इन्ग्लिश क्लब टोटेनहमका नवनियुक्त मुख्य प्रशिक्षक जोसे मोरिन्होले क्लबका नयाँ खेलाडीको आवश्यकता नरहेको बताएका छन् । क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मोरिन्होले टिममा नयाँ खेलाडीको आवश्यकता नरहेको बताएका हुन् । मोरिन्होले भने, ‘सबैभन्दा राम्रो उपहार यहाँका खेलाडी हुन् । मलाई नयाँ खेलाडीहरु चाहिदैन । म उनीहरुलाई अझ राम्ररी बुझ्न चाहन्छु।’
जनवरीको विन्डो ट्रान्सफरमा टोटेनहमले नयाँ खेलाडी अनुबन्ध गर्ने आँकलन गरिएको थियो । तर, मोरिन्होले नयाँ खेलाडी अनुबन्ध नगर्ने बताए । मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोलाई मंगलबार बर्खास्त गर्दै टोटेनहमले मोरिन्होलाई प्रशिक्षक नियुक्त गरेको हो ।
चेल्सी र म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक समेत रहेका मोरिन्होले टोटेनहमसँग सन् २०२३ सम्मको लागि सम्झौता गरेका छन् ।