१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारीबाट सुधारिँदै पूर्व कम्लहरी



अ+ अ-

घोराही । कुनै समय अर्काको घरमा घरेलु कामदारको रुपमा काम गर्ने कम्लहरी अहिले सहकारीमा सक्रिय भएर सुधारको बाटोतर्फ उन्मुख भएका छन् ।
कमलहरी उद्धार गरिएका दाङ, बाँके बर्दिया, कैलाली र कञ्चनपुरमा जिल्लामा अहिले सहकारी सञ्चालन भएका हुन् । हालसम्म कम्लहरी मुक्त गरिएका सबै जिल्लामा ४२ सहकारी सञ्चालनमा आएका छन् । ती सहकारीले कम्लहरीलाई प्रत्यक्षरूपमा आर्थिक क्रियाकलापको काम गराइरहेको पूर्व कम्लहरी उर्मिला चौधरीले बताउनुभयो ।

“हाम्रो सहकारीले पूर्व कम्लहरीलाई निःशुल्क सीप सिकाउने र निःशुल्क ऋण उपलब्ध गराउने गरेको छ । मैले पनि सहकारीबाट ऋण लिएर किराना पसल थापेकी हूँ,” उहाँले भन्नुभयो, “सहकारीले घुम्तीकोष र मासिक बचतमार्फत रकम सङ्कलन तथा ऋण लगानीसँगसँगै आफूहरूलाई तरकारीखेती, बाख्रापालन, बङ्गुरपालन, कुखुरापालन, किराना तथा फलफूल पसल र अन्य व्यवसाय सञ्चालनका लागि पनि सीप तथा ऋण दिने काम गरिरहेको पूर्व कम्लहरी चौधरीले बताउनुभयो ।

यसले आफूहरूकोे आर्थिक विकासमा टेवा पुगेको र आत्मनिर्भरतर्फ उन्मुख गराएको उहाँको भनाइ थियो । स्थापनाकालदेखि नै लावाजुनी सहकारीमा आवद्ध मुक्त कम्लहरी विकास मञ्चकी पूर्व अध्यक्ष सुनिता चौधरीले अव सहकारीमार्फत लाखाँै रुपौयाँको कारोवार गर्न सकिएकामा खुशी व्यक्त गर्नुभयो । सहकारीमा आवद्ध भएकै कारण आफूहरूले अहिले छोटो तथा लामो समयको तालीम लिएर व्यवसाय सञ्चालन गरेको उहाँको भनाइ थियो । तालीम मात्र होइन मुक्त भएका कम्लहरीले बिना ब्याज ऋण लिएर चिया नास्ता, फ्रेस हाउस, बाख्रापालन, सिलाइकटाइ, गार्मेन्ट, जुत्ता बनाउने, अनमी, जेटिए, ल्याब, असिस्टेन्ट, अटोमोवाइलजस्ता व्यवसाय सञ्चालन गरिरहेको पूर्व अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

उक्त मञ्चका अनुसार अहिले स्थापना भएको लावाजुनी सहकारीमा ४८ प्रतिशत मुक्त कम्लहरी, १८ प्रतिशत उनीहरुका परिवार र ३४ प्रतिशत अन्य परिवार आवद्ध छन् । उक्त सहकारीमा हाल करीब १२ हजार १४४ शेयर सदस्य पुगेकामा पाँच हजार ८०० मुक्त कम्लहरी मात्रै रहेका छन् ।
सहकारीको कोषमा हालसम्म रु सात करोड, ९८ लाख ५२ हजार ७२० र सो मञ्चले उपलब्ध गराएको घुम्ती कोषमा रु एक करोड पाँच लाख ४४ हजार १६ गरी जम्मा रु नौ करोड, तीन लाख, ९६ हजार ७३६ पूँजी छ । सहकारीबाट ऋण लगेर मात्रै करीव ३८७ मुक्त कम्लहरीले व्यवसाय गरिरहेको सो मञ्चले जनाएको छ भने सहकारीमार्फत नै एक हजार ७२१ ले छोटो अवधि र ४४८ ले लामो अवधिको तालीम लिई स्वरोजगारतर्फ उन्मुख भएका छन् । यस वर्ष मात्रै ३४० जनाले छोटो अवधिको तालीम लिएका थिए ।