै शिविर सञ्चालन गरेका हौँ । नागरिकले सरकार खोज्दै कार्यालयसम्म आउनुपर्ने होइन, सरकारले नागरिकको अवस्थाअनुसार सेवा लिएर उनीहरूकै घरआँगनसम्म पुग्नुपर्छ भन्ने हाम्रो मान्यता हो”, उहाँले भन्नुभयो, “चाडपर्वको समयमा नागरिकलाई आर्थिक रूपमा सहजता प्रदान गर्न र सामाजिक सुरक्षाभत्ता वितरणलाई थप प्रभावकारी बनाउन गाउँपालिकाले प्राथमिकताका साथ काम गरिरहेको छ ।

सामाजिक सुरक्षाभत्ता वितरणसँगै नवीकरण शिविर, घरदैलो अभियान तथा अन्य सेवामार्फत लाभग्राहीको पहुँचमा सेवा पुर्‍याउने प्रयास गरिरहेका छौँ ।”

गाउँपालिका र नेपाल एसबिआई बैङ्कबीच वर्षमा तीनपटक सामाजिक सुरक्षाभत्ता नागरिकको पहुँचमा पुग्ने गरी वितरण गर्ने सम्झौता भएको छ । शिविरमा बैंकका शाखा प्रतिनिधि राम विश्वास मेहतासहित गाउँपालिकाका कर्मचारी तथा नेपाल प्रहरीको टोली सहभागी थिए ।

गाउँपालिकाले नागरिकको समय, श्रम र खर्च बचत गर्दै सामाजिक सुरक्षा सेवालाई थप पहुँचयोग्य बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ । जिल्लाको सबैभन्दा सानो स्थानीय तह (पाँच वडा रहेको) यो गाउँपालिकाले हरेक वर्ष सामाजिक सुरक्षाभत्ता वितरण गर्न शिविर सञ्चालन गर्दै आएको छ ।
—