काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले रुसमा रहेका नेपाली नागरिकहरूले भोगिरहेका समस्याको समाधानका लागि तत्काल नीतिगत पहल गर्न सरकारसँग माग गर्नुभएको छ ।
बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद ओलीले रुससँगको द्विपक्षीय बैंकिङ सम्बन्ध, छात्रवृत्ति प्राप्त विद्यार्थीको नो अब्जेक्सन लेटर (एनओसी), चिकित्सा शिक्षाको मान्यता तथा श्रम स्वीकृतिलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
उहाँले रुसमा रहेका नेपालीले आफ्नो कमाइ वैधानिक माध्यमबाट नेपाल पठाउन नसकिरहेको विषयलाई गम्भीर समस्याका रूपमा उठाउनुभयो । रुस–युक्रेन युद्धपछि रुसी बैंकहरू अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट प्रभावित भएकाले नेपालीले नगद नै बोकेर नेपाल ल्याउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
यसले हुण्डीजस्ता अनौपचारिक कारोबारलाई प्रोत्साहन गर्न सक्ने भन्दै सांसद ओलीले भारतसँग रहेको बैंकिङ संयन्त्रजस्तै वैधानिक माध्यमबाट रकम पठाउन सकिने अन्य विकल्प खोज्न नेपाल राष्ट्र बैंकसँग आग्रह गर्नुभयो ।
शिक्षाको क्षेत्रमा पनि रुसमा रहेका नेपाली विद्यार्थीले समस्या भोगिरहेको उहाँले बताउनुभयो । रुस सरकारले पूर्ण छात्रवृत्ति प्रदान गरेका नेपाली विद्यार्थीले समेत एनओसी नपाउँदा अध्ययनको अवसर गुमाउने जोखिम रहेको उहाँको भनाइ थियो ।
रुसबाट चिकित्सा शिक्षा हासिल गरेका नेपाली चिकित्सकको दर्ता तथा इन्टर्नसिपमा देखिएका समस्या समाधान गर्न नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले ‘इक्विभ्यालेन्ट म्याट्रिक्स’ तयार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
श्रम स्वीकृतिको विषयमा सांसद ओलीले सैन्य क्षेत्रमा श्रम स्वीकृति रोक्नु उचित भए पनि गैरसैन्य क्षेत्रमा भने चरणबद्ध रूपमा श्रम स्वीकृति खुला गर्न सरकारलाई सुझाव दिनुभयो ।








