काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आतंकवाद, मानव बेचबिखन, लागुऔषध तस्करी, सम्पत्ति शुद्धीकरण र साइबर अपराधजस्ता अन्तरदेशीय चुनौती सामना गर्न क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङले अपराध नियन्त्रणका लागि प्रभावकारी सूचना आदानप्रदान, प्रविधिको उपयोग र संयुक्त क्षेत्रीय पहल अपरिहार्य रहेको बताएका हुन् ।
उनले अपराधविरुद्धको सहकार्य सीमाभन्दा बलियो र अपराधीको गतिभन्दा छिटो हुनुपर्ने नेपालको धारणा बैठकमा स्पष्ट रूपमा राखेको उल्लेख गरेका छन् । भावी पुस्ताको सुरक्षित भविष्य सुनिश्चित गर्न अन्तरदेशीय अपराध नियन्त्रणमा सदस्य राष्ट्रबीच समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
प्राकृतिक विपत्तिले पनि सीमा नचिन्ने यथार्थलाई ध्यानमा राख्दै गृहमन्त्री गुरुङले बिमस्टेकअन्तर्गत क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य संयन्त्र र संयुक्त कार्यदल गठन गर्ने प्रस्तावसमेत अघि सारेका छन् ।
बैठकका क्रममा भारतीय गृहमन्त्री अमित शाहसँग पनि साझा सुरक्षा चासोका विषयमा छलफल भएको गुरुङले बताएका छन् । दुवै देशका गृहमन्त्रीले द्विपक्षीय सुरक्षाका विभिन्न आयाम र समसामयिक विषयमा आपसी समन्वय तथा सहकार्य प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यसैगरी, भेटका क्रममा नेपाली उद्योगी तथा व्यापारीले भारतीय बजारमा पहुँच विस्तार गर्दा सामना गर्नुपरेका चुनौती र भारतमा रहेका नेपालीले भोगिरहेका समस्याबारे पनि छलफल भएको उनले उल्लेख गरेका छन् । ती विषयमा आवश्यक समन्वय गर्ने प्रतिबद्धता भारतीय पक्षबाट प्राप्त भएको गृहमन्त्री गुरुङले बताएका छन् ।
गृहमन्त्री गुरुङले बैठक तथा भारतीय समकक्षीसँगको भेटमा भएका छलफल र नेपालको प्रस्तावबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।








