काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले कर्मचारी नियुक्तिमा भइरहेको भनिएको आर्थिक चलखेल, कूटनीतिक नियोगमा विवादित नियुक्ति, बजारको मूल्यवृद्धि तथा विपद् व्यवस्थापनका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीवार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा धारणा राख्दै सांसदहरूले सुशासनको अवस्था कमजोर बन्दै गएको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
सांसद जगतबहादुर पार्कीले कर्मचारी नियुक्ति र सरुवामा बिचौलियाको सेटिङ रहेको भन्दै त्यसबारे गम्भीर छानबिन गर्न माग गर्नुभयो। मन्त्रीहरूसमेत जोडिएर सार्वजनिक भएको अडियो संवादले प्रशासनमा मौलाएको भ्रष्टाचार उजागर गरेको उहाँको दाबी थियो।

सांसद मदनकुमारी शाहले कूटनीतिक मर्यादा र सुशासनका विषयमा प्रश्न उठाउँदै स्थायी बसोवासको अनुमति (पीआर) लिएका व्यक्तिलाई राजदूत नियुक्त गर्नु राष्ट्रिय हितविपरीत हुने बताउनुभयो। जापानका लागि नियुक्त राजदूतको विषयमा उहाँले सरकारसँग स्पष्ट जवाफ माग गर्नुभयो।
सांसद युवराज शर्माले वर्तमान सरकार पूर्णतः असफल भएको टिप्पणी गर्दै राज्यका हरेक संयन्त्रमा समस्या उत्पन्न भएको दाबी गर्नुभयो। सांसद भूवनबहादुर सुनारले सरकारको आलोचना गर्नेहरूमाथि दमन गरिएको आरोप लगाउँदै अधिनायकवादी बाटो नअपनाउन सरकारलाई चेतावनी दिनुभयो।
यसैगरी, सांसद तुलप्रसाद विश्वकर्मा र मदनकुमारी शाहले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनालाई प्रभावकारी बनाउन माग गर्नुभयो। बाढी प्रभावित क्षेत्रको अनुगमनका लागि गठन हुने संसदीय टोलीमा राष्ट्रिय सभाको समेत प्रतिनिधित्व हुनुपर्ने उहाँहरूको माग थियो।
सांसद नरबहादुर विष्टले सुर्खेतको चौकुने क्षेत्रमा सर्पदंशका कारण भइरहेका मृत्यु रोक्न तत्काल आवश्यक औषधिको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो। सांसद राजेन्द्रलक्ष्मी गैरेले कीर्तिपुरमा भएको गाडी आगजनीको घटना तथा सुरक्षाकर्मीको कार्यशैलीबारे प्रश्न उठाउनुभयो।
सांसद सुरेशकुमार आले मगरले जलवायु परिवर्तनबाट उत्पन्न संकट न्यूनीकरणका लागि आदिवासी समुदायको परम्परागत ज्ञान, सीप र अनुभवको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो।
सांसद सुङ्गेल्जेन शेर्पाले चाडपर्वको मुखमा भइरहेको कालोबजारी तथा मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले बाढीपहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था चुस्त बनाउन पनि माग गर्नुभयो।







